सहकारी ठगीमा खुसुक्क चार घण्टा बयान

  २०८१ पुष २३ गते १९:५४     विकासन्युज

काठमाडौं । सहकारीको बचत ठगीमा आफू संलग्नता इन्कार गर्दै आएका धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रोपटक बयान लिएको छ । नेपाली कांग्रेसका उपसभापति गुरूङसँग सीआईबीले मंगलबार चार घण्टा निरन्तर बयान लिएको हो ।

उनी १२ बजे सीआईबीमा पुगेका थिए । सीआईबीका अधिकृतहरुले १ बजेदेखि उनको बयान लिन सुरु गरेका थिए । उनले बयानमा सहकारीको बचतको विषयमा आफूलाई केही पनि थाहा नभएको र तिनुपर्ने रकम भने तिरिरहेको बताएका छन् । उनले बाँकी रहेको रकम पनि अझै तिर्दै जाने बयान दिएका छन् ।

यसअघि कात्तिक २८ गते पहिलो बयान लिइएको उनीसँग मंगलबार दोस्रो पटक बयान लिइएको हो । तर, उनले दोस्रो बयानमा पनि आफ्नो संलग्नता सहकारी ठगीमा नरहेको बताएका छन् ।

सीआईबीले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान गरिरहेको छ । मितेरी सहकारी संस्थामा रकम अपचलन भएका विषयमा उजुरी परेपछि सीआईबीले अनुसन्धान थालेको थियो ।

गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन् । तर, गुरुङले श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै आएका छन् । सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ।

सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले भने यो ठगीमा धनराजको पनि संलग्नता रहेको बयान दिँदै आएका छन् । धनराजले भने २०७७ मै आफूले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेद गरिसकेकोले त्यसमा आफ्नो संलग्नता नरहेको बयान दिँदै आएको बुझिएको छ । उनले ज्योतिको गल्तिमा आफूलाई नजोड्न आग्रह गरेको पनि बुझिएको छ ।

अहिले धनराजको श्रीमती ज्योति फरार छिन् । धनराजले कागजीरूपमा मात्रै ज्योतिसँग सम्बन्ध विच्छेद गरेको विषय पनि चर्चामा छ । सहकारीका अन्य भीआईपी आरोपितसँग खुलेआम बयान लिँदै आएको प्रहरीले धनराजसँग भने गुपचुपमा अनुसन्धान गरिरहेको छ ।समाचारमा चार घण्टा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ : सम्पादक

सम्बन्धित सामग्री : 

सीआईबीसँग धनराजको निरन्तर ५ घण्टा बयान

…त्यसपछि सुरु भयो धनराजमाथिको खोजतलास

सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.