२०८१ असोज १ गते १९:१९ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदै गएकाे बताएका छन् ।
महासंघका अध्यक्ष ढकालले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उनले खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदै गएकाे बताएका हुन् ।
उनले भने, ‘हामीहरू खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौं । खुला समाज र खुला अर्थतन्त्रको पैरवीका लागि हामी काम गर्छौं । तर खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदैछ । बजारको माग र आपूर्तिले उत्पादन र मूल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो ।’
अध्यक्ष ढकालले खुला बजार अर्थव्यवस्थामा सरकार सहजकर्ताकाे भूमिकामा रहने बताए ।
उनले भने, ‘खुला बजार अर्थव्यवस्थामा उद्यमीको प्रवेश सहजै हुन्छ र असफल भएर बर्हिगमन पनि सहज हुन्छ । त्यहाँ सरकार सहजकर्ताको भूमिकामा रहन्छ र गल्ती भए सर्वमान्य न्यायको सिद्धान्त अनुरूप सजाय हुन्छ ।’
उनले निजी क्षेत्र निरन्तर निगरानीमा परेकाे बताए ।
उनले भने, ‘हामीकहाँ निजी क्षेत्र निरन्तर निगरानीमा छ । नियामक र निगरानी बढाउने नीति नियम एकपछि अर्को गर्दै आइरहेका छन् । लगानी र नाफा संकुचन हुने पर्याप्त आधार देखिएकै कारण लगानी बढ्न सकेको छैन र रकम बैंकिङ माध्यममा थन्किएको छ ।’
अध्यक्ष ढकालले कार्यभार सम्हाल्दै गर्दादेखि नै मागलाई संकुचित नगर्न र निजी क्षेत्रलाई अंकुश नलगाउन आग्रह गरेकाे बताए ।
उनले निर्यातमा नियन्त्रण नगर्न, ब्याजलाई उच्च दरमै कायम राख्न नीतिगत दबाव सिर्जना नगर्न पटकपटक माग राखे पनि सुनुवाइ नभएकाे गुनासाे गरे ।
उनका अनुसार अहिले वित्तीय क्षेत्रमा निकै तरलता छ भने ब्याजदर पनि तल आइसकेको छ ।
अध्यक्ष ढकालले ऋण प्रवाह बढ्न नसकेको पनि बताए ।
उनले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले निजी क्षेत्रलाई हेर्नेगरी आएकाे विधेयकलाई लिएर चनाखाे हुनुपर्नेमा सबैलाई सचेत गराए ।
उनले भने,’ हामीले कार्यकाल सुरु गरेलगत्तै अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने गरी आएको विधेयकलाई हाम्रो निरन्तर पैरवीले हालसम्म उक्त व्यवस्था संसोधन हुनेगरी नै छलफल भैरहेको छ । अब उप समितिको राय के आउँछ ? यसमा हामी सबै चनाखो हुनुपर्छ ।’
अध्यक्ष ढकालले कानुन जस्ताकाे त्यस्तै पारित भए लगानी थप निरुत्साहित हुने बताए।
उनले नेपालकाे बैंकिङ क्षेत्र व्यवस्थित भएकाे पनि बताए ।
उनले भने, ‘नेपालको बैंकिङ क्षेत्र व्यवस्थित छ । नियमन र सुपरीवेक्षण दरिलो छ । कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गरौं तर लगानीकलाई निषेध र नियन्त्रण नगरौं ।’
अध्यक्ष ढकालले आउँदै गरेको दशैंतिहार, नेपाल सम्वत एवं छठलगायतका सम्पूर्ण चाडवाडको शुभकामना पनि व्यक्त गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.