२०८१ पुष २९ गते ९:३६ विकासन्युज
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंमा आइतबार सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै बैठकले लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अुनसार एनसीएचएलको चुक्ता पूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ बराबरको हुनेछ भने अधिकृत पूँजी वृद्धि गरी २ अर्ब २५ करोड पुर्याउन स्वीकृत गरेको छ ।
कम्पनीले पूँजी वृद्धि मार्फत नेसनल पेमेन्ट स्वीच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ ।
आव २०८०/८१ मा कम्पनीबाट फर्छ्योट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएको उल्लेख छ । जसबाट कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ । सोही आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणाली मार्फत कुल १५६ खर्ब बराबरको १२ करोड ६ लाख भुक्तानी कारोबार राफसाफ भएको जनाइएको छ ।
बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू निर्विरोध चयन गरेको छ । वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंक लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंक लिमिटेडका प्रमुख सूचना प्रविधि सृजन मल्ल छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.