२०८१ पुष २४ गते १०:३७ नरेन्द्र विष्ट
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण (कोशी) सडक योजनाअन्तर्गत किमाथांका-खाँदबारी सडक तथा पुल परियोजना बीआरआई सम्झौतामा परेपछि यो परियोजनाप्रति धेरैको चासो बढेको छ । गत मंसिर १७ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झाैता भएको थियाे ।
यो आयोजना बीआरआई फ्रेमवर्कभित्र परे पनि स्तरोन्नतिको प्रक्रिया कसरी अघि बढ्छ, अझै टुंगिसकेको छैन । यसलाई नेपाल सरकारले अनुदानमा स्तरोन्नति गरिदिन चीनसँग आग्रह गर्दै आएको छ ।
यो परियोजनाले सार्थकता पाएमा अब दक्षिण नाका मोरङको रानी हुँदै विराटनगर-हिले-लेगुवा भएर संखुवासभाको किमाथांकासम्म जोड्ने दुई ठूला सडक करिडोर निर्माण हुनेछन् । यो कोशीका लागि निकै महत्त्वपूर्ण परियोजनाका रूपमा लिइएको छ ।
सीमानाकामा पक्की पुल निर्माण गर्ने र कोशी करिडोरलाई चिनियाँ सरकारले निर्माण गरिदिने गरी सम्झौता भएपछि कोशीबासीमा निकै उत्साह छाएको छ । सरकारले कोशी प्रदेशको समृद्धिलाई मध्यनजर गर्दै खाँदबारी-किमाथांका सडकलाई मुख्य प्राथमिकता दिएको छ । साथै यो करिडोरलाई प्रदेशकै मुख्य विकासको रूपमा पनि हेरिएको छ ।
करिडोरको अवस्था
यस आयोजनालाई चीनले बनाउने भने पनि ऋण वा अनुदान के कसरी सहयोग गर्छ भन्ने कुराको एकिन नभएको सडक विभागका योजना तथा अनुगमन शाखाका इन्जिनियर सागर पन्थीले बताए ।
उनले भने, ‘यस आयोजनाबारे अझै यकिन भइसकेको छैन । चीनसँग उक्त सडक स्तरोन्नतिसँगै सीमानाकामा पक्की पुल बनाउन आग्रह गरिएको छ । हाल सरकारसँग पैसा छैन । चीनले सहयोग गर्ने भनेको छ । थप कुरा अगाडि बढेको छैन । बढे पनि जुन काम हाल भैइरहेको छ, त्यही कामलाई निरन्तरता दिइने छ ।’
हाल कोशी करिडोर सडक निर्माणको अवस्था सुस्त छ । जसमा अझै पनि ट्र्याक खोल्ने काम नसकिएको आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी नरेश जिरेलका अनुसार यो आयोजना आर्थिक वर्ष २०६५/६६ सालदेखि सुरु भएको थियो । आयोजना निर्माणकाे झण्डै १६ वर्ष बितिसके पनि ग्राभेलस्तरमै सीमित छ ।
हाल लिभिङ हिलदेखि नुमसम्मको ५० किमि दूरीमा कालोपत्र गर्ने गरी ठेक्का भइसकेको सूचना अधिकारी जिरेलले जानकारी दिए ।
रानीदेखि खाँदबारीसम्मको सडकखण्ड कालोपत्रे भैसकेको छ भने हाल खाँदबारीदेखि च्याम्ताङ १३४ किमी सडकखण्ड स्तरोन्नतिको कार्य भइरहेको छ । जसमा भौतिक निर्माण प्रगति ३७ प्रतिशतमात्र छ । बल्ल कालोपत्रे गर्ने तयारी भइरहेको छ ।
उनले भने, ‘अब छिट्टै कालोपत्रेको काम सुरु हुन्छ । यो कालोपत्रेको काममा केही ढिलाइ भइरहेको छ । निर्माण व्यवसायीले समयमै काम गर्न सकेनन् । त्यसैले समस्या भयो ।’
यस्तै, यो सडकको लम्बाई १६२ किलोमिटर रहेको छ । दक्षिणको नाका मोरङको रानी हुँदै विराटनगर-हिले-लेगुवा भएर संखुवासभाको किमाथांकासम्म जोड्ने यो राजमार्गको कुल लम्बाइ ३४५ किमि छ ।
दक्षिणको नाका मोरङको रानी हुँदै विराटनगर-हिले-लेगुवा भएर संखुवासभाको किमाथांकासम्म जोड्ने यो राजमार्ग ३४५ किमि लामो छ ।
यस्तै, रानीदेखि खाँदबारीसम्मको सडकखण्ड कालोपत्रे भैसकेको छ भने हाल खाँदबारीदेखि च्याम्ताङ १३४ किमि सडकखण्ड स्तरोन्नतिको कार्य चालु अवस्थामा रहेको छ ।
जसमा उत्तर दक्षिण कोशी सडक योजना संखुवासभाबाट सुपरीवेक्षण तथा अनुगमन गरिन्छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार २३ पुलहरू आवश्यकता रहेकोमा हालसम्म १० वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । जसमध्ये असोजमा आएको अविरल वर्षाका कारण १ पुल (इकुवा पुल चेनेज ७०+४०० किमि ) पुलमा पूर्णरूपमा क्षति हुन पुगेको छ ।
यस्तै, हाल पुल बरुण खोला (चेनेज ८०+००० किमि ) पार गरी भोटखोला गाँउपालिका जोड्ने निर्माणाधीन अवस्थामा रहेको छ ।
उक्त पुल निर्माणका लागि निर्माण व्यवसायी हिमदुङ एण्ड ठोकर र एसएएस विवश जेभीबाट गत पुस १७ गतेसम्म निर्माण कार्य सम्पन्न हुने गरी प्रतिवद्धता गरेको थियो।
त्यसैगरी, बाटोसम्बन्धि यस योजनाबाट खाँदबारी लभिङहिलदेखि नुम दोभानसम्म ४ वटा प्याकेज बनाइ कालोपत्रेसम्बन्धी ठेक्का व्यवस्थापन गरिएको छ ।
खाँदबारी लभिङ हिलदेखि थामसेर्कू (चेनेज ०+००० देखि १४+००० किमि) सम्मको ठेक्का निर्माण व्यवसायी श्री शर्मा/ शिवशक्ति जेभीबाट ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०८२/०३/१७ सम्म रहेकोमा हाल निर्माणाधीन अवस्थामा छ । यसको भौतिक प्रगति ६० प्रतिशत भइसकेको छ । यस्तै, हाल कालोपत्रेको काम वर्षसम्ममा गर्ने लक्ष्यसहितको कार्य तालिका रहेको छ ।
त्यस्तै, ११ किमिको ठेक्का सिंह एन्ड ब्रदर्स/ड्रागन/विवश इन्टरनेसनल जेभीले ५५ करोड २० लाखमा ठेक्का लिएको हो । तर उक्त खण्डमा निर्माण व्यवसायीले काम नगर्दा प्रगति छैन ।
विवश इन्टरनेसनलले कामको जिम्मा लिए पनि ठेकेदार सम्पर्कमा नरहेकाले ठेक्का तोड्ने स्थिति आएको कोशी करिडोर (खाँदबारी-किमाथांका) सडक योजनाका प्रमुख रामबहादुर गुरुङले बताए ।
‘काम नगर्ने ठेकेदारको खोजी भइरहेको छ, चालु आर्थिक वर्षमा ३० किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘निर्माण सामग्री अभाव, छिटो र धेरै पानी पर्ने गरेकाले काम गर्न समस्या छ ।’
फाक्सिंगादेखि वरुणबजारको ३० किमिमा ग्राभेलस्तरमा सडक निर्माण गरिएको आयोजनाले जनाएको छ । यस खण्डमा कालोपत्रको काम सुरु हुन बाँकी छ । पहिला पनि यस सडक स्तरोन्नति गरिदिन चीन सरकारसँग आग्रह गरिएको थियो । तर कार्यान्वयनमा जाने भनेर हस्ताक्षर हुन सकेको थिएन।
‘वरुण बजारदेखि च्याम्ताङसम्म ५७.४९ किमि खण्डमा ग्राभेल गर्ने गरी ठेक्का भइसकेको छ,’ प्रमुख गुरुङले भने, ‘सडक चौडा गरेर यसको काम अघि बढाइन्छ ।’
च्याम्ताङदेखि घोङघप्पा खण्डमा ट्र्याक खोल्ने काम भने नेपाली सेनाले गरिरहेको छ । १ सय ६२ किमिमध्ये १०.५१ किमि खण्डमा सेनालाई ट्र्याक खोल्ने जिम्मा दिइएको थियो ।
अब १.४० किमि मात्र ट्र्याक खोल्न बाँकी छ । बाँकी ट्र्याक खोल्ने काम आगामी असारभित्र सक्ने सेनाको लक्ष्य छ । यस्तै, सेनाले च्याम्ताङदेखि घोङघप्पा सम्ममा १०.५ किमि सडकको ट्याक खोल्ने कार्य गरिरहेको र बजेट अभाव नभए आगामी चैत्रसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
घोङघप्पादेखि किमाथांकासम्मको १४ किमिमा भने ट्र्याक खोल्ने काम सकिइसकेको छ । कालोपत्रको ठेक्का गर्न बाँकी रहेको प्रमुख गुरुङले बताए ।
‘यसको स्तरोन्नतिका लागि बीआरआई सहकार्य फ्रेमवर्कभित्र परेको छ, यो कसरी अगाडि बढाउने र कुन स्तरमा गर्ने भन्नेबारे पछि छलफल भएर र विस्तृत आयोजना रिपोर्ट बन्छ,’ उनले भने, ‘यसलाई डेटिकेटेड डबल लेनको सडक बनाउने हो ।’
व्यापारिक दृष्टिकोणले महत्वपूर्ण
किमाथांका नाकासँग पूर्वी नेपाललाई जोड्ने यस सडकबाट आयात र निर्यातको व्यापारमा वृद्धि भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको हो ।
यो करिडोर सडक हुँदै अरुण तेस्रो, माथिल्लो अरुण, तल्लो अरुण विद्युतगृहसम्म आऊजाऊ गर्न सजिलो हुनेछ । यो सडक व्यापारिक दृष्टिकोणले धेरै महत्त्वपूर्ण रहेको छ ।
थामसेर्कुदेखि कप्ताने (चेनेज १४+००० देखि २६+००० किमि) सम्मको ठेक्का निर्माण व्यवसायी शर्मा /शिवशक्ति जेभीबाट ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०८२/०५/२६ सम्म रहेकोमा हाल निर्माणाधीन अवस्थामा रहेको र यसको भौतिक प्रगति ४५ प्रतिशत भइसकेको छ र हाल कालोपत्रेको काम यस साल गर्ने लक्ष्यसहितको कार्य तालिका रहेको छ ।
कप्तानेदेखि नुम (चेनेज २६+००० देखि ३९+००० किमि) सम्मको ठेक्का निर्माण व्यवसायी शर्मा/शिवशक्ति जेभीबाट ठेक्का सम्पन्न गर्नुपर्ने मिति आगामी वर्ष २०८२/०५/२६ सम्म रहेकोमा हाल निर्माणाधीन अवस्थामा रहेको छ ।
यसको भौतिक प्रगति ३५ प्रतिशत भइसकेको छ भने हाल कालोपत्रेको काम यस साल गर्ने लक्ष्यसहितको कार्य तालिका रहेको छ ।
नुमदेखि दोभान (चेनेज ३९+००० देखि ४९+००० किमि) सम्मको ठेक्का निर्माण व्यवसायी सिहं एण्ड ब्रदर्श/विवश/ड्रयागन जेभीबाट ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०८१/०७/२२ सम्म रहेकोमा हाल निर्माणाधीन अवस्थामा रहेको र यसको भौतिक प्रगति ५५ प्रतिशत भइसकेको छ र हाल कालोपत्रेको काम यस साल गर्ने लक्ष्य सहितको कार्य तालिका रहेको छ ।
त्यसैगरी, बरुणदेखि हुङहुङ (चेनेज ८०+००० देखि १०८+००० किमि) सम्म ग्राभेल सडकमा स्तरोन्नतिका लागि यस साल ठेक्का व्यवस्थापन भइ निर्माण व्यवसायी श्री स्वामी नारायण निर्माण सेवासँग ३ वर्षमा सम्पन्न हुने गरी सम्झौता भएको छ ।
हुङहुङदेखि च्याम्ताङ (चेनेज ११३+००० देखि १३४+००० किमि) सम्म ग्राभेल सडकमा स्तरोन्नतिका लागि यस साल ठेक्का व्यवस्थापन भइ निर्माण व्यवसायी श्री ओएसिस/मङ्गलादेवी सुवास/सुन्दरादेभी जेभी सेवासँग ३ वर्षमा सम्पन्न हुने गरी सम्झौता भएको छ ।
पौने १२ अर्बको लागत
यो आयोजनाको प्रारम्भिक लागत ११ अर्ब ९३ करोड रहेको छ भने लागत बढेर १६ अर्ब २० करोड पुगेकाे छ।
हालसम्म ५ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । २०८३/८४ भित्र सकिने भनिए पनि हालसम्म निर्माण प्रगति ५० प्रतिशत पनि भएको देखिँदैन । यस आयोजनालाई तीन प्याकेजमा विभाजन गरिएको छ ।
शिवशक्ति कम्पनीले सुरुमा काम गरिरहेको र पछि काम गर्न नसकेपछि यसको जिम्मा शर्मा एन्ड कम्पनीले पाएको थियो । हाल सोही कम्पनीले काम गरिरहेको छ ।
६ सय बढी जनशक्ति परिचालन
यस आयोजनामा ट्र्याक्टर, स्काभेटर, इन्धन ढुवानी गरेर काम अघि बढाइएको थियो । हाल उक्त आयोजनामा ६ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।
सो आयोजनाले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
हिउँदमा हिमपात र बर्खायाम वर्षाका कारण सडक निर्माण तीव्र गतिमा हुन सकेको छैन।
उक्त सडक बन्ने-नबन्नेमा भने स्थानीयहरू दुविधामा छन् । मोरङका रूपेश सुनार भन्छन्, ‘सडक बन्ने चर्चा चारैतिर छ । यो आयोजना बीआरआई पर्यो भनेर सुनेको दिन धेरै खुसी भएका थियौं । तर, यो सुनिएको एक महिनाभन्दा बढी भइसक्यो । जुन चर्चा सुरुमा थियो, हाल त्यस्तो चर्चा छैन । सरकारको यस्तो अवस्था देख्दा बीआरआईमा परेका सबै आयोजना त्यसमै सीमित हुन सक्छन् कि भन्न सकिन्नँ । ’
Copyright © 2025 Bikash Media Pvt. Ltd.