अवैध कल सेन्टर सञ्चालन गर्ने दुई भारतीय नागरिकसहित ५३ जना पक्राउ

  २०८१ पुष २३ गते १५:५२     विकासन्युज

काठमाडौं । अवैध कल सेन्टर सञ्चालन गर्ने दुई भारतीय नागरिकसहित ५३ जना पक्राउ गरेका छन् ।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितपुरको सातदाेबाटाेबाट उनीहरूलाई पक्राउ गरेको हो ।

सातदोबाटोस्थित सुरेन्द्रगोपाल श्रेष्ठको पाँच तले घरको चौथो तला भाडामा लिई कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी काममा लगाई रहेको भन्ने विशेष सूचनाको आधारमा सीआईबीले पक्राउ गरेको हो ।

सीआईबीले कल सेन्टरबाट कम्प्यूटर, मोबाइललगायतका इलेक्ट्रोनिक्स उपकरणहरूसहित नियन्त्रणमा लि‍इएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट सिंगम लोटरी, अना लोटरी, भाउ लोटरी र इन्डसबेट लोटरी लगायतका ग्याम्बलिङ एपहरूको दुरुपयोग गरी अनलाइन प्लेटफर्म फेयर गेम्स डट कम स्ल्यासआरटीसी डट इनमार्फत् कुराकानी गरी ह्वाट्सएपमार्फत विभिन्न डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाइ अनलाइन ग्याम्बलिङ (सट्टाबाजी)गर्ने गरेको खुल्न आएको छ ।

पक्राउ गरिएका भारतीय नागरिकहरू केही समय अगाडि विभिन्न देशहरूमा सोही प्रकृतिको कारोबारमा संलग्न भएको र यसै समूहले हाल विभिन्न सात देशहरूमा समेत अवैध सट्टेवाजी क्रियाकलाप सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सीआईबीले जनाएकाे छ ।

उनीहरूले नेपालमा भने विगत ९ महिनादेखि प्रोलिन्कटेक सोलुसन प्राइभेट लिमिटेड नामक कम्पनी दर्ता गरी कल सेन्टर खाेली अवैध अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए ।

प्रारम्भिक अनुसन्धानपश्चात घटनामा संलग्न मुख्य ७ (२ विदेशी र ५ नेपाली नागरिक)जना उपर ‘मुलुकी अपराध संहिता, २०७४ (संशोधनसहित) परिच्छेद ५ दफा १२५ (४)‘सट्टाबाजी गर्न नहुने’ सम्बन्धि कसुरअन्तर्गत मुद्दा दर्ता गरीअनुसन्धान भइरहेको र बाँकी ४६ जना उपर थप अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.