२०८१ पुष २३ गते १६:५९ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । लघुवित्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैंकले ठूला सेयरधनीहरूमाथि कडाइ गरेको हो ।
लघुवित्त संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति तथा पुनर्नियुक्ति गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।
चुक्ता पुँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति/पुनर्नियुक्ति हुन योग्य नहुने राष्ट्र बैंकको निर्देशन छ ।
लघुवित्त संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न पाइने छैन । तर, राष्ट्र बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेशनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र लगायतका संस्थामा र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । अन्य संगठित संस्थाबाहेकका संस्थाहरूको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा गरिएको लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्तले खुद्रा कारोबार गर्ने लघुवित्तको रूपमा कार्य गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तर, थोक कर्जा प्रदायक लघुवित्तले गाभ्ने/गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिकाअनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.