२०८१ पुष २८ गते ११:५९ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताएका छन् । अध्यक्ष ढकालले नेपालमा सम्भावना नै सम्भावना रहेकोले सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
नेपाल योङ आन्टप्रेनर फोरम (एनवाइइएफ)ले काठमाडौंमा आयोजना गरेको चौथो स्टार्टअप अवार्ड वितरणका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । यसका साथै अध्यक्ष ढकालले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकास गर्न सके मात्रै देश विकास सम्भव रहेको बताए । उनले सूचना प्रविधि क्षेत्रमा भएका परिवर्तनलाई आत्मसात गर्दै स्टार्टअपलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
‘अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको छ । साच्चि नै देशको आर्थिक उन्नती हेर्ने मन हो भने उद्यमशीलता प्रवर्द्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा हामी केन्द्रित हुनुपर्दछ र यो नै आजको आवश्यक्ता हो ।’ उनले भने ।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रर्वद्धनका लागि स्टटार्ट अप एण्ड ईन्नोभेशन फोरम, नेपाल युवा उद्यमी मञ्च, घरेलु तथा साना उद्योग, लगानी तथा अन्तरराष्ट्रिय फोरम (आइसीटी) र उद्योग तथा व्यवापार जस्ता समिति तथा फोरमहरुहरु स्थापनाका साथै उनीहरु मार्फत विभिन्न कामहरु गर्दै आईरहेको जानकारी दिए । उनले महासंघले मुलुक भित्र नविनतम सोंच सहितको उद्यमशीलता प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूसङ समन्वय गरेर काम गरिरहेको पनि बताए ।
उनले अझै पनि नेपालका कतिपय कानून पुराना भएकोले काम गर्न समस्या हुने गरेको उल्लेख गर्दै समयानुकूल कानुन ल्याउन तथा पुराना कानूनहरुको संशोधन गर्न सरकारलाई सुझाव दिए । उनले भने, ‘पछिल्लो समय निजि क्षेत्रको सुझाव अनुसार कतिपय कानून परिमार्जन भएका छ्न् । प्रायः सबै दलहरू अहिले आर्थिक एजेन्डाबिना मुलुक समृद्ध हुदैन भन्नेमा सहमत छन् । यो सकारात्मक पक्ष हो । तर यो प्रयाप्त छैन ।’
स्टार्टअप अवार्डबाट सम्मानित हुनेलाई बधाई ज्ञापन गर्दै अध्यक्ष ढकालले स्टार्टअपको विकास र विस्तारको लागि महासंघ सधैं तयार रहेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले देश विकासको लागि यूवाहरुको नविन सोचको सम्मान गर्दै सोही अनुरुपको वातावरण निर्माण गरिदिनुपर्ने बताए। उनले झन्झटिलो कानूनी प्रक्रियाको सुधारको लागि कार्यविधि, मापदण्ड जस्ता विषय खारेज गर्ने र सहजताका साथ काम गर्ने वातावरण बनाइने प्रतिवद्द्ता व्यक्त गरे ।
चौथो (एनवाईइएफ) स्टार्टअप अवार्डका लागि छनोट भएका ७ वटा कम्पनी मध्यबाट डिएल ड्ट सर्फले प्रथम, मेल्ट डाउनले दोस्रो र खेतीपाती अर्गानिक्सले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.