२०८१ पुष २९ गते ११:०० विकासन्युज
काठमाडौं । सञ्चालनमा आएको एक वर्षमै लुम्बिनी केबलकारले करिब साढे १३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । केबलकारले सन् २०२४ मा १३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।
लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको केबलकार गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको थियो । यो केबलकार परियोजनाको स्टेशन पाल्लामा पर्दछ । केबलकार परियोजना सञ्चालनमा आइसके पनि होटल भने सञ्चालनमा आउन सकेको छैन । अहिले होटलको डिजाइनको काम भइरहेको छ ।
केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काइवाक, जीपलाइन निर्माणको क्रममा छन् । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
यस कम्पनीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, रमेश शर्मा र हेमराज ढकालको लगानी छ । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भएको थियो । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याइरहेको छ ।
मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने कम्पनीको भनाइ छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा केबलकार बनाउने योजनाअनुरूप काम गरिरहेका छन् ।
केबलकारले एक अर्ब ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले एलबी प्लस रेटिङ पाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.