२०८१ पुष २८ गते १२:११ विकासन्युज
काठमाडौं । ललितपुर महानगरपालिका र पाटन अस्पतालको संयुक्त सहकार्यमा अस्पातलमा रहेको शवगृहको स्तरोन्नति भएको छ । आइतबार अस्पतालमा एक कार्यक्रमबीच महानगर प्रमुख चिरीबाबु महर्जनले स्तरोन्नति शवगृहको उद्घाटन गरे ।
शवगृहको स्तरोन्नतिसँगै अब २४ शवलाई राख्न मिल्ने व्यवस्था भएको छ । यसभन्दा अघि शवगृहमा चार शवमात्रै राख्न मिल्ने क्षमता थियो । महानगर प्रमुख महर्जनले शवगृह स्तरोन्नतिका लागि अस्पताललाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।
विगतमा पनि महानगरको तर्फबाट अस्पताललाई सहयोग गर्दै आइरहेको कुरा जानकारी दिँदै प्रमुख महर्जनले भने, ‘अस्पतालाई सहयोग गर्नुपर्ने अवस्थामा महनगर संधै तयारी अवस्थामा छ । कोभिडको समयमा अक्सिजन प्लान्ट सहयोग गरेका थियौं, यसले धेरै बिरामीलाई सहज पुग्यो । अहिले पनि हामीले शवगृहको लागि सहयोग गर्न पाउँदा खुसी महसुस गरेका छौं ।’
विगतमा पाटन अस्पतालको शवगृह शव राख्ने ठाउँ कम हुँदा लासमाथि लास खप्टेर राख्नुपर्ने अवस्था थियो । पहिचान नखुलेको शव लामो समय राख्नुपर्दा दुर्गन्धित भएर अस्पताल मात्रै नभएर अस्पताल परिसरमा पनि त्यसले नकारात्मक सन्देश प्रवाह भएको अस्पतालका डाइरेक्टर प्राध्यापक डा. रवि शाक्यले बताए ।
उनले भने, ‘शवगृहभित्रको स्थिति दर्दानात्मक थियो नै । साथै अस्पताल नजिकका छिमेकीहरुबाट दुर्गन्ध फैलियो भनेर गुनासो आइरहन्थ्यो ।’
शवगृहको स्तरोन्नतिसँगै अब शवको व्यवस्थापन गर्नमा अस्पतालाई सहयोग पुग्ने शाक्यले सुनाए ।
अस्पातलका फरेन्सिक विज्ञ सम्झना घिमिरेले शवगृहको स्तरोन्नति हुँदा लासको व्यवस्थापन गर्न सहज हुनुका साथै काम गर्न पनि सहज पुग्ने विश्वास व्यक्त गरिन् ।
लाशको फरेन्सिक परीक्षणबाट मृत्यु हुनुको कारण खुल्ने हुँदा यसले लाशले न्याय पाउने बताउँदै उनले भनिन्, ‘हामीले लाशलाई पनि सम्मान दिनु जरुरी छ, मृत्युपछि लासले सम्मान पाउने भनेको उहाँहरूको मृत्यु के कारणले भयो भनेर वास्तविक कुरा पत्ता लगाउनु हो । त्यो कुरा फरेन्सिक जाँचले सम्भव छ ।’
प्रमुख महर्जनले पहिचान नखुलेका शवहरूको व्यवस्थापनको जिम्मा महानगरको लिनेसमेत बताए । साथै उनले यस्ता शवहरूको व्यवस्थापन गर्ने संघसंस्थालाई पनि प्रोत्सहानस्वरूप सम्मान गर्दै आइरहेको जनाए ।
उनका अनुसार महानगरले वेवारिसे शव व्यवस्थापनमा प्रमुख भूमिका निर्वाह गर्दै आइरहेको विनय जंगको संस्थालाई एक लाख सहयोगसहित सम्मान गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.