नेशनल लाइफका ४०० बढी अभिकर्ताले लिए इन्स्योरेन्स इस्टिच्युट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

  २०८१ पुष २५ गते १६:२२     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरूमार्फत कोलकातामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई कम्पनीले कोलकातामा तालिम प्रदान गरेको हो ।

कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल बीके नायकको सभापतित्वमा सम्पन्न तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरू जे सेन, मिहिर गोस्वामी, अनिरवन शाहलगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कलेजका प्रिन्सिपल बीके नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागीहरूलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरूलाई नेपालबाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागी गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकामा कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नवीन सोच लिई अगाडि बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए ।

यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेस कन्ट्युनिटी साइकलका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकहरूको रूचि, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्री गर्ने र बिक्रीपश्चात् पनि आफ्ना ग्राहकहरूसँग सधैं सम्बन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्न सक्ने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएका करिब ४०० जनाभन्दा बढी अभिकर्ताहरू र कम्पनीका मार्केटिङ कर्मचारीहरूलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरूले तालिमको प्रमाणपत्र वितरण गरेका थिए ।

बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको तालिममा सहभागी भई तालिम प्रमाणपत्र प्राप्त गर्नु एउटा ठूलो अवसर भएको र यो अवसर जुराइदिएकामा कम्पनीप्रति आभारी रहेको सहभागी अभिकर्ताहरूले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.