नेपाल निप्पोन चेम्बर अफ कमर्सको स्थापना, नेपाल र जापानको व्यापार सम्बन्ध विस्तार गर्ने उद्देश्य

  २०८१ मंसिर ९ गते १८:२८     विकासन्युज

काठमाडौं । नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज (एनएनसीसीआई) को स्थापना भएको छ। नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई समृद्ध गर्न नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको स्थापना गरिएको हो । उक्त संस्थाको नेतृत्व उद्यमी सौरभ ज्योतिले गर्ने भएका छन् । उनी ज्योति ग्रुपका अध्यक्ष पनि हुन् ।

यो संस्था सामाजिक सेवामूलक र गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको हो । संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यावसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

आइतबार जापानी दूतावासका मिशन उप-प्रमुख तामुरा ताकाहरोले नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालय एक कार्यक्रमका बीच उद्घाटन गरे ।

यस संस्थाको आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ । यसको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार शुल्क दिई सदस्यता प्राप्त गर्न सक्नेछन् । यद्यपि सदस्यता हस्तान्तरण गर्न भने सकिने छैन।

संस्थाले समाज कल्याण ऐन, २०४९ तथा कम्पनी ऐन, २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

एनएनसीसीआईको उपाध्यक्षमा ऋतुसिंह वैद्य र कोषाध्यक्ष तुषारधर तुलाधर बनेका छन् । सचिवमा विजयसिंह वैद्य, सुहिद राज घिमिरे, दिनेश तुलाधर र अंकुर झुनझुनवाला निर्वाचित भएका छन् ।

यसैगरी संस्थाको सदस्यमा पद्ममा ज्योति, सुरज वैद्य र त्रिभुवन धर तुलाधर बनेका छन् ।

यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं २० मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.