२०७३ असोज १७ गते २१:०१ विकासन्युज
काठमाडौं, १७ असोज । शिखर ईन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।
गत आर्थिक वर्षको नाफामा सेयर प्रिमियम कोषका रकम समेत थप गरि ६० प्रतिशत बोनस सेयर दिने निर्णय भएको कम्पनीका अध्यक्ष विकास राणाले जानकारी दिए । साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले नगद लाभांश समेत प्रस्ताव गरेको छ । निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्सले दिने लाभांश सबैभन्दा बढी हुने प्रष्ट देखिएको छ ।
सञ्चालक समितिको प्रस्ताव र वार्षिक प्रतिवेदन स्वीकृतका लागि बीमा समितिमा पठाउने र समितिबाट स्वीकृत भएपछि साधारणसभामा जाने अध्यक्ष राणाले बताए ।
५० करोड ९८ लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको ६० प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ८१ करोड ५८ लाख रुपैंया पुग्नेछ ।
सेयर पुँजी, नाफा, प्रिमियम रकम, कम्पनीको सेयर मूल्य लगायत धेरै परिसूचकमा शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीमा सबैभन्दा अगाडि छ ।
शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३१ करोड २ लाख ६८ हजार रुपैंया खुद नाफा कमाएको थियो । कम्पनीको सेयर सोमबार प्रतिकित्ता ३८८६ रुपैयाँमा कारोबार भएको छ । एक वर्षअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५१ रुपैयाँ थियो । एक वर्ष अघि यस कम्पनीको सेयरमा लगानी गर्नेले करिब चार गुणा फाइदा गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.