२०८१ पुष २८ गते २०:३० विकासन्युज
काठमाडौं । साविकको पुरानो वसपार्कमा निर्माणाधिन काठमाडौं भ्युटावरको नक्सा काठमाडौं महानगरपालिकाले निष्क्रिय बनाएको छ । महानगरले आइतबार एक सूचना जारी गर्दै काठमाडौ भ्युटावर भवनको नक्सा पासको छानविन समितिले काम गरिरहेकोले समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको जनाएको हो ।
महानगरले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि. बिच मिति २०७१/११/२२ मा काठमाडौं महानगरपालिका वडा नं. २८ पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रा.लि. बाट निर्माण हुदै गरेको काठमाडौ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानविन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानविन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।’
महानगरको यस निर्णयसँगै भ्यूटावर निर्माणकर्ताको लगानी डुब्ने जोखिम बढेको छ । यसको मुख्य लगानीकर्ता मनोज कुमार भेटवाल हुन् । उनले आन्तरिक कागज गराएर सयौं मानिससँग करोडौं रुपैयाँ लिएको र लगानी गरेको जानकारहरु बताउँछन् । यस भवन निर्माणमा संलग्न धेरै कामदार, निर्माण सामाग्री विक्रेताले पनि पैसा नपाएर प्रहरीमा उजुरी दिएका छन् ।
यस परियोजना निर्माणका क्रममा कयौंले भुक्तानी स्वरुप चेक पाएका छन् तर भुक्तानी पाएका छैनन् । यस भवनमा अहिलेसम्म कुनै पनि बैंकले कर्जा लगानी गरेका छैनन् ।साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ ।
यसअघि १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको थियो । उक्त टावर वि.सं २०७२ को भूकम्पअघि बढीमा २९ तला बनाउने गरी कम्पनीसँग सम्झौता भएको थियो । तर भूकम्प पछि १२ तला मात्र बनाउन महानगरले निर्देशन दिएको थियो । पुल्चोक इन्जिनियरिङ कलेजको प्रतिवेदनले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउन सकिने सुझाव दिएका कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले गत जेठमा विकासन्युजलाई जानकारी दिएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.