हजारबाट अर्बौंको यात्रा, सफल उद्यमी उमेशको कथा (भिडियोसहित)

  २०८१ पुष २८ गते १५:२७     सन्तोष रोकाया

काठमाडौं ।  भोजपुरको एउटा सामान्य परिवारमा जन्मिएका उमेश श्रेष्ठ कसरी अर्बपति बने ? आउनुहोस् आज यही विषयमा चर्चा गरौं । उमेश श्रेष्ठ २०१२ माघ २० गते भोजपुरमा जन्मिए । स्कुले जीवन भोजपुरमै पुरा गरेका उनी थप अध्ययनका लागि एसएलसीपछि काठमाडौं आए । सानै देखि मिहिनेती थिए उनी ।

काठमाडौंमा फुपु र फुपाजुसँग बसे । शंकरदेव क्याम्पसबाट १२ कक्षा पास गरे । कक्षा १२ पास गरेपछि उनी छुट्टै कोठा लिएर भाडामा बस्न थाले । त्यतिखेर उनले मासिक एक सय रुपैयाँ कोठा भाडा तिर्थे । १२ कक्षा पास गरेपछि ललितपुरको पाटन क्याम्पसबाट स्नातक पास गरे । मानविकी अध्ययनपछि उनले एक वर्षे बीएड गरे ।

श्रेष्ठले वि.सं २०३० सालमा क्षेत्रीय शिक्षा निर्देशनालयमा प्राथमिक स्कुल सुपरभाइजरको जागिर पाए । विभिन्न विद्यालयहरूमा गएर निरीक्षण गर्नुपर्ने जिम्मेवारी थियो उनको । त्यही समयमा विद्यालयमा पढाउने काम पनि गरे । त्यतिखरे देशमा शिक्षा क्षेत्रले प्रगति गर्न सकेको थिएन, शिक्षामा सरकारी लगानीमात्रै थियो, निजी लगानी भएका विद्यालय सीमित थिए। उमेशले त्यतिबेलै शिक्षामा धेरै काम गर्न सकिने सम्भावना देखे ।

त्यतिखेर सरकारले पनि निजी क्षेत्रले शिक्षामा लगानी बढाउनुपर्ने नीति लिँदै थियो । काम गर्ने मौका यही हो भन्ने योजनाका साथ श्रेष्ठले स्थायी सरकारी जागिर छोडे । काम पाउन मुस्किल भइरहेको त्यो समयमा सरकारी जागिर छोड्ने उनको त्यो साहस असाधारण थियो । तर, उमेशले हुँदाखाँदाको जागिर छोडिदिए ।

त्यसपछि सुरु भयो लिटिल एञ्जल्स

श्रेष्ठमा मैले केही गर्न सक्छु भन्ने आत्मविश्वास र दृढता थियो । विद्यालयमा पढाएको र विभिन्न विद्यालयमा गएर निरीक्षण गरेको अनुभव थियो उनीसँग । सरकारले पनि निजी क्षेत्रलाई शिक्षामा आकर्षित गर्ने नीति लिइरहेको बेला उनले लिटिल एञ्जल्स स्कुल सुरु गरे । विसं २०३७ सालमा दुईजना साथी मिलेर खोलेका लिटिल एञ्जल्स स्कुलको स्थापना भयो । स्कुलको भाडा थियो– दुई हजार रुपैयाँ । सुरुको वर्षमा ६५ जना विद्यार्थी भर्ना भए । ६५ हजार रुपैयाँ पुँजीमा नै स्कुल खोलियो ।

व्यवसाय सुरुवात गर्दाका दुःख र संघर्षहरू श्रेष्ठको मानसपटलमा अझै पनि ताजै छन् । एउटा थोत्रो साइकल चढेर पछाडि साथीलाई राखी विद्यार्थी खोज्न हिँडेका संघर्षका दिनहरू सम्झिँदा उनी अहिले पनि भावुक बन्छन् ।

बिहानै उठेर स्कुलमा सरसफाइ गर्ने र पछि विद्यार्थीलाई पढाउने श्रेष्ठको दैनिकी हुन्थ्यो । विस्तारै स्कुलले एउटा लय समात्यो । अभिभावकले विश्वास गर्न थाले । स्थापनाको दोस्रो वर्ष १०५ जना, तेस्रो वर्ष ३ सय जना, चौथो वर्ष ६ सय र पाँचौं वर्ष १२ सय विद्यार्थी पुगे ।

स्कुलको कमाइ बढ्न थाल्यो । उनको मिहिनेतको रफ्तारले थप गति लिन थाल्यो । आत्मविश्वासले थप उचाइ लिन थाल्यो । उनी मनमनै आफूलाई भन्थे ‘तँ गर्न सक्छन्, अगाडि बढ् ।’

स्कुलले कमाइ गर्न थालेपछि श्रेष्ठले विद्यार्थीलाई बोक्न गाडी किने । तर, चालक आफै बने । उनीसँग अहिले पनि भ्यान, बस, ट्रकको चालक अनुमति पत्र (लाइसेन्स) छ ।

‘आफै स्कुल सफा गर्ने, आफै गार्डको काम गर्ने, भ्यान चलाउने, आफै पढाउने, जेजस्तो भएपनि काम गर्नुपर्छ भन्ने मानसिकता थियो,’ उनी संघर्षका सुरुवाती दिनहरू स्मरण गर्दै भन्छन्, ‘स्कुलले एउटा उचाइ लिन थालेपछि भारत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत देशमा पुगेर त्यहाँको शैक्षिक संस्थाहरू हेरियो, बुझियो, त्यहाँको सिकाइ नेपालमा लागू गर्ने प्रयास गरेँ ।’

सफलताका लागि मिहिनेत गर्नुपर्ने राय श्रेष्ठको छ । ‘सपना ठूलो देख्नुपर्छ, दूरदर्शी बन्नुपर्छ,’ उनी भन्छन्, ‘मल्टिप्लाई हुने क्षेत्रमा लगानी गर्नुपर्छ ।’

साढे चार दशकअघि स्थापना भएको लिटिल एञ्जल्स अहिले देशको गौरव गर्न लायक शैक्षिक संस्था बनेको छ । हजारौं विद्यार्थी यो संस्थाबाट पासआउट भएका छन् । अहिले लिटिल एञ्जल्सअन्तर्गत १० वटा शैक्षिक संस्था सञ्चालित छन् । १७ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ५ सय जना कर्मचारी कार्यरत छन् । चार सय बढी विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

गुणस्तरीय शिक्षा, अत्याधुनिक पूर्वाधार, सेवा सुविधाहरू र ठूलो संख्यामा विद्यार्थी भर्नाको हिसाबले लिटिल एञ्जल्स देशको एक प्रतिष्ठित शैक्षिक संस्था बन्न सफल भएको छ । एउटा फ्ल्याटबाट सुरु भएको स्कुल आज सयौं रोपनी जग्गामा फैलिएको छ ।

‘जीवन नै शिक्षामा बिताएँ, मैले पाएको उपलब्धि नै शिक्षा हो, शिक्षा देश विकासको मेरुदण्ड हो,’ लिटिल एञ्जल्सका संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन्, ‘एउटा व्यक्तिले शिक्षामा यति धेरै काम गर्न सक्छ भने सिंगो देश लाग्यो भने परिवर्तन सम्भव छ ।’

प्याब्सन र हिसानको नेतृत्वमा पनि सफल

लिटिल एञ्जल्स स्कुलको सफल उडान गरिरहेका श्रेष्ठलाई बजारले हेर्ने दृष्टिकोण पृथक बनिसकेको थियो । उनले गर्न सक्छन् भन्ने विश्वास धेरैमा थियो । त्यही विश्वासमा उनले निजी विद्यालयहरुको संगठन (प्याब्सन) को नेतृत्व गर्ने अवसर पाए । प्याब्सनमा पनि उनी चुप लागेर बसेनन् । निजी विद्यालयहरुको सुधारमा उनी लागिरहे ।

देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । रणधीर सुब्बा आयोगले २०३९ सालमा प्लस टुको अवधारणा बनाइसकेको थियो । तर, लागू भएको थिएन । त्यो अवधारणा कार्यान्वयन गराउनका लागि श्रेष्ठले ठूलो मिहिनेत गर्नुप¥यो । उनी उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को पनि अध्यक्ष बने । तीन कार्यकाल सफलताका साथ सम्पन्न गरे । सरकारले प्लस टुको अवधारणा ल्याएपश्चात् प्याब्सनले कक्षा १० सम्म मात्र समेटेकोमा कक्षा ११ र १२ कक्षलाई समेत समेटिने गरी हिसान स्थापना आफ्नै पहलमा भएको उनी बताउँछन् ।

साढे चार दशकअघि स्थापना भएको लिटिल एञ्जल्स अहिले देशको गौरव गर्न लायक शैक्षिक संस्था बनेको छ । हजारौं विद्यार्थी यो संस्थाबाट पासआउट भएका छन् । अहिले लिटिल एञ्जल्स अन्तर्गत १० वटा शैक्षिक संस्था सञ्चालित छन् । १७ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ५ सय जना कर्मचारी कार्यरत छन् ।

‘प्याब्सन र हिसानलाई गति दिन ठूलो मिहिनेत गर्नुप¥यो, आज दुवै संस्था जति ठूलो बनेका छन्, त्यसमा मेरो पनि उत्तिकै योगदान छ, यी दुवै संस्थालाई हुर्काउन निकै कठीन भयो, अधिकांश लगानीकर्ताहरू भाग्ने अवस्था बन्यो, त्यो सकसको समयमा पनि ठाउँ-ठाउँमा पुगेर संस्था विस्तार गर्ने काम गरियो,’ उनी भन्छन्, ‘निकै पापड बेलेर शिक्षाको ज्योति फैलाइयो ।’

देशमा निजी विद्यालय सुरुवात गर्ने व्यक्तिमध्येमा आफू पनि रहेको श्रेष्ठको दाबी छ । पछिल्लो चार दशकमा देशको शिक्षा क्षेत्रमा ठूलो प्रगति भएको उनको बुझाइ छ । यद्यपि, अपेक्षाकृत काम भने अझै पनि हुन सकेको छैन । अपेक्षाकृत काम नहुनुको कारण सरकारको नीति र अस्थिर राजनीति रहेको उनको भनाइ छ ।

‘शिक्षामा तीन धार आवश्यक पर्छ, एउटा- स्कुल एजुकेसन, दोस्रो- टेक्निकल भोकेसनल र तेस्रो- उच्च शिक्षा । हामीले यी तीन धार बनाउनै सकेनौं, शिक्षा र स्वास्थ्यमा संसारभर नै पैसा छ । तर, हामीले यही क्षेत्रलाई वेवास्ता ग¥यौं,’ उनी भन्छन् ‘परिणामस्वरूप युवाहरू विदेसिन बाध्य भए ।’

वातावारण र प्राकृतिक सम्पदाका हिसाबले शिक्षामा नेपाल ठूलो हब हुन सक्ने विश्वास श्रेष्ठको छ । उनी स्थानीय तह, प्रदेश र संघीय सरकार मिलेर शिक्षामा लगानी गर्न र आकर्षित गराउन भूमिका खेल्नुपर्ने धारणा राख्छन् । युवालाई प्राविधिक शिक्षा सिकाई सीपयुक्त बनाएर स्वदेशमै रोजगार बन्न सक्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने उनको जोड छ ।

सय बढी कम्पनी, अर्बौंको सम्पत्ति

उमेश श्रेष्ठलाई चिनाउने भनेको शिक्षा क्षेत्र हो । लिटिल एञ्जल्सबाट सुरु भएको यात्रा अहिले एक सयभन्दा बढी कम्पनीमा लगानी गर्दै उनले व्यावसायिक सञ्चालनलाई व्यापक बनाएका छन् । अहिले उनले शिक्षासँगै स्वास्थ्य, होटल, जलविद्युत, कृषि र जडिबुटीमा पनि लगानी गरेका छन् । व्यवसाय गरेर उनले अर्बौं कमाइसकेका छन्, कमाउँदै छन् । तर, उनी आफूभन्दा पनि देशलाई धनी बनाउने यात्रामा रहेको बताउँछन् । पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला र बझाङसम्म उनले लगानी विस्तार गरेका छन् ।

श्रेष्ठले एक दर्जन शैक्षिक संस्था, एक दर्जन हाइड्रोपावर कम्पनी र एक दर्जन बढी कृषि कम्पनीहरूमार्फत् आफ्नो लगानी विस्तार गरिरहेको बताए । साथै उनले दुइटा वाणिज्य बैंक, चारवटा अस्पताल, आधा दर्जन होटलमा लगानी विस्तार गरेका छन् । ‘स्वास्थ्य क्षेत्रमा मैले सोंचजस्तो राम्रो गर्न सकिनँ, त्यस क्षेत्रमा मैले सफलता पाउन सकेको छैन, अरू सबै क्षेत्रमा राम्रो भइरहेको छ’ उनी बताउँछन् ।

श्रेष्ठले बझाङको सानीगाड हाइड्रो पावर, कालङ्गा हाइड्रो, बुङ्गल हाइड्रो, रामेछापको भिजन इनर्जी, म्याग्दीको माउन्टेन इनर्जी र पाँचथरको पाँचथर पावरलगायत एक दर्जन जलविद्युत कम्पनीमा लगानी गरेका छन् । उनी अब हाइड्रोबाट नै देशको विकास हुने र यो क्षेत्रमा धेरै सम्भावना रहेको सुनाउँछन् ।

‘देशलाई धनी बनाउनका लागि जलविद्युत आवश्यक छ । तर, यहाँ बनाउने वातावरण नै छैन, स्थानीयको अवरोध एकातिर छ भने ट्रान्समिसन लगायत सरकारको नीतिगत अवरोध अर्कै छ, अहिले ३५ सय मेगावाट विद्युत् मात्रै उत्पादन भइरहेको छ । बनाउनु पर्ने ३५ हजार मेगावाट हो,’ उनी भन्छन्, ‘सबैको सहकार्य भयो भने देशलाई जलविद्युतबाट नै माथि उठाउन सकिन्छ ।’

श्रेष्ठले अन्नपूर्ण स्क्वायर, सिद्धार्थ भिलासा वनवस, होटल सिद्धार्थ भिलासा, हिमालयन दृश्य रिसोर्ट, होटल सिराइचुली, होटल सेन्ट्रल पार्क र तनहुँको घाँसी हेल्थ रिसोर्ट लगायत होटलमा लगानी गरेका छन् । उनले पर्यटनमा पनि प्रचुर सम्भावना देखेका छन् । पर्यटनमा पनि नयाँ अध्ययन र अनुसन्धान नभएको सुनाउँछन् । अब यो क्षेत्रमा पनि विधागत पर्यटनका क्षेत्रहरू छुट्याएर काम गर्नुपर्ने धारणा उनको छ ।

‘हामी आयात गरेर खान्छौं तर देशमै भएको सम्भावना देख्दैनौं, व्यवसायी पनि कसरी छिटोभन्दा छिटो पैसा कमाउने भन्नेमा केन्द्रित छन्, व्यापारमै केन्द्रित छन् । देश बनाउने, राजस्व तिर्ने सुरसार छैन । अहिले ४० प्रतिशतभन्दा बढी ग्रे मार्केटबाट सामान आइरहेको छ, ‘उनी प्रश्न गर्छन्, ‘अनि कसरी बन्छ देश ?’

श्रेष्ठले पछिल्लो समय अस्पतालमा पनि लगानी विस्तार गरिरहेका छन् । सिल्भरलाइन अस्पताल बालाजु, पुष्पाञ्जलि अस्पताल चितवन, हेलोइस अस्पताल एकान्तकुना र महेन्द्रनारायणनिधि अस्पतालमा उनको लगानी छ । तर, अस्पतालको नतिजाप्रति भने उनी अझै पनि सन्तुष्ट छैनन् । आफूले अस्पताललाई सेवामूलक ढंगले अगाडि बढाउन नसकेको उनले गुनासो गरे । तर, उनले हार भने खाएका छैनन् ।

श्रेष्ठले लिटिल एञ्जल्स एजुकेसन ग्रुपअन्तर्गत ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल, लिटिल एन्जल्स कलेज अफ मेनेजमेन्ट, ललितपुरको झम्सिखेलस्थित आइडियल मोडेल स्कुल र चितवनको कल्याणपुरस्थित स्मल हेभन स्कुल र हात्तीवनमै रहेको मिलेनियम पब्लिकेसनमा लगानी गरेका छन् । उनी सरकारले पनि शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरेको तर्क गर्छन् ।

प्राइम कमर्सियल बैंक र प्रभु बैंकमा पनि श्रेष्ठको ठूलो लगानी छ । उनी ललितपुरको गोदावरीस्थित हिमालयन लोरा, अर्किड फार्म, संखुवासभाको सगरमाथा टी स्टेट, भोजपुरको डाँडा बोखिम नमुना कृषि तथा परामर्श केन्द्र र दोलखाको जिरी एकीकृत नमुना कृषि तथा परामर्श केन्द्र लगायत कम्पनीहरूमार्फत व्यवसाय विस्तार गर्नतर्फ लागिरहेका छन् । उनी चितवनको शुभकामना हाउजिङ एन्ड रियल इस्टेटका पनि अध्यक्ष हुन् । रामेछाप, खोटाङ, दोलखा, भोजपुर, धनकुटा, बझाङ, मुस्ताङ, जुम्ला, संखुवासभामा ठूलो परिमाणमा उनले कृषि गर्ने तयारीमा छन् । अधिकांश ठाउँमा कृषि सुरु भइसकेको छ ।

श्रेष्ठ कृषिमा ठूलो सम्भावना रहेको धारणा राख्छन् । त्यसैले आफू अहिले कृषिमा केन्द्रीत भएको उनी बताउँछन् । ‘नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण छ, स्रोतसाधन पर्याप्त छ, हामीले यसको प्रयोग गर्न जानेका छैनौं । रुखहरू नकाटेर मलेसियाबाट आयात गर्नुपर्ने अवस्था छ, नयाँ प्रविधिबाट रुख २० वर्षमै काट्न मिल्ने बनाउन सकिन्छ । पुराना रुखहरू काट्दै र नयाँ रोप्दै गयौं भने नेपाल वनजंगलबाटै धनी बन्न सक्छ, सही नीति र काम गर्ने आँट मात्रै हुनुपर्छ,’ उनी भन्छन्, ‘यहाँ काम गर्नेभन्दा पनि काम गर्नेको खुट्टा तान्ने प्रवृति बढी भएकोले अहिले समस्या भएको हो ।’

लिटिल एञ्जल्सबाट सुरु भएको श्रेष्ठको यात्रा अहिले सय बढी कम्पनीसम्म पुगेको छ । अहिले उनले शिक्षासँगै स्वास्थ्य, होटल, जलविद्युत, कृषि र जडिबुटीमा पनि लगानी गरेका छन् । उनले सय बढी कम्पनी खडा गरेर व्यवसाय गरिरहेका छन् । ती कम्पनीहरूबाट उनले अर्बौं कमाइसकेका छन्, कमाउँदै छन् । तर, उनी आफूभन्दा पनि देशलाई धनी बनाउने यात्रामा छन् । पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिको दार्चुला र बझाङसम्म उनले लगानी विस्तार गरेका छन् ।

श्रेष्ठ अबको केही वर्षमै मध्यपहाडी राजमार्गका क्षेत्रले काँचुली फेर्नेमा विश्वस्त छन् । गाउँघर रित्तिँदै गएको प्रसंगलाई जोड्नै उनी अबको २० वर्षमा गाउँघरहरू भरिने सम्भावना देखिरहेका छन् । ‘भोलिको दिनको लागि मैले अहिले संघर्ष गरिरहेको छु, गाउँघरमा ३५ हजार रुपैयाँमा एक रोपनी जग्गा पाइन्छ, त्यहीं कृषिकर्म गर्न सकिन्छ, सम्भावना त्यहीं छ,’ उनी भन्छन्, ‘मैले अधिकांश जिल्लाहरूमा जग्गा किनेको छु, मैले त्यहाँ ठूलो सम्भावना र अवसर देखेको छु ।’

सूचना प्रविधि, सोलार र हाइड्रोजनमा पनि उनले ठूलै सम्भावना देखिरहेका छन् । ‘मैले एक सय बढी कम्पनीमा लगानी गरिसकेको छु, म ५० वर्षपछिको अवस्था कस्तो हुन्छ भनेर अहिले नै सोच्छु, त्यही अनुसारको लगानी गर्छु, एउटा लगानीकर्ता दूरदर्शी बन्नुपर्छ,’ उनी भन्छन्, ‘अनुसन्धान पनि महत्वपूर्ण विषय हो ।’

जिल्ला-जिल्लामा जग्गा

अब कृषिमा क्रान्ति गर्ने उद्देश्यका साथ श्रेष्ठले व्यावसायिक रणनीतिहरू बनाइरहेका छन् । कृषियोग्य ठाउँ–ठाउँमा गएर किसानलाई भेटिरहेका छन् । अहिले पनि उनलाई घरमा भेट्न आउने कृषकहरूको भीड लाग्छ । कृषिको सम्भावना देखेका ठाउँमा सयौं÷हजारौं रोपनी जग्गा खरिद गरेका छन् । त्यो जग्गालाई विभिन्न व्यक्ति तथा कम्पनीको नाममा राखेका छन् ।

‘म जग्गाबाटै बनेको हुँ, देशभर धेरै जग्गा किनेको छु, काठमाडौंमै ५०० रोपनी जग्गा किनेको थिएँ । तर, अहिले हाइड्रोमा लगानी गर्नको लागि केही जग्गा बिक्री गरेँ, अझै पनि धेरै बाँकी छन्, सम्भावना भएको जिल्लामा अझै पनि जग्गा किनिरहेको छु, उनी भन्छन्, ‘अब कृषिमा नै क्रान्ति गर्ने हो ।’

सरकारी नीतिका कारण धेरै जग्गा किन्न पनि समस्या रहेको श्रेष्ठले सुनाए । ‘कतिवटा कम्पनी खोलेर कतिवटाको नाममा जग्गा राख्नु, त्यसैले केही जग्गा बिक्री गरेँ, काठमाडौंमा ३५ रोपनीभन्दा बढी जग्गा राख्यो भने हदबन्दी लागिहाल्छ, त्यसैले काठमाडौं बाहिर विभिन्न जिल्लाका विभिन्न ठाउँ-ठाउँमा १५ सयदेखि २ हजार रोपनीसम्म जग्गा किनेको छु,’ उनले भने ।

श्रेष्ठले टी स्टेट, कागती, स्याउ, किबी, जडिबुटीलगायत अन्य अन्नबालीका लागि विभिन्न जिल्लामा जग्गा खरिद गरेका छन् । ‘मैले हजारौं रोपनी जग्गा लिएको छु, यो भविष्य हो, मान्छेले देख्दैनन्, पहाडबाट बसाइँ सरेर सहरमा झर्छन्, अबको केही वर्षभित्र त्यहीं पहाड स्वर्ग बन्छ, त्यसपछि मान्छे फेरि गाउँ फर्किन्छन् ।’

श्रेष्ठले सम्वृद्धि खोजेका छन् । देशमा सबै धनी होऊन् भन्ने चाहन्छन् उनी । ‘म गाउँबाट आएको एउटा सामान्य व्यक्ति जसले एक्लै यति ठूलो परिवर्तन गर्न सक्छ भने सिंगो देशले चाह्यो भने किन हुँदैन ? नेताले चाह्यो भने नेपाल १० वर्षमा कायापलट हुन्छ, उनी दुखेसो पोख्दै भन्छन्, ‘यहाँ नेताहरू पनि इमान्दार भएनन्, खल्तीका नेता बने ।’ वार्षिक ३ खर्बको पुँजीगत बजेटले देशको विकास नुहनेमा उनी प्रष्ट छन् ।

राजनीतिमा पनि भाग्यमानी

व्यवसायमा सफल उद्यमीको छवि निर्माण गरेका श्रेष्ठ राजनीतिमा पनि उत्तिकै भाग्यमानी बने । उनी यसमा पूर्ण सन्तुष्ट छन् । राजनीतिमा प्रवेश गरेको छोटो अवधिमा उनले सांसददेखि मन्त्रीसम्म बन्ने अवसर पाए । अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको कोषाध्यक्षको रूपमा काम गरिरहेका छन् । नेपाली राजनीतिमा यो किसिमको ‘छक्का’ प्रहार गर्ने व्यक्ति सायदै होलान्, राजनीतिमा उनले नयाँ किसिमको ‘कोर्स क्रिएट’ गरे ।

श्रेष्ठ विसं २०७० सालमा संविधान सभा सदस्य बने भने २०७४ सालमा पनि समानुपातिक सांसद बने । उनी आर्थिक समिति, शिक्षा तथा स्वास्थ्य समिति, विभिन्न उपसमिति संयोजक र नेपाली कांग्रेसको लेखा समिति संयोजक बनिसकेका छन् ।

‘नेपाली कांग्रेसमा लागेको १२ वर्ष भयो, अहिलेसम्म जति पाएँ, यसमा सन्तुष्ट छु, अब योभन्दा माथिल्लो तहमा जाने कुनै महत्वाकांक्षा पनि छैन, बरु अरूलाई सहयोग गर्छु, अब देश कसरी बनाउने ? उद्योग कसरी चलाउने ? शिक्षामा कसरी लगानी बढाउने भन्ने गरी काम गर्छु, उनले भने, ‘यसमा पार्टी नेतृत्वको पनि साथ छ ।’

सुरुमा पार्टीका नेता कार्यकर्ताले आफ्नो आलोचना गरेपनि अहिले सबैले आफूप्रति विश्वास गर्ने श्रेष्ठको भनाइ छ । ‘अहिले सबै मप्रति सकारात्मक पनि हुनुहुन्छ, सुरुसुरुमा पार्टीमा मलाई हेर्नै चाहँदैनथे, सबैले यसको मान्छे उसको मान्छे भन्थे । तर, अहिले पार्टीमा चिनीजस्तै घुलित भएर गएको छु,’ उनले भने, ‘सबैको मान्छे भएर काम गरिरहेको छु ।’

श्रेष्ठ राजनीतिलाई पेसा बनाउन नहुने तर्क राख्छन् । ‘सुरु गरेदेखि नमरुन्जेलसम्म राजनीति गर्नुहुँदैन, राजनीति भनेको विकास र सम्वृद्धि लागि गर्ने हो,’ उनी भन्छन्, ‘जब राजनीति गर्नेले यसलाई पेसा ठान्छ, देशको विकास हुनै सक्दैन ।’

जहाँ जोखिम, त्यहीं लगानी

श्रेष्ठको लगानीको आफ्नै रणनीति र मन्त्र छ । उनी सुरक्षित ठाउँमा लगानी गर्दैनन् । जहाँ जोखिम देख्छन्, जहाँ अन्यले लगानी गर्ने आँट गरेका छैनन्, त्यहीं लगानी गर्छन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयमा धेरै व्यवसायी सुस्त बने । थप लगानी विस्तार गर्ने र नयाँ व्यवसाय थाल्ने आँट कसैले गरेनन् । तर, उनले त्यही समयमा अस्पतालमा लगानी गरे, कृषिमा लगानी गर्न अग्रसर भए ।

‘मैले जहाँ जोखिम देख्छु, त्यहीं लगानी गर्छु, जीवनमा जोखिम नलिए अवसर हुँदैन, अहिले मान्छेहरूमा निराशा छ, बैंकमा पैसा थुप्रिएको छ, यही बेला लगानी गर्ने जोखिम लिन सक्नुपर्छ,’ उनले भने ।

श्रेष्ठले शिक्षामा ठूलो सम्भावना भएपनि निजी क्षेत्रले यसमा प्रवेश गर्ने आँट नगरेकोमा गुनासो गर्छन् । ‘मैले एउटै कम्प्लेक्सभित्र तीनवटा स्कुल बनाउँदै छु, जहाँ गरिब, मध्यम वर्ग र उच्च वर्गको विद्यार्थीले एउटै सुविधा पाएर पढ्न सक्छन् । गरिबले पनि म कहाँ आएर न्यून शुल्कमा शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्छु । मैले अन्य व्यवसायबाट कमाएको पैसा त्यहीं लगानी गर्छु,’ उनले आफ्नो आगामी योजना सुनाए ।

नेपालमा राम्रो काम गरिरहेकाहरूलाई पनि नराम्रो काम गर्नेको बास्केटमा राख्ने प्रवृतिले समस्या सिर्जना गरिरहेको श्रेष्ठले सुनाए । ‘म देश बनाउने मान्छे परेँ । देश बनोस् भन्ने भावनाका साथ काम गरिरहेको छु, मेरो नेपाल बाहेक जाने ठाउँ छैन । मैले नेपालमै खुट्टा टेकेको छु । तर, अरू उद्योगी व्यवसायी नेपालमा पनि खुट्टा राख्छन् र सिंगापुर, दुवई भारत र अमेरिका लगायतका देशहरूमा पनि लगानी गर्छन्, जति मैले पैसा कमाएको छु, म यही देशमा खर्च गर्छु,’ उनले दृढताका साथ भने ।

श्रेष्ठ देश बन्छ भन्नेमा आशावादी छन् । व्यक्तिगत स्वार्थभन्दा देशको स्वार्थमा आफू लागिरहेको उनको भनाइ छ । उनले अब आफ्नो आमा लीलादेवी श्रेष्ठ र स्व. बुबा बद्रीप्रसाद श्रेष्ठको नाममा पनि ट्रष्ट खोल्ने तयारी गरेका छन् । आफ्नो सम्पत्तिको ५० प्रतिशत त्यहीं राख्ने उनको योजना छ ।

‘म खाली खुट्टा आएको, खाली खुट्टा जान तयार छु, एउटा राम्रो फाउन्डेसन खोल्छु, त्यो फाउन्डेसनले काम गर्छ । अहिले पनि बिहान ५ बजे उठेर काम गर्छु, राति १० बजेसम्म काम गरिरहेको हुन्छु । अनुशासित ढंगले सबैले काम गर्यो भने देश बन्छ, देश बनेपछि सबै धनी हुन्छन्,’ उनी भन्छन्, ‘सबैले साँच्चिकै देशको लागि काम गर्यो भने १० वर्षमा नेपाल कायापलट बन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.