२०८१ माघ ३ गते १६:०१ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पौष महिनामा घरजग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ ।घरजग्गाको कारोबार उल्लेख्य रूपमा वृद्धि नभए पनि त्यसबाट संकलन हुने राजस्व भने ह्वात्तै बढेको हो ।
चालु आवको पौष महिनामा घरजग्गा क्षेत्रबाट ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत आवको पौष महिनाको तुलनामा यो ३२.६६ प्रतिशतले बढी हो । विभागका अनुसार गत आवको पौष महिनाा ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।
चालु आवको पौष महिनामा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ६८ करोड ७८ लाख र पुँजीगत लाभकर १ अर्ब ६० करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको पौष महिनामा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब १२ करोड १२ लाख र पुँजीगत लाभकर १ अर्ब १० करोड ९ लाख रुपैयाँ राजस्वमा योगदान भएको थियो ।
कारोबार झिनो वृद्धि
राजस्वमा भएको वृद्धिको तुलनामा घरजग्गाको कारोबारमा भने झिनो वृद्धि देखिएको छ । गत वर्षको तुलनामा चालु आवको पौष महिनामा घरजग्गाको कारोबार २.८१ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
चालु आवको पोषमा घरजग्गासम्बन्धी १ लाख ४० हजार ६२१ वटा कारोबार भएको छ । जसमध्ये ४८ हजार १५६ वटा लिखत पारित भएको छ । गत वर्षको पौष महिनामा १ लाख ३६ हजार ७७० वटा कारोबार हुँदा ४५ हजार २७५ वटा लिखत पारित भएको विभागको तथ्यांकले देखाउँछ ।
कित्ताकाट घट्यो
यस वर्षको पौषमा गत वर्षको सोही अवधिको तुलनामा जग्गाको कित्ताकाट सामान्य घटेको देखिन्छ । गत वर्षको पौष महिनाा ५२ हजार २१० वटा कित्ताहरू कित्ताकाट भएर १ लाख १९ हजार २७६ वटा कित्तामा परिणत गरिएको थियो । चालु आवको पौष महिनामा ५२ हजार १०८ वटा कित्ताहरू कित्ताकाट गरेर १ लाख १५ हजार १३४ वटा कित्तामा परिणत गरिएको छ ।
राजस्व बढ्नुको कारण
व्यवसायीहरूले खरिद मूल्यलाई नै थैली राखेर किनबेच गर्दा घरजग्गाको कारोबार नबढेपनि राजस्वमा वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले व्यवसायीहरूले सरकारी मूल्यभन्दा खरिद मूल्य नै राखेर घरजग्गा पास गरेकाले राजस्वमा उछाल आएको बताए ।
जग्गाको कारोबारमा खासै सुधार नआएपनि यसबाट हुने राजस्व संकलन ह्वात्तै बढ्नुको कारण बताउँदै उनले भने, ‘व्यवसायीहरूले सरकारी मूल्य नराखी किनबेच भएको मूल्य थैलीमा राख्दा राजस्वमा सुधार देखिएको हो ।’
यस्तै, अध्यक्ष घिमिरेले वास्तविक थैलीमा किनबेच गर्नुपर्ने माग महासंघको रहेको बताउँदै यसो गर्दा राजस्व अझै बढ्ने दाबी गरे । उनले भने, ‘हामीले वास्तविक थैलीमा नै किनबेच गर्नुपर्छ भनेर पटक पटक भन्दै आएका छौं । यसले गर्दा राजस्वमा पनि वृद्धि हुन्छ ।’
यसका साथै उनले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले घरजग्गा कारोबारलाई चलायमान हुन मद्दत पुग्ने बताए । अध्यादेशअनुसार हदबन्दी छुट भएको खण्डमा व्यवसायीहरूले धेरैवटा कम्पनी खोलिरहनु नपर्ने र धेरै कम्पनीको नाममा जग्गाहरू राख्नु नपर्ने अवस्था सृजना हुने उनले बताए ।
यसो हुँदा व्यवसायीहरूको खर्च पनि कम हुने, काम गर्न सजिलो हुने र एउटै कम्पनीबाट कारोबार गरिरहँदा कम्पनीको कारोबार परिणाम पनि वृद्धि हुने गर्दछ । यसले गर्दा बैंकले पनि विश्वास गर्ने र ऋण लिन पनि सजिलो हुने उनको भनाइ छ ।
तर, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सुधार गर्नुपर्ने व्यवस्थाहरू नसुधारेसम्म घरजग्गाको कारोबार उल्लेखनीय रूपमा सुधार नदेखिने अध्यक्ष घिमिरेको दाबी छ ।
उनले घरजग्गाको कारोबार सुधारका लागि राष्ट्र बैंकले कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने, अनुमति प्राप्त रियल स्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने, रियल स्टेट कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनालगायत व्यवस्था कायम गर्नुपर्ने बताए । यसले गर्दा घरजग्गाको कारोबरमा उछाल आउने उनको दाबी छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.