२०८१ पुष २३ गते १८:०५ विकासन्युज
काठमाडौं । उद्योगीहरूले सिमेन्टको मूल्य हाललाई बढाएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । पछिल्लो समय सिमेन्ट प्रतिबोरा ५ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री भइरहेको नेपाल सिमेन्ट उत्पादक संघले जानकारी दिएको छ ।
बजारमा ६ सयमा पाइने ओपीसी सेमिन्टको मूल्य हाल ८५० परिरहेको कुरा हल्ला भएको संघका पूर्वमहासचिव केशव उप्रेतीले बताए । उनले सिमेन्टको मूल्य ५ सयदेखि ६ सयसम्ममा बिक्री भइरहेको छ ।
उनले भने, ‘हामीले सिमेन्टको मूल्य बढाएका छैनौं । बजारमा जुन हल्ला छ । त्यो सबै ठेकेदारले चलाएको हावा कुरा हो । अहिले सिमेन्ट ५ देखि ६ सयमा बिक्री गरिरहेका छौं । गत वर्षको मूल्य हेर्नुहुन्छ भने यहीं समयमा त्यति बढाएका छैनौं । बढीमा ५ प्रतिशत मात्रै बढाएका छौं । जुन यो स्वाभाविक हो । यसमा बजारमा हल्ला फैलाउनु गतल हो ।’
पूर्वमहासचिव उप्रेतीले ठाउँअनुसार मूल्य फरक भएको बताए । उनले भने, ‘ओपीसी सिमेन्ट ७ सय पीपीसीको ६ सयमा बिक्री गरिरहेका छौं । काठमाडौंमा कम पर्छ भने अन्य ठाउँमा बढी पर्न सक्छ ।’
उनले वर्षातको सिजनमा निर्माण कार्य कम हुने र बिक्री पनि कम हुने भएर सिमेन्टको मूल्यमा ह्रास भएको बताए । त्यही बेला घटाएको मूल्यलाई हाल बढाएको उनको दाबी छ ।
सिमेन्टको मूल्य बढीमा ७ सय भन्दामाथि नलिएको पूर्वमहासचिव उप्रेतीको भनाइ छ । बजारमा फैलिएको हल्लाप्रति गम्भीर आपत्ति रहेको उनले जनाए ।
उनले सरकारले यसबारे बैठक बोलाएको जानकारी दिए । उनले भने, ‘यसबारे बृहत मिटिङ बस्नेछ । हामीलाई उद्योग वाणिज्य मन्त्रालयले छिट्टै मिटिङ बस्ने भनेको छ । मन्त्रालयले मूल्यबारे सबै विवरण मागेको छ । यसको खर्च सबै हिसाब गरेर निर्णयमा पुग्नेछौं । त्यसपछि मिटिङबाट सिमेन्टको मूल्य तोकिनेछ ।’
यस्तै, हाल सिमेन्ट उद्योगहरू मारमा रहेको बताउँदै उनले जुन अवस्था हाललाई छ, त्यही अवस्था रहने हो भने दर्जनाैं उद्योग नै बन्द हुने दु:खेसो व्यक्त गरे ।
उता सिमेन्टको मूल्य बढ्दै गइरहेको भन्दै निर्माण व्यवसायीहरू आन्दोलन गर्ने तयारीमा छन् ।
सम्बन्धित सामग्री :
निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच तनाव बढ्दै
सरकारले ४० अर्ब नतिरेपछि निर्माण व्यवसायीहरू सरकारविरुद्ध खनिए
सिमेन्टको मूल्यमा सरकार तटस्थ, निर्माण व्यवसायी र उत्पादक संघबीच नै सहमतिको खाका
Copyright © 2025 Bikash Media Pvt. Ltd.