पार्क पारखीलाई लोभ्याउँदै ललितपुर महानगर

  २०८१ पुष २५ गते १९:०४     बबिता तामाङ

काठमाडौं । काठमाडौं उपत्यकामा कतै टहलिन पर्‍यो अथवा एकैछिन हरियालीमा आरामसाथ बस्नुपर्‍यो भने पार्कको अभाव खट्किन्छ । विशेष गरी बुढाबुढी र बालबालिकाका लागि पार्क एउटा समय बिताउने अथवा खेल्ने गन्तव्य हाे । बुढाबुढी र बालबालिका मात्र नभई पार्कमा अन्य उमेर समूहका मानिसहरू पनि जाने गर्छन्। यसै क्रममा ललितपुर महानगरपालिकाले पार्क पारखीलाई लोभ्याउँदै विभिन्न स्थानमा हरियाली पार्क निर्माण कार्यलाई प्राथमिकता दिएको छ ।

विशेष गरी ललितपुर महानगरले सार्वजनिक जग्गा संरक्षण गर्ने हेतुले हरियाली पार्क निर्माण गर्ने कार्यलाई निरन्तरता दिएको हो । महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत पनि पार्क निर्माण र सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

महानगरले यसै चालु आवमा ठूलो प्रोजेक्टमा छ्यासीकोट पार्क र हरिसिद्धि पार्क निर्माणलाई अघि बढाएको छ । हाल ती पार्कहरू निर्माणाधीन अवस्थामा छन् । यी पार्कबाहेक अन्य पार्कहरू पनि विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा रहेको महानगरले जनाएको छ ।

साना तथा ठूला सबै जग्गा संरक्षण गर्ने नीति

महानगरका पूर्वाधार निर्माण महाशाखाका प्रमुख (सीडीई) प्रदीप पौडेल पहिलो सार्वजनिक जग्गा संरक्षण गर्ने नीति र दोस्रो हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माण कार्यलाई अघि बढाएको बताउँछन् । महानगरले खाली देखिएका साना तथा ठूला सबै जग्गालाई संरक्षण गर्ने नीति लिएको बताए ।

उनका अनुसार पछिल्लो समय महानगरभित्र कहाँ-कहाँ सार्वजनिक जग्गा छन्, त्यसको लगत नापी कार्यालयबाट लिने काम भइरहेको छ । त्यसबाट पनि सार्वजनिक जग्गाको पहिचान हुने उनको भनाइ छ ।

यसबाहेक पार्क निर्माण भएपछि सर्वसाधारणलाई फुर्सदको समयमा टहल्न, शान्त र हरियाली ठाउँ उपलब्ध हुने सीडीई पौडेलले बताए । ‘पब्लिकलाई फुर्सदको समयमा टहल्नको लागि पनि ठाउँ होस् भनेर हामीले पार्क निर्माण गर्दै आएका छौं, यसले उहाँहरूलाई घुम्न र समय बिताउन मद्दत पुग्नेछ ।’

ठूलो प्रोजेक्टका पार्कहरू महानगरले निर्माण गरिरहेको छ भने स-साना ठाउँमा पार्कहरू भने वडा आफैले सार्वजनिक ठाउँको पहिचान गरेर निर्माण गरिरहेको सीडीई पौडेलले बताए ।

निर्माणाधीन अवस्थामा रहेका दुई पार्क

छ्यासीकोट पार्क

ललितपुर महानगर वडा न २५ मा छ्यासिकोट पार्क निर्माणाधीन अवस्थामा छ । छ्यासीकोट पार्क निर्माणको लागि महानगरले एक करोड ९९ लाख ४३ हजार लागत लाग्ने अनुमान गरेकोमा निर्माण कम्पनीसँग एक करोड २२ लाख १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरले जनाएको छ ।

महानगरका अनुसार पार्क निर्माणको ठेक्का स्ट्रक्टटीफर्म कन्सट्रक्सनले पाएको छ । पार्क निर्माणको लागि महानगर र निर्माण कम्पनीबीच २०८१ असार १८ गते सम्झौता भइसकेको छ ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०८२ असार २३ गते पार्क निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । हाल पार्क निर्माणको कार्य अघि बढिरहेको छ । एक प्रकारको स्ट्रक्चर बनाउने काम सम्पन्न भएको निर्माण पक्षले जनाएको छ ।

हरिसिद्धि पार्क

ललितपुर महानगरको ठूलो बजेटमा निर्माण हुन लागेको अर्को पार्क हो- हरिसिद्धि पार्क । महानगर- २८ मा निर्माणाधीन अवस्थामा रहेको उक्त पार्कको लागत एक करोड ९९ लाख ८८ हजार लाग्ने अनुमान गरेकोमा एक करोड २० लाख १८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

महानगरका अनुसार यो पार्क निर्माणको लागि समाज सेवा कन्सक्ट्रक्सनले जिम्मा पाएको छ । महानगर र निर्माणपक्ष बीच पार्क निर्माणको लागि २०८१ असार १६ गते सम्झौता सम्पन्न भएको थियो । यो पार्क आगमी २०८२ असार २३ गते सम्पन्न गरिसक्नुपर्ने हुन्छ । ३० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

पार्क निर्माणका लागि डीपीआर तयार

ललितपुर महानगरले विभिन्न दुई दर्जनजति स्थानमा पार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको छ । सीडीई पौडेलका अनुसार प्राथमिकता र आवश्यकताका आधारमा पार्क निर्माणले निरन्तरता पाउँदै जाने छ ।
महानगरका अनुसार सुनाकोठी २६ वडा मा वडामा जैनखेल पार्क बनाउने डीपीआर तयार भएको छ । उक्त पार्क निर्माणको लागि १० करोड ७१ लाख लागत लाग्ने अनुमान गरेको छ ।

त्यस्तै, ललितपुर वडा न. २५ स्थित सेराफाँट मार्गमा सामुदायिक पार्क बनाउने भनेर महानगरले पहिचान गरेको छ । उक्त पार्क निर्माणको लागि अनुमानित २ करोड २६ लाख बजेट लाग्ने अनुमान गरिएको छ ।

महानगरको डीपीआरमा वडा न १४ स्थित धापाखेल प्रगति टोलमा पार्क निर्माण रहेको छ । उक्त ठाउँमा पार्क निर्माणको लागि महानगरले ३५ लाख लागत लाग्ने अनुमान छ । वडा न ९ बालकुमारीमा पार्क बनाउने भन्ने प्रतिवेदन तयार पारेको ।

उक्त पार्क निर्माणको लागि अनुमानित ३८ लाख लागत लाग्ने महानगरले जनाएको छ । यसबाहेक धोविघाट, एकान्तकुना, कुसुन्ती डाँडालगायत ठाउँमा पनि पार्क बनाउने डीपीआर तयार भएको छ ।

कहाँ-कहाँ निर्माण हुँदैछ पोखरी ?

सार्वजनिक जग्गामा पार्क निर्माणसँगै महानगरले पोखरीको संरक्षण र निर्माणमा पनि जोड दिएको छ । नयाँ पोखरी निर्माण मात्रै नभएर महानगरभित्र रहेका पुराना पोखरीहरूको पुन:निर्माण गर्ने नीतिलाई महानगरले अघि बढाएको छ । ललितपुर महानगरले सप्तपातल र पलेस्वा पुखु पोखरीको पुन:निर्माण गर्दैछ । महानगरले यस पोखरीलाई नगर गौरवका आयोजनामा समेत राखेको छ ।

सप्तपाताल पोखरी

लगनखेल बटुकभैरव मन्दिरअगाडि सप्तपाताल पोखरी निर्माणाधीन अवस्थामा छ । लिच्छविकालीन इतिहास बोकेको उक्त सप्तपाताल पोखरी पुन:निर्माण हुन लागेको हो । पहिलाकै जस्तो पोखरी बनाउने योजनाअनुसार महानगरले पोखरी पुन:निर्माणलाई अघि बढाएको जनाएको छ ।

यो पोखरी पुन:निर्माणको लागि महानगरले शिव निर्माण सेवासँग सम्झौता गरेको छ । सम्झौता २०८० चैत्र २८ गते भएको थियो । शिव निर्माण कम्पनीले पोखरी निर्माणको लागि ६० लाख ४६ हजार रुपैयाँमा ठेक्का सझौता भएको थियो ।

सम्झौताअनुसार २०८१ साउन २८ गते काम सम्पन्न हुनुपर्नेमा सम्भव नभएपछि दोस्रोपटक म्याद थप भएर काम भइरहेको छ । बर्सात, डिजाइन परिवर्तन गरेर निर्माण गर्नुपर्ने लगायत कारणले समयमै सम्पन्न हुन नसकेको निर्माण पक्षको भनाइ छ । हाल त्यहाँ ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

न्हु: पोखरी

ललितपुर महानगर वडा नं ५ स्थित लगनखेलमा न्हु: पोखरी निर्माणाधीन अवस्थामा छ । मल्लकालीन समयमा निर्माण भएको यो पोखरीको पुन:निर्माण हुन लागेको हो । यो पोखरी निर्माणको लागि मेडिना कन्सक्ट्रक्सनले ठेक्का पाएको छ । पोखरी पुन:निर्माणको लागि महानगरले उक्त कन्सक्ट्रक्सनसँग २०८१ असार ६ गते ठेक्का सम्झौता भएको थियो । महानगरका अनुसार ५६ लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनीले एक वर्षभित्र अर्थात २०८२ असार १५ गतेसम्ममा पोखरी निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।

मेडिना कन्सक्ट्रक्सनका इन्जिनियर सुदिप चौलागाईंले हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार अहिले त्यहाँ पुरानो पर्खाललाई परिवर्तन गरेर नयाँ पर्खाल लगाउने काम भइरहेको छ ।

पलेस्वा पुखु नः टोल

निर्माणाधीन अवस्थामा रहेको अर्को पोखरी हो पलेस्वा पुखु नः टोल । विगतमा सवारीसाधन पार्किङ हुँदै आइरहेको उक्त ठाउँमा पोखरी निर्माण हुन लागेको हो । पोखरी निर्माणको लागि कोर कन्स्क्ट्रक्सन वाटर प्रुफिङ प्राइभेट लिमिटेडले पाएको छ । महानगरपालिकाले उक्त निर्माण कम्पनीसँग २०८१ जेठमा सम्झौता गरेको हो ।

कोर कन्स्क्ट्रक्सनले पोखरी निर्माणको लागि एक करोड ३९ लाख ६४ हजार रुपैयाँमा ठेक्का पाएको हो । कम्पनीले २०८२ असार ११ गतेसम्ममा पोखरी निर्माण सम्पन्न गर्नुपर्ने छ ।

पहिला पार्किङ हुँदै आएको उक्त ठाउँमा अहिले महानगरले खनेर पोखरी बनाउन लागेको महानगरका पूर्वाधार निर्माण महाशाखाका सिभिल इन्जिनियर लभ कार्कीले बताए ।

उनका अनुसार सवारीसाधन पार्किङ हुनुअघि त्यहाँ पोखरी थियो । उक्त पोखरीलाई पुनर्जीवन दिनका लागि पुनःनिर्माण हुन लागेको हो । अहिले माटो खन्ने र पर्खाल लगाउने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.