उपत्यकाभित्र ‘नो हर्ज प्लिज’ अभियान फेरि लागू गरिने

  २०८१ माघ ३ गते १८:१३     विकासन्युज

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ ।

बिहीबार ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ‘नो हर्ज प्लिज ’अभियानलाई पूर्णरूपमा लागू गर्ने बताएका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०७३ सालमा यस अभियान सुरु गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनता चेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई जोडतोडका साथ कार्यान्वयन गर्ने जानकारी दिए ।

उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।

घिमिरेले भने, ‘यातायातलाई व्यवस्थित बनाई सेवाग्राहीलाई सेवा सहज दिन तत्पर छौं । यो अभियानले दुर्घटनालाई नियन्त्रण गर्ने विश्वास छ । ’

त्यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिए पनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसेकेको बताए ।

भक्तपुरदेखि काठमाडौंसम्म द्रुतबसको सेवा सुरु गरे पनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।

उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.