२०८१ पुष २४ गते १८:१७ विकासन्युज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा सडक नबनाएको भन्दै सडक विभागको कार्यालय पुगेर आक्रोश व्यक्त गरेकी छिन् ।
उनले सरकारले आफ्नो निर्वाचन क्षेत्रमा विकास गर्न आलटाल गरेको आरोप लगाइन् । हरेक वर्षको अन्त्यतिर आएर बल्ल ठेक्का सुरु हुने गरेको उनको भनाइ छ ।
पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी कार्कीले भनिन्, ‘वर्षको अन्त्यतिर ठेक्का सुरु हुन्छ । त्यसमा पनि लतरपतर काम गर्यो । समयमै काम नसक्ने अनि अर्को बहुवर्षीय योजनामा सुरु गरिहाल्ने, जसमा आदि काम पनि हुँदैन । बजेट फिर्ता हुन्छ । फ्रिज हुन्छ । ठेक्का लाग्दैन । समस्या जहाँका त्यही छन् ।’
उनले सितिमिति ठेक्का नै नलाग्ने गरेको बताइन् । ठेक्का लागिहाले पनि काम पुरा नहुने गरेको र सुस्त भएको दाबी गरिन् ।
‘यसरी हेपिराख्ने आलटाल हुनु हुँदैन । सिस्टम एकदम चुस्त प्रणालीमा जानुपर्छ । किनभने पहिले कुरो त योजना पर्नु नै कठिनाइ छ । सांसदहरू यसरी ढोका ढोकामा गएर मन्त्री, सचिव, तथा योजना शाखालाई सबैलाई भन्नु छ ।’
कार्कीले आफूले प्रत्येक कार्यालयमा मन्त्री, सचिव, योजना शाखालगायत सबैलाई भेटेर कम्प्युटरमा इन्ट्री गरेरसमेत कसैले नटेरेको बताइन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा बाटोको ठूलो समस्या रहेको बताउँदै यसलाई जसरी पनि बनाउनुपर्छ भन्दा पनि कसैले नटेरेको र आफै सडक विभाग पुगेको गुनासो गरिन् ।
‘सातदोबाटो झापाखेल सडक, ठैव झरुवाराशी सडक यस्तै, ठैबकै सानागाउँ सडक जुन पहिला बजेट परेर काम नभई फिर्ता भयो । बीचमा केही वर्ष ग्याप भयो । पछि धेरै मेहनेत गरेर योजनामा राख्यौं । तर ६/७ महिना बितिसक्यो, अझै अगाडि बढेको छैन,’ कार्कीले भनिन् ।
उनले काम सुस्त रूपमै रहेको भन्दै यो वर्ष यसलाई जसरी पनि टुङग्याउनुपर्ने चेतावनी दिइन् । कामको नाममा शून्य रहेको भन्दै यो दु:खको कुरा भएको र आफू यसरी पटक-पटक आइरहेको गुनासो छ ।
उनले सडक विभागका प्रवक्ताको कार्यकक्षमा पुगेर सडकको काम किन अगाडि बढेन भन्दै प्रश्न गरिन् ।
प्रवक्ताले यसको जानकारी आफूसँग नभएको र यसका लागि आयोजनासँग बुझ्नुपर्ने बताउँदै त्यही बेला उनले एक कर्मचारीसँग फोन सम्पर्क गरेका थिए ।
यसको बारेमा प्रवक्ताले कुराकानी गर्दा कर्मचारीले ती ठेक्का मूल्याङ्कनमा राखेको बताउँदै पछि प्रवक्तालाई योसम्बन्धी विवरण ह्वाट्सएपमा पठाउँछु भन्दै फोन काटेका थिए । त्यसपछि सांसद कार्की र प्रवक्ताबीच कुराकानी भयो ।
कुराकानीमा एउटा आयोजनाको ठेक्का सुरु लागेको र सम्झौता भइरहेको प्रवक्ताले ती कर्मचारीको म्यासेजको आधारमा जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.