वीरमा खानेपानी समस्या समाधान, ट्याङ्करलाई तिर्ने मासिक १० लाख जोगिने

  २०८१ माघ ३ गते १७:१९     विकासन्युज

काठमाडौं । लामो समयदेखि  खानेपानीको समस्या भोगिरहेको वीर अस्पताल यो समस्याबाट मुक्त भएको छ । २०७२ सालमा गएको भूकम्पले अस्पतालमा भएको खानेपानीको लाइन तहसनहस हुँदा अस्पतालमा खानेपानीको समस्या भएको थियो ।

अस्पतालले टेन्डर आह्वान गरी ट्याङ्करबाट पानीको व्यवस्थापन गर्दै आएकोमा अब सहज हुने भएको वीर अस्पतालले जनाएको छ । पानीकै लागि अस्पतालले मासिक १० लाख खर्च गर्नुपर्ने बाध्यता थियो । काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) ले अस्पतालमा जोडिदिएको धारा भूकम्पले तहसनहस बनाएको थियो ।

पानी नहुँदा अस्पतालले बोरिङ खनेर पानी निकालेको थियो । त्यो पानी पनि पर्याप्त नहुँदा अस्पतालले पानीको समस्या भोगिरहनुपरेको थियो । ‘अहिले बनेको सजिर्कल बिल्डिङ पुरानो थियो, भत्काएर नयाँ बनायौं । पानीको पाइप लाइन कहाँ छ के छ भन्ने अस्त व्यस्त अवस्था थियो,’ अस्पतालको खरिद इकाइको शाखा अधिकृत राजन फुयाल भन्छन्, ‘अहिले करिब १ महिना भयो हामी पनिको समस्याबाट मुक्त भएका छौं । अब हाम्रो पैसा पनि जोगियो, पानी पनि स्वस्थ पाएका छौं ।’

महिनामा १० लाख जोगिने

पानी अस्पतालमा सबैभन्दा धेरै आवश्यक पर्छ । अझ यहाँ स्वस्थ पानी चाहिन्छ । दिनहुँ हजारौं बिरामी आउने अस्पतालमा बोरिङको पानी पर्याप्‍त थिएन ।

पानी नपुगेपछि अस्पतालले ट्याङ्करको पानी किन्दै प्रयोग गरिरहेको थियो । ट्याङ्करको पानी टेन्डर प्रक्रियाबाट आपूर्ति गरिएको थियो । अहिले टेन्डरको आह्वान गर्नुपर्ने अवस्था छैन । करिब १० लाखको पानी एक महिनामा किन्नुपर्थ्याे ।

अहिले अस्पतालमा महाराजगञ्जबाट ४ लाइनको केयुकेएल र क्षेत्रपाटीबाट पनि पानी जोडेको अस्पतालले बताएको छ । दुवै ठाउँबाट पानी आएपछि अस्पतालमा रहेको पानीको समस्या समाधान भएको छ ।

अहिले पानी आउँदा आर्थिक र स्वास्थ्यका हिसाबले पनि राम्रो भएको फुयाल बताउँछन् । ‘एक पैसा जोगियो फाइदै भयो, अर्को अस्पतालमा प्रयोग गर्न ट्याङ्करको पानी कहाँ कस्तो आउँथ्यो थाहा थिएन,’ उनी भन्छन्, ‘अब स्वस्थ पानी हामीले पाएका छौं, ७२ सालदेखिको समस्या अब समाधान भएको छ ।’ 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.