माउण्टेन इनर्जीको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

  २०८१ पुष २८ गते १४:१४     विकासन्युज

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार पुस २८ गते साधारणसभा सम्पन्न भएको हाे ।

कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै साधारणसभाले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

१५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ । सो चुक्ता पुँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले ६५ मेगावाटको दूध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तसम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसँग सम्वद्ध अनुसूचीहरू पारित गरेको छ ।

साधारणसभाले एक जना महिला सञ्चालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाबाट कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.