२०८१ माघ १ गते ११:१९ विकासन्युज
काठमाडौं । देशमा बनेका नागढुंगा-सिस्नेखोला र सुनकोशी-मरिण डाइभर्सनको सुरुङ छिचोलिएसँगै अबको पालो सिद्धबाबा सुरुङमार्गको हो ।
पश्चिम नेपालको प्रमुख सहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको सुरुङ ब्रेकथ्रुले पूर्वाधारको क्षेत्रमा आशाको किरण जगाएको छ । सुरुङमार्ग खन्ने काम अन्तिम चरणमा पुगेको छ । पहाडलाई तराईसँग सिद्धबाबा जोड्नेछ ।
पाल्पाको सिद्धार्थ राजमार्गमा पर्ने उक्त सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेकथ्रु (दायाँबायाँ छेडेर जोड्ने काम) माघ ८ गते हुने सिद्धबाबा सुरुङ आयोजनाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूजाआजा गरी माघ ८ गतेका दिन यो सुरुङमार्ग अन्तर्गतको मुख्य टनेलको अन्तिम ब्रेकथ्रु गर्ने कार्यक्रम तय भएको छ ।
माघ २ गते अन्तिम ब्रेकथ्रु गर्ने भनिएको थियो । तर प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण माघ ८ मा ब्रेकथ्रु गर्न लागिएको हो ।
सिद्धबाबा सुरुङ आयोजनाका अनुसार निर्माण थालेको ११ महिनाभित्रै ‘टनेल’ को ब्रेकथ्रु गर्ने तयारी छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार त्यो दिन ब्लास्टिङ र ड्रिलिङ (एनएटीएम) प्रविधिमार्फत मुख्य टनेलमा खन्न बाँकी रहेको करिब २ मिटरको दूरी ब्रेकथ्रु गरी छिचोल्ने कार्यक्रम छ।
गत वर्ष माघ ४ गतेबाट मुख्य सुरुङ खन्न थालिएको थियो । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा मन्दिरनजिकै बन्दै गरेको बहुचर्चित सुरुङ छिचोलिन अब जम्मा ६० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
‘माघ ८ गते प्रधानमन्त्रीज्यूबाट अन्तिम ब्रेकथ्रु गर्ने कार्यक्रम तय भएको छ,’ आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले भने,‘अहिले हामी त्यहीं कार्यक्रमको लागि पूर्वतयारीमा जुटेका छौं ।’
सिद्धबाबा क्षेत्रमा सुक्खा र वर्षात सिजनमा ढुंगासहितको ठूला पहिरो गएर सवारीसाधनका साथै जनधनमा ठूलो क्षति गर्दै आएकाले सरकारले दीर्घकालीन रूपमा उक्त समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गरिएको हो ।
पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा सुरुङमार्ग निर्माण भएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.