सुविधासम्पन्न निजी अस्पतालभन्दा सरकारी पेइङ क्लिनिक महँगा, मनपरि शुल्क

  २०८१ पुष २९ गते १२:४३     इन्द्रसरा खड्का

काठमाडौं । काठमाडौं कपनकी कृशा विश्वकर्मा गत शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगिन् । छोरीको अनुहारमा धब्बाजस्तो दाग बस्दा उनी उपचारको लागि  अस्पताल पुगिन् । 

अस्पताल पुग्दा दिउँसोको  १ बजिसकेको थियो । सरकारी अस्पतालमा १ बजे टिकट काउन्टर बन्द भइसक्छ । उनले काउन्टर नजिकै रहेको सहायता कक्षमा सोधिन् । त्यहाँ सोधिसकेपछि उनले थाहा पाइन् कि सरकारी काउन्टरको टिकट बन्द भएपनि विस्तारित अस्पताल सेवा (ईएचएस)बाट टिकट पाइन्छ । उनी सिधै त्यहाँ गइन् । तर, त्यहाँ टिकटकै शुल्क थियो ८ सय ५० रूपैयाँ ।

यति धेरै महँगोमा टिकट काट्ने कि नकाट्ने ? कृशा एकैछिन अलमलमा परिन् । त्यसपछि उनले त्यही टिकट लिइन् । ‘अस्पताल पुगेर फर्कनुभन्दा महँगो भएपनि जाँच गरेर फर्किउँ भन्ने भयो,’ अस्पतालमा भेटिएकी कृशा भन्छिन्,‘ सरकारी अस्पतालमा पनि निजी अस्पतालभन्दा महँगो शुल्क हुँदो रहेछ मलाई थाहा थिएन, अब टिकट काटिसकेँ, डाक्टरलाई देखाएरै घर फर्किनु पर्ला ।’

बाजुराका समीप बोहरा अहिले १८ वर्षका भए । उनलाई मनोपरामर्शसँगै उपचारका लागि उनका दाजु नाता पर्ने डम्बर बोहरा टिचिङ अस्पताल लिएर आए । उनले पनि अस्पतालको काउन्टर बन्द हुँदा ८ सय ५० रूपैयाँमै टिकट काटे । उनी सरकारी अस्पतालको नाममा खोलिएका यस्ता पेइङ क्लिनक पैसा कमाउने बाटोको रूपमा सञ्चालनमा ल्याएको बताउँछन् ।

‘हामी सरकारी अस्पताल भनेर आउँछौं, यहाँ काउन्टर छिट्टै बन्द हुने रहेछन्,’ उनी भन्छन्, ‘उता काउन्टर बन्द गरेर बिरामीलाई यताको काउन्टर देखाउँछन्, टाढाबाट आएका हामी फर्केर जानुभन्दा महँगो भएपनि यहीँ टिकट काट्न बाध्य हुन्छौं ।’ 

ओखलढुङ्गाका शिव शर्माले सरकारी अस्पतालले शुक्रबार १ बजे र अन्य दिन ४ बजे नै टिकट बन्द गरेर सर्वसाधारणबाट चर्को शुल्क लिइरहेको बताए । ‘टाढाबाट आउनुपर्छ, जसरी भएपनि उपचार गराएरै जाऊँ भन्ने हुन्छ । तर, अस्पतालमा भने ४ नबज्दै काउण्टरको ढोका बन्द हुन्छ,’ उनी भन्छन्, ‘सरकारी अस्पताल भन्नु मात्र हो, के-के जाँच गर्न लगाई दोब्बर बढी शुल्क असुल गर्छन् ।’ 

सरकारले सञ्चालनमा ल्याएका सरकारी र अर्ध-सरकारी अधिकांश अस्पतालमा पेइङ क्लिनिक राखेको छ ।  पेइङ क्लिनिक भनेको त्यस्तो स्वास्थ्य केन्द्र सेवा हो, जहाँ बिरामीहरूले डाक्टर भेट्न लाइनमा बसिरहनु पर्दैन । टिकट काट्नेबित्तिकै उसले डाक्टरसँग भेट्न र सल्लाह लिन सक्छ । तर, यसरी छिटो र सुलभ उपचारको लागि भने बिरामीले छुट्टै शुल्क तिर्नुपर्छ ।

सरकारी अस्पतालले सञ्चालनमा ल्याएका यस्ता पेइङ अस्पतालका अनुसार टिकट मूल्य फरक-फरक छ । यहाँ प्राध्यापक डाक्टरलाई भेट्न ८ सय ५०, सह-प्राध्यापक डाक्टरका लागि ७ सय ५० र अन्य डाको लागि ६ सय ५० शुल्क तोकिएको छ । क्लिनिकका एक कर्मचारीका अनुसार टिकटको मात्र होइन, अन्य उपचार खर्च पनि महँगो छ ।

उनी भन्छन्, ‘सामान्यमा शुल्क सय रुपैयाँ छ भने यहाँ चिकित्सकअनुसार मूल्य फरक छ, अन्य उपचारमा पनि सामान्यभन्दा ३५ देखि ४० प्रतिशत उपचार महँगो छ ।’

शुक्रबार दिनेको १ बजे पछि र अन्य दिन ४ बजेपछि सुरु हुने क्लिनिकमा दैनिक डेढ सय बढीले सेवा लिइरहेको अस्पतालले दाबी गरेको छ । 

टिचिङमा मात्र होइन, अन्य अस्पतालमा पनि शुल्क फरक-फरक छ । कतिपय अस्पतालका पेइङ क्लिनिकको शुल्क भने ठूला निजी अस्पतालको भन्दा पनि निकै महँगो रहेको पाइएको छ । उपत्यकामा रहेका निजी र नाम चलेका ठूला अस्पताल ग्राण्डी इन्टरनेसनल अस्पताल, ह्याम्स अस्पतालको भन्दा महँगो टिचिङ अस्पतालले सञ्चालनमा ल्याएको पेइङ क्लिनिकको टिकट छ ।

काठमाडौंको ग्राडी इन्टरनेसनल अस्पतालको टिकट शुल्क ८ सय २५ रुपैयाँ छ । यस्तै, नाम चलेको ठूलो अस्पताल ह्याम्सको शुल्क ८ सय रुपैयाँ छ भने ओम अस्पतालमा ७ सय रुपैयाँ शुल्क तोकिएको छ ।

गर्भवतीका लागि ६ सय शुल्क

सिन्धुलीकी सविना कार्कीको महिनावारी रोकिएको तीन महिना भयो । रगत देखापर्ने र पेट दुख्न थालेपछि उनी शुक्रबार पाटन अस्पताल पुगिन् । दिउँसो काममा गएकी उनी गाह्रो भएपछि अस्पताल पुगिन् । उनी अस्पताल पुग्दा ३ बज्न लागिसकेको थियो । त्यहाँ पनि टिकट काउन्टर बन्द भइसकेको थियो ।

अस्पताल पुगिसकेकी उनलाई पनि जाँच नगराइ घर जान मन लागेन । उनी अस्पताल भित्रै रहेको पाटन प्राइभेट क्लिनिकमा पुगिन् । अस्पतालमा ७० रुपैयाँ पर्ने टिकटलाई प्राइभेटमा ६ सय रुपैयाँ लाग्यो ।

टिकट काउण्टरमा भेटिएकी उनी भन्छिन्, ‘सस्तो हुन्छ भन्ने लागेर यो अस्पताल आएँ, यहाँ त सरकारी अस्पतालभित्र पनि प्राइभेट हुँदो रहेछ, मलाई थाहा थिएन  । ६ सय रुपैयाँ धेरै महँगो भयो ।’

पाटन अस्पतालको प्राइभेट क्लिनिकमा गर्भवती महिलाको जाँचका लागि ६ सय र अन्य जाँचका लागि ५ सय रुपैयाँ शुल्क लिने गरेको छ । जनरलतर्फ दैनिक १ हजार बढी बिरामी आउँदा अस्पतालभित्रै रहेको पेइङ क्लिनिकमा भने दैनिक तीन सय बढीले सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी डा. रवि शाक्य बताउँछन् । उनका अनुसार शुल्क केही महँगो भएपनि सेवाग्राहीको सहजताकै लागि यो व्यवस्था सुरु गरेकोगरिएकाे हाे ।

थापाथली अस्पतालमा पनि दिउँसो तीन बजेपछि सञ्चालनमा आउने क्लिनिक शुल्क महँगो छ । यहाँ पनि ५ सय रुपैयाँ शुल्क तोकिएको छ जबकि अस्पतालमा लाइनमा बस्नेले ४० रुपैयाँमा टिकट पाउँछन् ।

महँगो भएकाे सेवाग्राहीकाे गुनासो

सरकारी अस्पतालमा उपचार सस्तो हुने आशामा नागरिक सरकारी अस्पतालमा पुग्छन् । तर, त्यहाँ समयमा उपचार नपाउनुको समस्या एकातिर छ भने अर्कोतिर दिनभरि लाइनमा बसेर फर्कनुपर्ने बाध्यता छ ।

यस्तो अवस्थामा महँगै भएपनि सेवाग्राही पेइङ क्लिनकमा पुग्छन् । तर, त्यहाँ ठूला निजी अस्पतालको भन्दा चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ । ओखलढुङ्गाका शिव शर्मा नागरिकलाई पनि महँगो नपर्ने, क्लिनिकलाई पनि घाटा नहुने हिसाबले शुल्क निर्धाण गर्नुपर्ने बताउँछन् । पेइङ क्लिनिकमा गइ सेवा लिने अधिकांशले शुल्क महँगो भएको गुनासो गरेका छन् ।

छिटो सेवा लिने यो सेवा सहज भएपनि टिकटदेखि अन्य उपचार सेवा निकै महँगो भएको गुनासो गरेका छन् । यता अस्पतालले भने सरकाले तोके बमोजिमकै शुल्क लिएको दाबी गरेको छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सामारिका दाहाल भन्छिन्, ‘हामीले मनलाग्दी शुल्क लिएका छैनौं, कुन तहका चिकित्सकले कति शुल्क लिने भन्ने स्पष्ट प्रावधान छ, हामीले कानुनमै टेकेर शुल्क लिइरहेका छौं ।’

यहाँबाट लिएको शुल्क चिकित्सकले नलिने बताउँदै उनी यो पैसा पनि अस्पतालकै नाममा जाने बताउँछिन् । क्लिनकमा केही महँगो भएको स्वीकार्दै थप्छिन्, ‘हामीले बढी शुल्क लिएर पैसा लिँदैनौं, यहाँ पनि चिकित्सक, डाक्टरदेखि विभिन्न कर्मचारी छन् र यो रकम अस्पतालककै नाममा जान्छ ।’ 

सरकारी अस्पताल र पेइङ क्लिनिकमा उपचार गर्ने चिकित्सक एउटै हुन् । उनीहरूले यताको ड्युटी सकेर पेइङमा आएका बिरामीको उपचार गर्छन् । अस्पतालभित्रकै चिकित्सक र नर्सहरूको टोलीले ओभर टाइम गरेर क्लिनकमा आएका बिरामीको हेरचाह गर्ने गर्छन् । 

मन्त्रालयमा पनि गुनासाे 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो विषयमा नागरिकको गुनासो व्यापक आइहेको बताएको छ । मन्त्रालयका सूचना अधिकारी डा.भक्तबहादुर केसी जथाभावी शुल्क लिन नमिल्ने बताउँदै मन्त्रालयले शुल्क निर्धारणको गर्ने कार्ययोजना बनाइरहेको बताए ।

‘यो विषय मन्त्रालयमा धेरै पटक आइसकेको छ, हामीसँग पनि नागरिकले गुनासो गरिरहेका छन्,’ उनी भन्छन्, ‘अब मन्त्रालयले यो विषयमा शुल्क निर्धाण गर्ने योजना बनाइरहेको छ । कुनै पनि सरकारी अस्पतालले सञ्चालनमा ल्याएको पेइङ क्लिनिकले मनपरी शुल्क लिन पाउँदैनन् ।’ 

स्वास्थ्यमन्त्रीका वाचा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडलले नागरिकले सुलभ तरिकाले नागरिकले सेवा पाउनुपर्ने भन्दै जोडदार बहस गरिरहेका छन् । उनले मन्त्रीको रूपमा शपथ खाइसकेपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि लागिपरेका छन् ।

तर, उनले गरेका कुनै पनि निर्णय अहिलेसम्म लागू भने हुन सकेका छैनन् । उनले सबै सरकारी अस्पतालमा नागरिकले लाइनमा बस्न नपर्ने गरी काम गर्ने बताएपनि अहिले पनि अस्पतालको अवस्था उस्तै छ ।

सार्वजनिक बिदाको दिनमा समेत सरकारी अस्पतालले सेवा दिनुपर्ने बताइरहेको सरकारले भनेको कुरा व्यवहारमा लागू गर्न भने सकिइरहेको छैन । उसो त यो विषयमा स्वास्थ्यमन्त्री पौडेलले पनि जनगुनासाे सुनेका छन् । उनले सरकारी अस्पतालभित्र रहेका पेइङ क्लिनिकले सेवाग्रहाीलाई सहज भएपनि शुल्क चर्को लिन नमिल्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.