२०८१ पुष २६ गते ११:१० विकासन्युज
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौती बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्ति विचको महत्त्वपूर्ण सम्मेलन सम्पन्न भएको छ ।
मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगाेष्ठीमा सहभागीले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतीका सवालमा छलफल र बहस गरे ।
संगाेष्ठीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पछिल्लो समय इन्टरनेटको माध्यमबाट धेरै अपराध भइरहेको तथा साइबर सम्बन्धी नेपालको विद्यमान कानुन, नीति र व्यावसायिकताका बारेमा कलेजका विद्यार्थीलाई सचेतना दिन संगाेष्ठी आयोजना गरिएको बताए ।
साइबर सुरक्षा संगोष्टीबाट विद्यार्थीले साइबर कानुन, साइबरमा जोखिम र सामाजिक, आर्थिक प्राविधिक ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गरे । संगोष्टीको पहिलो दिन आयोजित प्यानल छलफलमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सरकारले साइबर अपराध, साइबर सुरक्षा र कानुनलाई बलियो बनाउन काम गरिरहेको बताए ।
उनले सरकारी तवरबाट आम नागरिकलाई साइबर सम्बन्धी सचेतना दिने कार्यसँगै कानुनमा रहेका कमजोरी सुधार गर्न सक्रियताका साथ कार्य भइरहेकोले सामाजिक सञ्जाल, इन्टरनेटका माध्यमबाट हुने अपराध बारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिए ।
संगोष्टीमा राष्ट्रिय साइबर ब्युरोका एसपी दीपकराज अवस्थले नेपालको साइबर कानुन, साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराए । उनले पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुःखद भएको बताउँदै नेपालमै रहेर भिओआईपी प्रयोग गरेर साइबर अपराध गर्ने क्रम बढेको र त्यस्ता कार्य गर्दा कुनै न कुनै दिन फसिने भएकोले विद्यार्थीलाई त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गरे ।
कलेजका सहायक प्राचार्य मोहन ध्वज केसीले साइबर सुरक्षा संगोष्टीले विद्यार्थीलाई साइबर सुरक्षा, कानुन र अपराधका बारेमा ज्ञान दिने जिकिर गरे । उनले इन्टरनेटको माध्यमबाट हुने अपराध बारे विशेष गरी युवा पुस्ता विद्यार्थीले बढी जानकारी लिनुपर्नेमा जोड दिए ।
ईसेवाका इन्जिनियर सुदिप पाठकले निजी क्षेत्रले खास गरी रकम भुक्तानी सम्बन्धी साइबर सुरक्षा, समस्या र चुनौती तथा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिए । संगोष्टीमा साइबर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष् खनाल, लइम्पेरियलका प्रबन्ध निर्देशक सुरेन्द्र तिवारी, मेरो शिक्षाका संस्थापक अनुप उप्रेती, आइसिटी अवार्ड विजेता क्रिमसङ टेकका रुकेश दुवाल, कलेजका कम्प्युटर डिपार्टमेन्टका प्रमुख जीतबहादुर बोहरा, विद्यार्थी कल्याण समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।
दुई दिनसम्म चलेको साइबर सुरक्षा संगोष्टीमा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.