२०८१ पुष २९ गते १३:५३ विकासन्युज
काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले हालैको एक पोडकास्ट अन्तर्वार्तामा एप्पलको आलोचना गरेका छन् ।
उनले एप्पलमा नवप्रवर्तनको अभाव भएकाे र मनपरी नियमको आलोचना गरे ।
‘एकातिर आइफोन उत्कृष्ट भएको छ, किनकि अब संसारमा लगभग सबैसँग फोन छ र त्यसले धेरै अद्भूत चीजहरूलाई सक्षम बनाउँछ,’ जुकरबर्गले ‘जो रोगन एक्सपेरियन्स’ को एक एपिसोडमा भनेका छन्, ‘तर अर्कोतर्फ … तिनीहरूले त्यो प्लेटफर्म प्रयोग गरेर धेरै नियम राखेका छन् जुन मलाई मनोमानी लाग्छ ।’
‘मलाई लाग्छ कि एप्पलले केही समयदेखि केही महान आविष्कार गरेकाे छैन । यो स्टिभ जब्सले आइफोन आविष्कार गरेजस्तै हो र अहिले २० वर्षपछि पनि कम्पनी त्यसैगरी बसिरहेकाे छ,’उनले थपे ।
जुकरबर्गले आइफोनले बिक्री संघर्ष गरिरहेको आफूले सोचिरहेको बताए । उनका अनुसार उपभोक्ताहरूले आफ्नो फोन अपग्रेड गर्न धेरै समय लिइरहेका छन् किनभने नयाँ मोडलहरू अघिल्ला मोडलभन्दा खासै सुधार भएका छैनन् ।
जुकरबर्गले एप्पलको ३० प्रतिशत डेभलपर शुल्क र तेस्रो पक्ष उपकरणहरूको सीमित पहुँचको पनि आलोचना गरे ।
उनले भने, ‘उनीहरूले एयरपड्सजस्ता उत्पादनहरू बनाउँछन्, जुन राम्रो छ तर अरू कसैलाई पनि आइफोनसँग सजिलै जडान गर्नसक्ने उपकरण बनाउन पूर्ण रूपमा रोक लगाएका छन् ।’
एप्पलले उपभोक्ताको गोपनीयता र सुरक्षालाई कारण देखाएर आफ्नो नीति बचाऊ गर्ने गरेकोमा जुकरबर्गले भने, ‘यो असुरक्षित छ किनभने तपाईंहरूले यसमा कुनै सुरक्षा निर्माण गर्नुभएको छैन ।’
उनले एप्पलको ‘मनपरी नियमहरू’ हटाइए मेटाको नाफा दोब्बर हुन सक्ने दाबी पनि गरे ।
एप्पलको भिजन प्रो हेडसेटको आलोचना गर्दै उनले भने, ‘एप्पलले ३ हजार ५०० डलरमा यस्तो केही पठाए जुन हामीले ३०० वा ४०० मा पठाएको भन्दा खराब छ ।’
भिजन प्रो हेडसेटको बिक्री अमेरिकामा निराशाजनक थियो । मेटाले मेटा क्वेस्ट भनिने आफ्नै भर्चुअल हेडसेटहरू बेच्दै आइरहेको छ।
जुकरबर्गको यो टिप्पणीले एप्पल र मेटाबीचको प्रतिस्पर्धालाई थप उजागर गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.