२०८१ पुष २५ गते १६:४२ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् ।
बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए ।
आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको बताए । झिंगाले सरापेर डिंगा नमर्ने भन्दै अरुले सरापेर एमाले नसकिने टिप्पणी गरे ।
‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने’, उनले भने ।
प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ की छैन भन्नेकुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए । उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.