डिप्लोमा र स्नातकोत्तर तहमा आरोग्य पर्यटनको अध्यापन सुरु गर्छौं : पर्यटनमन्त्री पौडेल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न आगामी दस वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको बताएका छन् । यसका लागि आवश्यक नीति तथा रणनीति निर्माणको काम अघि बढिरहेको र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत आरोग्य अध्ययनलाई डिप्लोमा तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । नेपाल पर्यटन बोर्डको सभाहलमा शनिबार आयोजित ‘विश्व आरोग्य दिवस’ कार्यक्रममा मन्त्री पौडेलले नेपाल स्वभावतः आध्यात्मिक भूमि भएकाले यहाँका हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । ‘पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, र आजको विश्वले सबैभन्दा बढी खोजिरहेको कुरा पनि त्यही खुसी हो,’ उनले भने, ‘नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ।’ नेपाल पर्यटन बोर्ड, स्पा सङ्घ नेपाल तथा अन्य विभिन्न संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा आरोग्य पर्यटनको बढ्दो विश्वव्यापी सम्भावना, स्पा तथा प्राकृतिक उपचार पद्धतिको महत्त्व र यस क्षेत्रको व्यावसायिक विकासका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेको उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताए । उनले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तर्राष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको बताए । ‘विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ,’ उनले भने, ‘नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ ।’ नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमका तातोपानीका कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताए । उनले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नु समयको आवश्यकता भएको उल्लेख गरे । स्पा सङ्घ नेपालका सचिव रामदेव महतोले ‘विश्व आरोग्य दिवस’ सम्बन्धी प्रस्तुतीकरण गर्दै आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने प्रभावकारी माध्यम बनेको बताए । बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो । उनले आरोग्य पर्यटनको विस्तारसँगै स्पा सेवा मानसिक शान्ति, स्वस्थ जीवनशैली र समग्र कल्याणको आधार बन्दै गएको उल्लेख गरे । अन्तर्राष्ट्रिय आरोग्य विज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको टिप्पणी गर्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्त्वपूर्ण आधार बनाउनुपर्ने बताए । ‘कसैले आरोग्य भनेको के हो भनेर सोध्यो भने मेरो उत्तर हुन्छ-नेपाल नै आरोग्य हो,’ उनले भने । नेपालमा उपलब्ध प्राकृतिक र आध्यात्मिक सम्पदालाई आर्थिक अवसरसँग जोडेर विश्व बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न उनले आग्रह गरे । मलेसिया स्पा सङ्घका प्रतिनिधि खेम धामीले स्वस्थ भोजन, स्वस्थ जीवनशैली र क्यान्सरजस्ता रोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि विश्व आरोग्य दिवससँग सम्बन्धित अभियान आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा योगाचार्य प्रकाशद्वारा योग अभ्यास सत्र सञ्चालन गरिएको थियो । साथै ध्वनि उपचार सत्र तथा तनाव व्यवस्थापनसम्बन्धी सेल्फ–मसाजको डेमो प्रदर्शन गरिएको थियो । आरोग्य पर्यटन, योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो कार्यक्रम गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले जानकारी दिए ।
आरोग्य उद्योग र अर्थतन्त्रको अवस्था
व्यक्तिको खुसी, सुख र आनन्दसँग जोडिएको शारीरिक, मानसिक र आत्मिक स्वस्थता नै आरोग्य हो । यो एक बहुआयामिक विषय हो । यसमा शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक/आत्मिक कुराहरु समावेश भएका हुन्छन् । मानिसलाई आरोगी हुन यी सबै आयामको सन्तुलन आवश्यक पर्दछ । मलाई औषधि खानुपरेको छैन, कुनै चिकित्सक वा स्वास्थ्यकर्मीको सेवा लिनुपरेको छैन, म अहिलेसम्म अस्पताल गएको छैन भन्नु मात्र आरोग्य होइन । यो त शारीरिक स्वस्थता मात्र हो । वास्तवमा आरोग्य मन, मस्तिष्क, शरीर, भावना र चेतनाको स्वस्थता हो । मानिसभित्रैदेखि आनन्दित नभई आरोगी हुन सक्दैन । तसर्थ, आनन्दको बाहिरी प्रकट रूप नै आरोग्य हो । अनि आरोग्य आनन्द हो । आरोग्य उद्योग र अर्थतन्त्र ग्लोबल वेलनेस इन्टिच्युटले सन् २०२४ मा निकालेको प्रतिवेदन अनुसार संसारको आरोग्य अर्थतन्त्रको आकार ६.८ ट्रिलियन (६८ खर्ब) अमेरिकी डलर रहेको छ । विश्वभरको कूल स्वास्थ्य र चिकित्सा खर्चको ६० प्रतिशतको हाराहारीमा रहेको छ । दुई वर्षको बीचमा यसको आकार २१ प्रतिशतले बढेको देखिन्छ । सन् २०२९ सम्ममा यसको आकार ९.८ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । आरोग्य रिसोर्ट, आरोग्य बासस्थानजस्ता कार्यमा हुने खर्च १९.५ प्रतिशतले र मानसिक आरोग्यका लागि हुने खर्चमा १२.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल आरोग्य अर्थतन्त्रको सूचीमा ९१ औं स्थानमा रहेको (अर्थतन्त्रको आकार २.०२ अर्ब डलर रहेको, जसमा स्वास्थ्यसम्बन्धी खर्च समेत समावेश भएको) छ । आरोग्य र आनन्द एउटै हो त भन्ने प्रश्न पनि उठ्ने गर्दछ । आरोग्य आनन्द हो भने आनन्द के हो त ? सबै मानिसले खोज्ने साझा कुरा हो– आनन्द । शास्त्रमा भनिएको छ, मानिस तीन प्रकारका तापबाट मुक्त भई सत् चित् आनन्द प्राप्त गर्न चाहन्छ र त्यसप्रति आकर्षित हुन्छ । शरीरभित्रबाट उत्पन्न हुने तापमा मानसिक चिन्ता, दुःख, इष्र्या, क्रोध, अहँकार पर्दछ भने शरीरबाट उत्पन्न हुने तापमा घाउ, खटिरा, रोग आदि पर्दछन् । त्यस्तै अर्को आफूबाहेक अरुबाट उत्पन्न हुने चिन्तामा प्राकृतिक प्रकोप, अरुका वचनलाई लिन सकिन्छ । यसैगरी भगवान् बुद्ध धम्मपदको २०४औँ श्लोकमा भन्नुहुन्छ, आनन्द प्राप्तिका लागि दिगो सुख चाहिन्छ, त्यही भएर त श्रीमद्भागवत गीताको छैटौँ अध्यायको २१औँ श्लोकमा श्रीकृष्ण भन्नुहुन्छ, जुन इन्द्रीय र बौद्धिक सुखभन्दा परको आत्यन्तिक (अन्त नभएको) सुख हुन्छ, त्यो मात्र दिगो हुन्छ, यस्तो सुख ध्यानयोगीले मात्र प्राप्त गर्दछन् । यी विभिन्न धर्मग्रन्थका उल्लेखित कुराहरुलाई अध्ययन गर्दा आनन्द कसरी पाइन्छ ? भन्ने प्रश्नको जवाफ प्राप्त हुन्छ । सबै मानिसको तीन लालसा हुन्छ–भौतिक सुख, स्वस्थ जीवन र खुसी । हाम्रा ऋषिमुनिहरू भौतिक सुखलाई त्याज्य मान्दथे, भौतिक सुखले मनको आनन्दमा पुर्याउँदैन भन्ने ठान्दथे आधुनिक युगमा भौतिक सुखलाई नै सर्वोपरि ठानिन्छ । यी दुवै अतिवाद हुन्, त्यसैले हामीले यी दुवै अतिवादबाट माथि उठेर आरोग्यको प्रवद्र्धन गर्नुपर्दछ । वास्तवमा मानिसलाई रोग तीन प्रकारको खराबीले लाग्दछ । पेट खराब भएमा, खानासँग सम्बन्धित र छाती र छातीभित्रका अङ्ग खराब भएमा रोग लाग्दछ । शारीरिक परिश्रमसँग सम्बन्धित समस्यामा टाउको र टाउकोभित्रका अङ्ग खराब भएमा रोग लाग्दछ । मानसिक स्वास्थ्यसँग सम्बन्धितबाहेक शरीर बाहिरका घाउ, चोटपटक हुन्छन्, जसलाई सावधानीले नै हटाउन सकिन्छ । तसर्थ, शरीरको तीन भागलाई स्वस्थ राख्न सकियो भने बचाउन सकियो भने मानिस आरोगी बन्दछ । यसमा रोग लाग्नुभन्दा रोग लाग्नै नदिने अवस्था ल्याउनुपर्छ । समग्रमा आरोग्य तीन कुराको सम्मिश्रणबाट पाइन्छ । शारीरिक परिश्रम, स्वस्थकर खाना तथा योग र ध्यानले मानिसलाई आरोग्य राख्दछ । योग, ध्यान र आरोग्य योग सर्वौषधि हो । संस्कृतमा श्लोक छ, योगले सीप बढाउँछ, दुःख नाश गर्छ, योगको अभ्यास गरौँ, योगीको जीवन जिऔँ । एक अध्ययनका अनुसार कोभिडपछि विश्वमा योग गर्नेको सङ्ख्या १४ प्रतिशत र ध्यान गर्नेको सङ्ख्या नौ प्रतिशतले बढेको देखाएको छ । हाम्रो हावापानी र वातावरण अनि यस्तो स्थानमा गरिने ध्यानले योगबाट पाइने लाभलाई कैयौँ गुणा बढाउँछ । योग शारीरिक आसन, श्वासप्रश्वास र ध्यानलाई एकीकृत गर्ने विधि हो । योगको महत्व बुझेर संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष २१ जूनलाई अन्तरराष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेको छ । ध्यान आफ्नो मन र मस्तिष्कलाई शान्ति र बोधतर्फ लैजाने माध्यम हो । ध्यानको महत्व उजागर गर्न संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको छ । उचित आहारविहार, प्रकृतिसँगको सामीप्यता, शारीरिक परिश्रम, मानसिक र आत्मिक शान्ति अनि ध्यान योगको प्रतिफल आरोग्य हो । आरोग्यको महत्त्व बुझेर संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा प्रत्येक वर्ष १५ अप्रिललाई अन्तरराष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको छ । आरोग्यका लागि नेपालमा के छ ? नेपालमा आरोग्यसँग सम्बन्धित हरेक वस्तु र सेवा पाइन्छन् । यही आरोग्यलाई केन्द्रमा राखेर हामीले अभ्यास गर्ने र अरुलाई सहयोग गर्न सक्नुपर्दछ । नेपालमा पर्यटनको प्रशस्त सम्भावना रहे पनि पटकपटक र निरन्तर प्रयास गर्दा पनि नेपालमा पर्यटकको सङ्ख्या अपेक्षित रूपमा बढ्न सकेको छैन । नेपाल भ्रमण वर्ष १९९८ र नेपाल पर्यटन वर्ष २०११ मा लिइएको लक्ष्य वर्षौंसम्म पूरा हुन नसकेको छैन । त्यसैले केही प्रश्नको जवाफ खोज्नुपर्ने भएको समय आएको छ । हामीसँग अथाह सम्भावना र अवसर हुँदाहुँदै पनि हामीले यसको उचित विकास, प्रवद्र्धन र प्रचारप्रसार गर्न सकेनौँ कि ? अथवा हामीले पर्यटकीय सम्भावना र अवसरको प्राथमिकीकरण गर्नै जानेनौँ कि ? अथवा हामीले पर्यटकलाई नेपालमा के छ भनेर बुझाउनै सकेनौं कि ? अथवा हामीले हाम्रो पर्यटनको मूल तत्त्व नै पहिल्याउन सकेनौं कि ? यी प्रश्नहरुको सजिलो जवाफ छ नेपालको पर्यटनको सुस्पष्ट ब्राण्डिङ भएन । हामीले विगतमा सगरमाथाको देश भनेर पनि चिनाएकै हो, प्राकृतिक सौन्दर्यको धनी देश भनेर पनि चिनाएकै हो, भगवान् बुद्धको देश भनेर पनि चिनाएकै हो । तर हामीकहाँ उपलब्ध सबै सम्भावना र अवसरलाई एउटा मूल तत्वमा आबद्ध गर्दै ब्राण्डिङ चाहिँ गर्न सकेनौँ । त्यो मूल तत्त्व हो भनेको आरोग्य हो । पर्यटकले खोज्ने आरोग्यसँग सम्बन्धित हर चीज यहाँ उपलब्ध छन्, तिनको विकास र प्रवद्र्धनको खाँचो छ । आरोग्य पर्यटनको सम्भावना एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने पर्यटकले तीन कुरा चाहन्छ–भौतिक सुख, सबल स्वास्थ्य र खुसी । यसका लागि हामीसँग प्रकृति, भौगोलिक र जैविक विविधता, धर्म, धार्मिक आस्था, सद्भाव र सहिष्णुता, संस्कृति र सांस्कृतिक सम्पदा, सामाजिक जनजीवन, रहनसहन र व्यवहार, कृषि उत्पादन, खाद्यशैली र स्वच्छ पानी, वन पैदावार, शिक्षा, स्वास्थ्य र खेल पर्यटनका लागि अनुकूल वातावरण रहेको छ । त्यति मात्र होइन, वैदिक खोज र अनुसन्धानका लागि उपयुक्तस्थल, सामग्रीको उपलब्धता तथा योग र ध्यानका लागि उपयुक्तस्थल र वातावरण पनि नेपालमा छ । यी सम्भावनाहरुको उपयोग र प्रवद्र्धनका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायहरुबीच सहकार्यको खाँचो पर्दछ । आरोग्य पर्यटनलाई आर्थिक विकासको मुख्य कार्यसूचीका रूपमा पहिचान र विकास, नेपाललाई विश्व आरोग्य गन्तव्य बनाउने पहल, आरोग्य पर्यटन विकास, ब्राण्डिङ, प्रवद्र्धन र बजारीकरण, पर्यटन पूर्वाधार विकास गरी सहज पहुँचको व्यवस्था, सहज सार्वजनिक सेवा र शैक्षिक पाठ्यक्रममा योग र ध्यानका साथै आरोग्य पर्यटनका सामग्री र स्वास्थ्य सेवामा तीन तहका सरकारको भूमिका अझ बढी रहन्छ । खासगरी आरोग्यका क्रियाकलापहरुलाई बढाउन आरोग्य पर्यटन कूटनीति परिचालन, प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय गतिविधिहरूमा आरोग्य पर्यटनका क्रियाकलाप समावेश, आरोग्य पर्यटनका प्याकेजहरूको प्रवद्र्धन र प्रचारप्रसारमा जोड दिनुपर्ने हुन्छ । यसमा निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको हुन्छ । आरोग्य पर्यटनका वस्तु र सेवाको विकास, नेपाली उत्पादनको उपभोगलाई बढावा दिई प्रवद्र्धन, आरोग्य पर्यटनको प्रचारप्रसार र बजारीकरणमा सरकारसँग सहकार्य, पर्यटकीय क्षेत्रहरूमा सहज पहुँचको व्यवस्था गर्न निजी क्षेत्रले थुप्रै कामहरु गर्न सक्दछन् । सहज पर्यटकीय सेवा,पर्यटकीय प्याकेजिङका क्रियाकलापमा आरोग्य पर्यटनलाई जोडेर पनि हेर्न सकिन्छ । उदाहरणका लागि, पदयात्राको प्याकेजमा धार्मिक/सांस्कृतिक पर्यटनका साथै योग र ध्यान समेत समावेश गर्न सकिन्छ । आरोग्य पर्यटनबाट नेपालले राम्रो लाभ लिनसक्ने अवसर रहेको छ । नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढाएर ५० लाख पुर्याउन सकिन्छ । उनीहरुको औसत बसाई अवधि आरोग्य पर्यटनका कार्यक्रमबाट थप पाँच दिन कम्तिमा १५ दिन बनाउन सकिन्छ । पर्यटकको दैनिक औसत खर्च पनि बढाएर १५० देखि २०० अमेरिकी डलर पुर्याउन तथा पर्यटन क्षेत्रमा थप १० लाख रोजगारी सिर्जना हुनेछ । त्यतिबेला ट्राभल एण्ड ट्रेड कम्पिटिटिभनेस इण्डेक्समा नेपालको स्थान उल्लेख्य वृद्धि हुनेछ । आरोग्यको महत्व उजागर गर्ने नेपालको पहल संयुक्त राष्ट्रसङ्घले स्वीकार गरेको र नेपाल सरकारले सन् २०२७ लाई आरोग्य वर्षका रूपमा मनाउने निर्णय गरेको छ । नेपाल आरोग्य वर्षको रूपमा मनाउने घोषणा गरेको र पर्यटन दशक मनाउने तयारी गर्दै गरेको सन्दर्भमा आरोग्य पर्यटनलाई नारा बनाई अगाडि बढ्न सकिने अवसर र सम्भावना रहेको छ । प्रत्येक अप्रिल १५ मा आरोग्य दिवस मनाएर मात्र नपुग्ने, साँच्चिकै आरोग्य प्रवद्र्धन गर्न हाम्रो पहल र निरन्तरको प्रयास आवश्यक पर्दछ । रासस (प्रस्तुत विचार नेपाल सरकारका पूर्वमुख्यसचिव तथा जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रका संयोजक डा. वैकुण्ठ अर्यालसँग गरिएको कुराकानीमा आधारित)
काठमाडौं महानगर छात्रवृत्तिमा ३ हजार ५१ विद्यार्थी भर्ना, दोस्रो म्याचिङ जारी
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिस्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् । शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीमध्ये छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ लिस्ट) मा परेका ३ हजार ७३५ विद्यार्थी रहेका कामपा शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए । यसरी भर्ना हुने विद्यार्थीमध्ये एक हजार ९०१ जना विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११ जना, कानुनमा ३४ जना मानविकीमा पाँच जना विद्यार्थी छन् । विद्यालयहरूले भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा आज परीक्षा समितिले म्याचिङ लिस्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन भएको खड्काले बताए । सदस्य सचिव खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापन विषयका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीमा लागि एक जना र शिक्षाका लागि दुई जना विद्यार्थीको नाम सिफारिस भएको छ । विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सिट सङ्ख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णयअनुसार सूची प्रकाशन गरिएको हो । मनोनयनमा परेका परीक्षार्थीहरूले कामपाको छात्रवृत्तिसम्बन्धी पोर्टल इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपी मा छात्रवृत्ति परीक्षाको रोल नम्बर (कामपाबाट प्रदान गरिएको), जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्न सकिन्छ । यो मनोनय पत्र लिएर असार ३ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ । तोकिएको समयसीमा भित्र भर्ना नभएमा सम्बन्धित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको दाबी स्वतः रद्द हुने समितिले प्रकाशन गरेको सूचनामा उल्लेख छ । समितिले असार ३ गतेपछि तेस्रो सूची निकाल्ने तयारी गरेको छ । यस वर्षका लागि १४५ वटा शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको थियो । यसमा विज्ञान विषयका लागि २ हजार ३७१ कोटा छन् । व्यवस्थापनमा १ हजार ५४९, शिक्षामा ७, मानविकीमा ४९ र कानुनमा ७५ कोटा निर्धारित छन् । यी विषयमा १८ हजार ३५८ जना, २ हजार ३८२ जना, ११० जना, ४६३ जना, ६२१ जना विद्यार्थी भर्नालाई आधार मानेर कोटा निर्धारण गरिएको हो । छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची २१ गते अन्तिम सूची प्रकाशित भएको थियो ।