एक सातामा २ हाइड्रोमा जुट्यो लगानी, बैंकहरूले २६ अर्ब ऋण दिने

  २०८१ पुष २३ गते ६:३३     विकासन्युज

काठमाडौं । विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब रुपैयाँ बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्षसमेत रहेका प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिए ।

यस आयोजनामा ७४ करोड रुपैयाँको सेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने १ अर्ब ७४ करोड रुपैयाँको लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन् ।

साथै लमजुङमा आयोजनास्थल रहेको १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैंकले १६ अर्ब रुपैयाँ बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले ७ अर्ब रुपैयाँ, ग्लोबल आइएमइ बैंकले ६ अर्ब रुपैयाँ र प्रभु बैंकले ३ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएका हुन् । सो आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रुपैयाँ रहनेछ । कूल लागतमध्ये ७४.७७ प्रतिशत बैंकले र २५.२३ प्रतिशत प्रवर्द्धकले लगानी गर्नेछन् ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक ५८३.०३ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ । उनले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.