२०८१ माघ ३ गते १७:१९ विकासन्युज
काठमाडौं । लामो समयदेखि खानेपानीको समस्या भोगिरहेको वीर अस्पताल यो समस्याबाट मुक्त भएको छ । २०७२ सालमा गएको भूकम्पले अस्पतालमा भएको खानेपानीको लाइन तहसनहस हुँदा अस्पतालमा खानेपानीको समस्या भएको थियो ।
अस्पतालले टेन्डर आह्वान गरी ट्याङ्करबाट पानीको व्यवस्थापन गर्दै आएकोमा अब सहज हुने भएको वीर अस्पतालले जनाएको छ । पानीकै लागि अस्पतालले मासिक १० लाख खर्च गर्नुपर्ने बाध्यता थियो । काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) ले अस्पतालमा जोडिदिएको धारा भूकम्पले तहसनहस बनाएको थियो ।
पानी नहुँदा अस्पतालले बोरिङ खनेर पानी निकालेको थियो । त्यो पानी पनि पर्याप्त नहुँदा अस्पतालले पानीको समस्या भोगिरहनुपरेको थियो । ‘अहिले बनेको सजिर्कल बिल्डिङ पुरानो थियो, भत्काएर नयाँ बनायौं । पानीको पाइप लाइन कहाँ छ के छ भन्ने अस्त व्यस्त अवस्था थियो,’ अस्पतालको खरिद इकाइको शाखा अधिकृत राजन फुयाल भन्छन्, ‘अहिले करिब १ महिना भयो हामी पनिको समस्याबाट मुक्त भएका छौं । अब हाम्रो पैसा पनि जोगियो, पानी पनि स्वस्थ पाएका छौं ।’
महिनामा १० लाख जोगिने
पानी अस्पतालमा सबैभन्दा धेरै आवश्यक पर्छ । अझ यहाँ स्वस्थ पानी चाहिन्छ । दिनहुँ हजारौं बिरामी आउने अस्पतालमा बोरिङको पानी पर्याप्त थिएन ।
पानी नपुगेपछि अस्पतालले ट्याङ्करको पानी किन्दै प्रयोग गरिरहेको थियो । ट्याङ्करको पानी टेन्डर प्रक्रियाबाट आपूर्ति गरिएको थियो । अहिले टेन्डरको आह्वान गर्नुपर्ने अवस्था छैन । करिब १० लाखको पानी एक महिनामा किन्नुपर्थ्याे ।
अहिले अस्पतालमा महाराजगञ्जबाट ४ लाइनको केयुकेएल र क्षेत्रपाटीबाट पनि पानी जोडेको अस्पतालले बताएको छ । दुवै ठाउँबाट पानी आएपछि अस्पतालमा रहेको पानीको समस्या समाधान भएको छ ।
अहिले पानी आउँदा आर्थिक र स्वास्थ्यका हिसाबले पनि राम्रो भएको फुयाल बताउँछन् । ‘एक पैसा जोगियो फाइदै भयो, अर्को अस्पतालमा प्रयोग गर्न ट्याङ्करको पानी कहाँ कस्तो आउँथ्यो थाहा थिएन,’ उनी भन्छन्, ‘अब स्वस्थ पानी हामीले पाएका छौं, ७२ सालदेखिको समस्या अब समाधान भएको छ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.