२०८१ माघ १ गते १७:५१ विकासन्युज
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका छन् ।
लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गरिन् ।
प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जातजाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उल्लेख गरिन् ।
उनले महानगरपालिकाले आदिवासीमा सूचीकृत गर्न ऐन कानुन हेरेर यहाँको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने धारणा राखिन् ।
घले समाजका केन्द्रीय अध्यक्ष दिनेश कुमार घलेले पहिचानको मुद्धालाई अझ शसक्त बनाउनुपर्ने उल्लेख गरे ।
नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरू सूचीकृत हुने क्रममा घलेहरूलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दावी छ ।
घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरू गुरुङ नभएको अध्यक्ष घलेले बताए। घलेहरूको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ ।
नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो ।
०६८ सालको जनगणना अनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन ।
माघ १ गतेलाई थारु,मगर र हिन्दू समुदायको पर्वका रूपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरूको माग छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.