सरकार पनि घाटामा, देश पनि घाटामा

  २०८१ पुष २८ गते १०:५१     सम्पादकीय

सरकारको आयाव्यायमा ठूलो खाडल पर्दै गएको छ भने बैदेशिक व्यापारमा पनि ठूलो घाटा छ । यी दुई मुल समस्याका कारण अर्थतन्त्रका हरेक सूचकाङ्कहरु खुम्चिदै गएका छन् । उद्यमी व्यवसायी पनि संकटमा फस्दै गएका छन् । तर समस्या समाधानका लागि सरकारले रुपान्तरणकारी कदम चाल्न सकेको छैन ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपाल सरकारको आयव्यव १९२ अर्ब ५७ करोड नोक्सानमा गएको छ । यस अवधिमा सरकारको कुल खर्च रु.५५६ अर्ब १२ करोड रहेको छ । त्यसमा चालु खर्च रु.३६३ अर्ब ५५ करोड, पँुजीगत खर्च रु.४० अर्ब ८० करोड र वित्तीय व्यवस्था खर्च रु.१५१ अर्ब ७७ करोड रहेको छ । यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.३९९ अर्ब ६० करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व रु.३६२ अर्ब ५८ करोड र गैर कर राजस्व रु.३७ अर्ब २ करोड परिचालन भएको छ । मंसिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२१९ अर्ब ८३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९१ अर्ब ७८ करोड रहेको थियो ।

सरकारको खाता मात्र घाटामा होइन, देशको व्यापार पनि घाटामा नै छ । कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले वृद्धि भई रु.५८७ अर्ब ८३ करोड पुगेको छ । निर्यात–आयात अनुपात ११.१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ६६ करोड पुगेको छ । सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, ऊनको गलौँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, कुल वस्तु आयात ३ प्रतिशतले वृद्धि भई रु.६६१ अर्ब ४९ करोड पुगेको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रा लगायतका वस्तुको आयात घटेको छ ।

बस्तु व्यापारसँगै नेपालले सेवा व्यापारमा पनि नोक्सानी बेहोरेको छ । खुद सेवा आय रु.४० अर्ब ७१ करोडले घाटामा रहेको छ । भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई रु.३५ अर्ब १९ करोड पुगेको छ । तर भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई रु.८५ अर्ब १ करोड पुगेको छ । त्यस्तै विदेश जाने विद्यार्थीले रु.४७ अर्ब ४१ करोड बराबर विदेशी मुद्रा विदेश लगेका छन् ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६४० अर्ब ४३ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । तर गत वर्षको तुलनामा विप्रेषण आय वृद्धि कमजोर बनेको देखिएको छ । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई २०८१ मङ्सिर मसान्तमा रु.२२७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी मुद्रा संचितिको अवस्था जति राम्रो छ, त्यसको सदुपयोग गर्ने तर्फ उल्लेख गर्न लायक काम भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.