२०८१ पुष २६ गते १७:५४ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको देखिएको हो ।
तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खातासमेत बचतमा रहेको छ । तथ्यांकअनुसार मंसिरसम्ममा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ ।
विदेशी विनिमय सञ्चितिमा ११ प्रतिशतको वृद्धि
चालु आवको मंसिर मसान्तसम्ममा कुल कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा १०.० प्रतिशतले वृद्धि भई २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा २४.६ प्रतिशतले वृद्धि भई २४०अर्ब रुपैयाँ कायम भएको छ । २०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.