बजेट अभाव भएर काम गर्न नसकेको सडक विभागको गुनासो, अर्थमन्त्रालय भन्छ : व्यवस्थापन गर्न सक्नुपर्‍यो नि !

  २०८१ पुष २५ गते १३:१५     विकासन्युज

काठमाडौं । देशकै सबैभन्दा धेरै विकास बजेट खर्चिनेमध्येको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागलाई हाल बजेट अभाव भएको छ । विभागअन्तर्गतका धेरै आयोजनामा बजेट अभाव भएको सडक विभागले जनाएको छ।

सडक विभागका अनुसार धेरै आयोजनामा बजेट अभाव भएको छ । बजेटमार्फत् विनियोजित बजेट खर्च भएपछि सडकमा विभिन्न ठूला आयोजना र सडक डिभिजन कार्यालयहरूमा बजेट अभाव भएको हो ।

विभागका एक कर्मचारी भने, ‘हामीसँग पैसा छैन । सुरु भएका धेरै आयोजना अघि बढ्न सकिरहेका छैनन् । कामको गति सुस्त छ ।’

विभागअन्तर्गतका विभिन्न साना तथा ठूला आयोजनाहरूमा बजेटको अभाव देखिएको उनको भनाइ छ ।

कर्मचारीका अनुसार विभिन्न पुल आयोजना, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा थप बजेट आवश्यक छ । अघिल्ला वर्षहरूमा आर्थिक स्रोतको सुनिश्चितता नगरी राजनीतिक पहुँचका भरमा बहुवर्षीय ठेक्का लगाइएका आयोजनाहरूमा पनि बजेट अभावको समस्या छ ।

विभागमा गत वर्ष पनि बजेट अभाव चर्किएको थियो । हाल बजेटको समस्या रहेका आयोजनाहरूमा बजेट अभाव चर्किएको छ ।

तीन वर्षमा साढे ३१ अर्ब बजेट

सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा सडक मर्मतका लागि ९ अर्ब ८४ करोड ४१ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ९ अर्ब ५१ करोड १५ लाख ५६ हजार ८१० रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत भएको थियो ।

हालसम्म सडक मर्मतका लागि कुल ९ अर्ब २१ करोड २० लाख ९० हजार ७२४ रुपैयाँ निकासा भइसकेको बताइएको छ ।

यस्तै, तीन आवको तथ्याङ्क हेर्ने हो भने सडक मर्मतका लागि साढे ३१ अर्ब बजेट विनियोजन भएको छ ।

आव २०७८/०७९ देखि २०८०/०८१ सम्म ३१ अर्ब ५५ करोड ६० लाख बराबर बजेट विनियोजन भएकोमा ३१ अर्ब ५२ करोड ३५ लाख ६५ हजार ६५८ रुपैयाँ बराबरको बजेट निकासा गरेको छ ।

जसमध्ये सडक मर्मतमा २० अर्ब १८ करोड २६ लाख १ हजार ६९५ रुपैयाँ खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।

 १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी

सडक विभागका प्रवक्ता उमेशबिन्दु श्रेष्ठले सडक विभागसँग निर्माण व्यवसायीलाई १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘हामीसँगे गत वर्षको ६६ करोड बाँकी थियो, जसमध्ये यो आवको बजेटबाट ५ अर्ब ४० करोड भुक्तानी गरेका छौं । चानचुन ३ अर्ब बाँकी रहेकामा २ अर्ब १० करोड भुक्तानी भइसकेको छ । बाँकी १ अर्बभन्दा बढीको पनि रकमान्तर पनि गइरहेको छ । अब करिब १ अर्बमात्र बाँकी छ । त्यसको पनि फाइल अर्थमा गइसकेको छ ।’

प्रवक्ता श्रेष्ठले निर्माण व्यवसायीलाई विभागबाट हुने भुक्तानीमा कुनै समस्या नभएको दाबी गरे ।

यस्तै, उनले आयोजना निर्माणमा बजेटको समस्या विभागलाई पनि भएको बताउँदै हाल आयोजनाहरूको काम सुस्त गतिमा रहेको जनाए ।

के भन्छ अर्थ मन्त्रालय ?

अर्थ मन्त्रालयका सूचना अधिकारी महे भट्टराई महत्त्वपूर्ण आयोजनाहरूलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने  बताउँछन् ।

उनी भन्छन्, ‘जुन आयोजना महत्त्वपूर्ण छन्, ती आयोजनाहरूलाई छनोट गर्नुपर्‍यो । साना आयोजनालाई भन्दा ठूलालाई हेरिनु भएन । नयाँनयाँ आयोजनाहरू थपिँदै आउने गरेका छन् ।’

सूचना अधिकारी भट्टराईले नयाँ-नयाँ आयोजनाहरू थपिने गरेकाले यो सुधार गर्नुपर्ने बताए । नयाँ-नयाँ आयोजना थपिँदै जाँदा एकातिर काम समयमै पुरा नहुने अनि अर्कोतर्फ रकम खेर जाने गरेको गुनासो पोखे ।

‘योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्‍यो । जसमा विनियोजित रकम र स्रोत खेर जान सक्दैन । अझ भन्ने हो भने यसरी बजेट अभाव हुँदैन ।’

उनका अनुसार चालु आव २०८१/०८२ लागि समग्र यातायात र सडक पूर्वाधार विकासको लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

उक्त बजेटले सडक पूर्वाधार र यातायातमा ठूलो रकम विनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.