२०८१ पुष २५ गते १४:०८ नरेन्द्र विष्ट
काठमाडौं । नेपालमा रोजगारी सिर्जना हुन सकेन भनेर बेला बखत ठूलो बहस हुन्छ । देशमा युवाले रोजगारी नपाएर विदेसिन बाध्य भए भन्ने धारणाले स्थान पाउँछ । ठूला उद्योग तथा कम्पनी नभएकै कारण देशमा रोजगारी गर्ने वातावरण भएन भन्ने गुनासो पनि प्रयाप्त सुनिन्छ । तर, नेपालमा हजारौंलाई रोजगारी दिने कम्पनीहरु पनि छन् । जसले हजारौंलाई रोजगारी दिएका छन्, लाखौंलाई निर्भर बनाएका छन् । आज यो समाचार सामग्रीमा देशका सबैभन्दा बढी रोजगारी दिने कम्पनीको विषयमा चर्चा गर्दैछौं ।
भाटभटेनी सुपरमार्केट
भाटभटेनी सुपर मार्केटको नाम नसुन्ने प्रायः कमै होलान् । तपाईं सहरमा बस्नुहुन्छ भने भाटभटेनीको नाम सुनेकै हुनुपर्छ । सन् १९८४ स्थापना भएको यस कम्पनीका मालिक मीनबहादुर गुरुङ हुन् । यसको मुख्य कार्यालय काठमाडौंको टंगालमा छ भने २७ वटा आउटलेटमार्फत् सेवा दिइरहेको छ ।
रोजगारी सिर्जनाका हिसाबले देशकै ठूलो यो सुपरमार्केटलाई गुरुङले ४० वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा खोलेका थिए । हाल भाटभटेनी सुपर मार्केटले खुद्रा व्यापारमा देशव्यापी सञ्जाल बनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा यसका शाखा छन् ।
काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् । त्यस्तै, काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा र बिर्तामोडमा चलिरहेका छन् ।
नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल झण्डै १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसले वार्षिकरूपमा ३२ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै आइरहेको छ । भाटभटेनीमा खाद्यान्न, लुगाकपडासहित खेलकुदका सामग्री, सिनेमा हलदेखि रेस्टुरेन्ट लगायतको सुविधा उपलब्ध छ ।
भाटभटेनीले अबको पाँच वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । यसमा ६० प्रतिशत हिस्सा मीनबहादुर र ४० प्रतिशत उनकी श्रीमती सावित्रा घले गुरुङको रहेको छ । भाटभटेनीमा करिब सवा २ अर्बको लगानी छ । हाल मुख्य कार्यालय टंगालकामा रहेको भाटभटेनीको नयाँ स्वरूपमा निर्माण कार्य चलिरहेको छ । उक्त भाटभटेनीको भवन डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको छ ।
गरुड सेक्युरिटी
गरुड सेक्युरिटी नेपालको सबैभन्दा ठूलो रोजगारी दिने अर्को ठूलो कम्पनी हो । कर्मचारीको संख्याको हिसाबले यो कम्पनी दोस्रो स्थानमा छ । जसको नेतृत्व सबलचन्द्र शाहले गरिरहेका छन् । विसं २०६२ सालमा स्थापना भएको यो कम्पनीको केन्द्रीय कार्यालय बाँसबारी, काठमाडौंमा छ । यस कम्पनीले सुरक्षा क्षेत्रमा विगत १९ वर्षदेखि सेवा गर्दै आइरहेको छ ।
यो कम्पनी सुरक्षा क्षेत्रका लागि परिचित छ । यसको मुख्य उद्देश्य ग्राहकहरूलाई कम्पनीमा उपलब्ध उत्कृष्ट सुरक्षा सेवाहरू प्रदान गर्नु रहेको छ । साथै यस कम्पनीले चालक, हाउसकिपिङ र क्लीनरहरू, आतिथ्यता, प्राविधिक र मर्मतसम्भार, कार्यालय सहयोगी कर्मचारीहरू र अन्य सुविधा व्यवस्थापन सेवाहरूको बोर्ड तयार गरी सेवा प्रदान गरिरहेको छ ।
दुई दशकको अवधिमा गरुड सेक्युरेटी देशको नम्बर वान सेक्युरेटी कम्पनी बनेको छ । विभिन्न अर्धसरकारी, व्यावसायिक प्रतिस्ठान, संस्थान, बैंक तथा वित्तीय संस्था, अस्पताल तथा ठूल्ठूला कन्सर्ट तथा कार्यक्रममा सुरक्षा प्रदान गर्नका लागि यो कम्पनीले सुरक्षाकर्मी उपलब्धत गराउँछ । शाहका अनुसार कम्पनीका काठमाडौं उपत्यकाभित्र २ वटा तथा देशैभरमा १० वटा शाखाहरू रहेका छन् । यस कम्पनीले झण्डै ६ हजारलाई रोजगारी दिएको छ ।
यस कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५८ करोड ८३ लाख ७२ हजार ६ सय ५५ रुपैयाँ कारोबार गरेको थियो । यस्तै, आव २०७९/८० मा १ अर्ब ७२ करोड १७ लाख ४२ हजार ४ सय ७० रुपैयाँ कारोबार गरेको छ । यो कम्पनी सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल सरकारबाट बढी रोजगारी दिएको कम्पनीका रुपमा समेत सम्मानित समेत भएको थियो ।
सूर्य नेपाल
बढी रोजगारी दिने कम्पनीमा सूर्य नेपाल पनि पर्छ । वि.सं २०४३ सालमा स्थापना भएको सूर्य नेपालका अध्यक्ष अध्यक्ष सञ्जीव पूरी हुन् । यसको मुख्य कार्यालय काठमाडौंको कान्तिपथमा छ । यो कम्पनी नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने सूचीको अग्रस्थानमा रहदै आएको छ ।
सूर्य नेपालको प्रमुख उत्पादन चुरोट हो । त्यसबाहेक यसले अगरबत्ती र सलाई पनि उत्पादन गर्छ । त्यस्तै, कम्पनीले होटल व्यवसायमा पनि लगानी गरेको छ । काठमाडौंको बुढानीलकण्ठमा ७२ रोपनी जग्गामा पाँचतारे होटल निर्माणाधीन छ ।
उक्त कम्पनीको देशभरि १ सयभन्दा बढी थोक वितरक रहेका छन् । यस कम्पनीले ५ हजार जनालाई रोजगारी दिएको छ । सरकारले यस कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा बर्सेनि सम्मानसमेत गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा २८ अर्ब ९९ करोड करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा कम्पनीले २७ अर्ब १ करोड ४० लाख रुपैयाँको चुरोट व्यापार गरेको थियो । यस्तै, सन् २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २४ अर्ब ४७ करोड, सन् २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो ।
जी फोर एस सेक्युरिटी सर्भिसेज
जी फोर एस सेक्युरिटी सर्भिसेज नेपाल रोजगारदाता कम्पनी हो । यसको स्थापना वि.सं २०२७ सालमा भएको थियो । यसका मालिक सुन्दरप्रताप राना हुन् । यसको मुख्य कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ । यो देशको सबैभन्दा ठूलो सुरक्षासम्बन्धी मल्टिनेशनल कम्पनी हो ।
उसो त जी फोर एस नेपाल विश्वकै नम्बर एक सेक्युरिटी कम्पनी हो । जसको सुरुआत बेलायतबाट भएको थियो । त्यसपछि यो विश्वभर विस्तार भएको हो । यस कम्पनीले सुरक्षा सेवा प्रदान गर्दै आएको छ ।
यस्तै, कम्पनीले विगत २८ वर्षदेखि ४ हजारभन्दा बढी अनुभवी तालिमप्राप्त सुरक्षाकर्मी तथा सरसफाइ श्रमिकमार्फत विभिन्न विदेशी राजदूतावास, कुटनीतिक नियोग, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठान, बैंक, प्रतिष्ठित होटल, अस्पताल, कलकारखानामा आफ्नो सेवा दिँदै आएको छ ।
हाल यस बहुराष्ट्रिय कम्पनीले सुरक्षा गार्ड सेवा, सुरक्षा प्रणाली र अन्य सुरक्षा समाधानहरूको क्षेत्रमा ठूलो प्रभाव पु¥याएको छ । हाल यस कम्पनीमा देशभरमा ४ हजार ७ सय जनाले रोजगारी पाएका छन् ।
रिलायन्स स्पिनिङ मिल्स
रिलायन्स स्पिनिङ मिल्स देशकै ठूलो निर्यातकर्ता र रोजगारदाता भएको अर्को कम्पनी हो । कम्पनीको कार्यालय काठमाडौंमै छ भने कारखाना सुनसरीमा छ । वि.सं २०५१ सालमा स्थापना भएको यो कम्पनीको मुख्य सेयरधनी पवन गोल्यान, शशिकान्त अग्रवाल र अक्षय गोल्यान हुन् ।
यस कम्पनीले धागोको उत्पादन वि.सं २०५४ सालदेखि सुरु गरेको हो । २ करोड ६० लाख पूँजीमा स्थापना भएको यो कम्पनीले अहिले वार्षिक १२ अर्ब रुपैयाँको कारोबार गर्छ । कम्पनीले ५ हजार जनालाई रोजगारी दिएको छ ।
हाल उद्योगभित्रै २८० परिवार बसोबास गर्ने यो कम्पनीले कामदारको स्वास्थ्य उपचार पनि कारखानाभित्रै गर्ने व्यवस्था गरेको छ । यो कम्पनीले बर्सेनि अर्बौं मूल्यको धागो उत्पादन गरी देशमा आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न योगदान दिँदै आएको छ । यसको अधिकृत पुँजी दुई अर्ब ६० करोड, जारी पुँजी एक अर्ब ९० करोड र चुक्ता पुँजी एक अर्ब ७१ करोड रहेको छ ।
करिब ६ अर्बभन्दा धेरै निर्यात आय गर्दै आएको रिलायन्स स्पिनिङले विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्दै आएको छ । अहिले पनि कम्पनीको विस्तार गर्ने काम भइरहेको अध्यक्ष पवन गोल्यानले बताए ।
एनसेल
एनसेल नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी हो । यो नेपालमा बढी रोजगारदाता भएको ठूलो कम्पनी पनि हो । यसको स्थापना विसं २०६१ सालमा भएको थियो । कम्पनीले २००५ देखि आफ्नो सेवा सुरु गरेको थियो । यसका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ हुन् । यसको मुख्य कार्यालय काठमाडौंको लौनचौरमा रहेको छ ।
यस कम्पनीले सन् २००५ को सेप्टेम्बर १७ बाट आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । यो कम्पनीको स्थापना हुँदा ‘मेरो मोबाइल’ नाम राखिएको थियो । सन् २००८ मा स्विडेनको कम्पनी टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० पछि मेरो मोबाइलको नाम फेरेर एनसेल बनाइएको थियो ।
फेरि सन् २०१६ मा टेलिया सोनेरासँग मलेसियाको आजियटा ग्रुपले एनसेलको सेयर किन्यो । ७ वर्षपछि ‘नेपालमा लगानीको वातावरण नभएको’ विज्ञप्ति निकाल्दै आजियटा बाहिरियो । सन् २०२० मा एनसेल प्रालिबाट पब्लिक लिमिटेड बनेको छ । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ । अहिले यसको मुख्य लगानीकर्ता शतिसलाल आचार्य छन् ।
सन् २०१० मै थ्रीजी सेवा विस्तार गरेको एनसेलले २०१७ मा फोरजी सेवा दिएको थियो । हाल देशको करिब ९० प्रतिशत क्षेत्रफलमा फोरजी सेवा पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई हाइस्पिड डेटा र भिडियो कन्टेन्ट प्रयोग गर्न सजिलो भएको छ । हाल १ करोड ३० लाखभन्दा धेरैले एनसेलको सिम प्रयोग गर्छन् । हाल बजार निरन्तर घट्दो क्रममा रहेकाले एनसेललाई डिजिटल बनाई डेटा बाहेकका नयाँनयाँ सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार एनसेलले विगतका १९ वर्षमा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको छ । साथै यसले स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब ९१ करोड ५० लाख रुपैयाँभन्दा बढीको योगदान गरेको छ ।
एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने दाबी गरेको छ । यो कम्पनी नेपालको एक ठूलो करदाताको रूपमा पनि परिचित छ । गत आर्थिक वर्ष २०८०/८१ सम्म विभिन्न शीर्षकमा यसले सरकारलाई ३ खर्ब २० अर्बभन्दा बढी राजस्व बुझाइसकेको जानकारी दिएको छ ।
हाल कम्पनीमा प्रतयक्ष तथा अप्रत्यक्ष गरि २५ हजारले रोजगारी पाएका छन् । यस कम्पनीको वार्षिक आम्दानी ३४ अर्ब रहेको बताइएको छ । एनसेल हरेक वर्ष सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा पनि सम्मानित हुँदै आएको छ ।
अरिहान्त मल्टीफाइबर ग्रुप
अरिहान्त मल्टीफाइबर ग्रुपको स्थापना सन् १९९३ भएको थियो । यसको कार्यालय विराटनगरमा छ भने यस कम्पनीका प्रबन्ध निर्देशक राजकुमार (आरके) गोल्छा हुन् । आरके गोल्छा ग्रुपका अरिहान्त इन्फ्रास्ट्रक्चर लिमिटेड, अरिहान्त स्टिल एण्ड एलोय कास्टिङ प्रालि र अरिहान्त रियल स्टेट डेभलपर कम्पनी सञ्चालनमा छन् ।
यस कम्पनीले झोला र बोराजस्ता पर्यावरणमैत्री उत्पादनहरू उत्पादन गर्ने गर्दछ । यो नेपालको अग्रणी जुट उत्पादक हो । यस कम्पनीले वार्षिक रूपमा २५ हजार मेट्रिक टन जुट प्रशोधन गर्दछ ।
यस्तै, अरिहान्त ग्रुपमा देशभर विभिन्न २२ वटा व्यापारिक क्षेत्र ‘बिजनेस युनिट’ मा छन् । अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उद्याेग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट हुन् ।
ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने अरिहान्त ग्रुपको उद्देश्य हो । यस कम्पनीले ४ हजार ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको बताएको छ भने अप्रत्यक्ष जोड्दला १० हजार पुग्ने कम्पनीको दाबी छ ।
कान्तिपुर सेक्युरिटी सर्भिस
कान्तिपुर सेक्युरिटी सर्भिस कम्पनी नेपालको प्रमुख सुरक्षा सेवा प्रदायकहरू कम्पनीमध्ये एक हो । यसको स्थापना विसं २०५५ सालमा भएको थियो । कम्पनीका प्रबन्ध निर्देशक खेमराज भण्डारी हुन् । यसको मुख्य कार्यालय काठमाडौंको चावहिलमा छ ।
कम्पनीले देशभर नेपाल बैंक, दूरसञ्चार, विद्युत प्राधिकरण लगायत ९० भन्दा बढी राज्यका महत्त्वपूर्ण निकाय, संस्था तथा प्रतिष्ठान, घरहरू, व्यापारिक संस्थाहरू र अन्य संस्थागत स्थानहरूमा सुरक्षा सुनिश्चित गर्नका लागि ठूलो संख्यामा सुरक्षा गार्ड, सवारी चालक, प्राविधिक लगायतका जनशक्ति उत्पादन गरी विभिन्न क्षेत्रमा खटाउँदै आएको छ ।
यस्तै, कम्पनीले ७ वटै प्रदेश र ७७ वटै जिल्लामा माग अनुसारको सेवा दिन जति बेला पनि तत्पर रहेको दाबी गरेको छ । यस कम्पनीका विराटनगर, हेटौँडा, पोखरा, बुटवल तथा धनगढीमा शाखा कार्यालयहरू रहेका छन् ।
देशभर कम्पनीमा हाल ४ हजार जनाले रोजगारी पाएका छन् । यस कम्पनीले सुरक्षा गार्डहरू, प्रहरी सेवा र अन्य सुरक्षा समाधान गर्दै आएको छ । यस कम्पनीको प्रमुख उद्देश्य भनेको जोखिम र सुरक्षा उल्लंघनहरू न्यून गर्न प्रभावकारी सुरक्षा समाधानहरू पेश गर्नु रहेको छ ।
त्रिवेणी स्पिनिङ मिल्स
त्रिवेणी स्पेनिङ मिल्स प्रालि नेपालको एक प्रमुख रोजगारी दिने कम्पनी हो । जसले कपडा र धागो उत्पादन गर्ने काम गर्दछ । वि.सं २०५२ सालमा संघाई परिवारले त्रिवेणी स्पिनिङ मिल्सको स्थापना गरेका हुन् । यस कम्पनीका अध्यक्ष रामचन्द्र संघाई हुन् ।
यसको कार्यालय बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा रहेको छ । कम्पनीले धागो उत्पादन गर्ने, पोलिस्टर, भिस्कोस र यार्लिक ब्लेन्डेड यार्न उत्पादन गर्दै आएको छ । जसमा नेपाली स्पिनिङको धागो स्वदेशलगायत भारत र टर्कीमा निर्यात हुने गरेको छ । कम्पनीले विभिन्न प्रकारका सिंथेटिक धागोहरू विभिन्न प्रकारका मिश्रणहरूमा उत्पादन गर्दछ र सबै प्रकारका बुनाई र बुनाईका लागि गणना गर्ने गर्दछ ।
त्रिवेणीको वार्षिक धागो उत्पादन क्षमता १४ हजार ६ सय ८९ टन रहेको छ । उद्योगले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । त्रिवेणी ग्रुपको बैंक, बिमा, उत्पादन र व्यापारमा लगानी रहेको छ । यस कम्पनीमा हाल झण्डै २ हजार जनाले रोजगारी पाएका छन् ।
बुद्ध एयर
नेपालको आन्तरिक उडानमा रहेका ९ वटा वायुसेवामध्ये बुद्ध एयर सर्वाधिक जहाज भएको कम्पनी हो । यसको स्थापना वि.सं २०५४ सालमा भएको हो । यसका मालिक बिरेन्द्र बस्नेत हुन् । बुद्ध एयरको स्थापनाको २६ वर्षमा २ करोड यात्रुलाई सेवा दिएको थियो । बुद्ध एयर हाल नेपालको आन्तरिक उडानमा पहिलो नम्बरमा छ ।
नेपालमा मात्रै हैन, एसियामै सर्वाधिक एटीआर विमान उडाउनेमा बुद्ध एयरको नाम अग्रपंक्तिमा आउँछ । पछिल्लो तथ्यांकअनुसार बुद्धले दैनिक ओहोरदोहोर गर्दा अधिकतम देशभर १ सय ४८ वटा उडान भर्छ । २०५४ असोज २५ देखि व्यावसायिक उडान सुरु बुद्ध एयरमा हाल झन्डै १५ सय जनाले रोजगारी पाएका छन् ।
बुद्धले दैनिक ७ देखि ८ हजार यात्रुलाई सेवा दिँदै आइरहेको छ । भित्री उपत्यकामा पर्ने सुर्खेत र तुम्लिङटारदेखि तराईका समेत गरी १५ वटा गन्तव्यका ४३ वटा हवाई रुटमा बुद्धका जहाज बिहान ६ देखि राति १२ बजेसम्म उडान गर्दै आइरहेका छन् ।
यस्तै, बुद्धले विराटनगर, भैरहवा, पोखरा, भरतपुरमा जहाज राखेर बिहानै त्यहाँबाट संघीय राजधानीमा उडान भर्दै आइरहेको छ । कोभिड चल्दा चल्दै दुइटा एटीआर जहाज थपेको बुद्धले हालसम्म ६ वटा जहाज थपिसकेको छ ।
यसले अब पोखराबाट भारतको नयाँ दिल्लीमा जेट विमानबाट उडान गर्ने लक्ष्य राखेको छ । उक्त एयर स्थापना भएदेखि नेपालमा ४० वटा वायुसेवा कम्पनी बन्द भइसकेका छन् । तर, यो बुद्ध एयर निरन्तर व्यावसायिक विस्तारमा छ । वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको बुद्धले भने दैनिक ४ करोड रुपैयाँ हाराहारीमा टिकट र कार्गोबाट आम्दानी गर्ने गर्दछ ।
बुद्धले एक दिन उडान बन्द गर्नुपरेमा नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने गरेको जनाइएको छ । यसले लोडरदेखि पाइलटसम्मलाई वार्षिक साढे २ अर्ब रुपैयाँ तलबमा मात्रै खर्च गर्छ । जसमा न्यूनतम ५० हजारदेखि ३ लाख रुपैयाँसम्म र औसत तलब डेढ लाख हाराहारीमा दिने गरेको छ ।
बुद्ध एयर जहाज संख्या, लगानी, बजार हिस्सालगायत विविध पाटोबाट नेपालकै सर्वाधिक ठूलो आन्तरिक वायुसेवा कम्पनीका रूपमा परिचित छ । बुद्धसँग हाल १७ थान जहाज सञ्चालनमा छन्, र ती सबै एटीआर जहाज हुन् । एटीआरमा पनि दुईथरी जहाज छन् । एउटा एटीआर ४२ सिरिजको छ, जसमा ४७ सिट हुन्छ । त्यस्तै, अर्को एटीआर ७२ सिरिजको छ, जसमा ७२ सिट हुन्छ । बुद्धसँग ४२ सिटे जहाज तीनवटा र ७२ सिटे जहाज १४ वटा छन् ।
बुद्धले एयरले हाल भद्रपुर, विराटनगर, तुम्लिङटार, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी तथा पर्वतीय उडान गर्दै आएको छ। त्यसबाहेक काठमाडौंबाट भारतको बनारसका लागि हप्तामा दुई उडानसमेत गर्दै आएको जनाएको छ ।
बुद्धको वर्तमान बजार हिस्सा ६५ प्रतिशत रहेको ५ भने स्थापनादेखि बुद्धले हालसम्म २ करोडभन्दा बढी यात्रुलाई सकुशल गन्तव्य पुर्याएको बताएको छ। तिनमा ९० प्रतिशत नेपाली यात्रु छन् भने १० प्रतिशत विदेशी अथवा भारतीय रहेको एयरले जनाएको छ। हाल यसमा झण्डै २ हजार जनाले रोजगारी पाएका छन् भने वार्षिक ७ अर्ब बढी सञ्चालन आम्दानी गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.