२०८१ साउन २६ गते १४:०३ विकासन्युज
काठमाडाैं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् ।
शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रधानन्यायाधीश हसन राजीनामा दिन बाध्य भएका हुन् ।
आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए।
अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन् ।
अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए ।
हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन् ।
राजीनामाका लागि केही औपचारिकताहरू बाँकी रहेको र ती औपचारिकताहरू पूरा गरेर साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाउने उनले बताएका छन् । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.