कक्षा ११ का विद्यार्थीलाई कलेज जीवनबारे टेक्सासको अभिमुखीकरण

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि अभिभुखीकरण कार्यक्रम गरेको छ । कलेजमा आउने नयाँ विद्यार्थीले विद्यालय समयमा के गर्न पाउने, के नपाउने भन्ने विषयमा जानकारी गराउन नयाँ भर्ना भएका विद्यार्थीका लागि यो कार्यक्रम गरेको हो ।    बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई टेक्सास कलेजमा स्वागत गर्दै विद्यार्थीले विद्यालय भित्र पालना गर्नुपर्ने नियमबारे जानकारी गराइएको थियो ।  जसमा विद्यार्थीले कलेजमा अनिवार्य विद्यालय पोशाकमा आउनुपर्ने, कलेज समयभन्दा करिब १५ मिनेट अगाडि  नै उपस्थित हुनुपर्ने, विद्यालयमा  आयोजना हुने हरेक कार्यक्रममा भाग लिनुपर्ने लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा. श्यामसुन्दर श्रेष्ठले टेक्सासले आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी र सीपयुक्त विद्यार्थी उत्पादन गर्नु आफूहरूको लक्ष्य रहेको बताए ।  ‘टेक्सास मन्टेश्वरीदेखि मास्टर्स सम्मकै शिक्षाको लागि उत्कृष्ट शैक्षिक संस्था हो,’ उनी भन्छन्,‘ कुनै विषयको छनोटले विद्यार्थीलाई सफल बनाउने नभई आफ्नो मेहनत र त्यो विषय प्रतिको धारणाले सफल बनाउने हो । सिकाइमा कलेजले कुनै कसुर बाँकी राख्दैन यसमा परिश्रम, मिहिनेत विद्यार्थीले गर्नुपर्छ ।’ कलेजमा विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीको आकर्षण बढेको बताउँदै श्रेष्ठले कुनै पनि विषय आफैमा कमजोर नभएको तर विद्यार्थीले आफूले रोजेको विषयमा निकै मिहिनेत गर्नुपर्ने बताए ।  कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेको जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले विद्यार्थीलाई अरूको पछाडि दगुर्नुभन्दा आफ्नो रुचि लगाव के हो भन्ने बुझन आवश्यक रहेको बताए ।  अहिले बजारमा विज्ञान, व्यवस्थापन, आईटीजस्ता विषयमा माग पनि बढेको र विद्यार्थीको आकर्षण पनि त्यतै बढेको बताउँदै उनी भन्छन्, ‘जुन कुरा बिक्छ भनेर दौडिनुहुन्छ, त्यतापट्टि नलाग्नुहोस्, किनकि त्यो बिकाउ सामान होइन, तपाईं आफ्नो ज्ञान र रुचिमा  काम गर्नुहुन्छ भने बजार तपाईंको पछाडि दगुर्छ ।’ अहिले धेरै विद्यार्थी साथी र बजारको पछाडि लाग्ने गरेको बताउँदै उनले विद्यार्थी आफैको वुद्धि जाग्नुपर्ने बताए । कसैलाई खुसी बनाउन काम गर्नुभन्दा खुसी भएर गरेको कामले राम्रो परिणाम दिने उनको भनाइ छ । यस्तै कार्यक्रममा बोल्दै उत्प्रेरक वक्ता डा. रविन कटवाल भन्छन्, ‘अहिले सबै व्यक्ति उत्कृष्ट भए पनि अझै उत्कृष्ट त्यो व्यक्ति बन्छ जसले आफूलाई चिनेर काम गर्छ ।’ उनले विद्यार्थीले राम्रो विद्यालय छनोट गरेको बताउँदै अब मिहिनेत गर्ने पालो आएको बताए । उनी शिक्षा अहिले अपरिहार्य रहेको बताउँदै  मान्छेलाई महान बनाउने चिज नै शिक्षा भएकाले पढाइमा निकै मिहिनेत गर्नुपर्ने बताए। शिक्षालाई ग्रहण गर्न ‍इच्छा आवश्यक पर्ने भएकाले इच्छा नभएका व्यक्तिले शिक्षा लिन नसक्ने बताए ।  ‘जसरी आजको ३०–४० वर्ष अगाडि पढेलेखेका मान्छे निकै कम थिए, अबको २० वर्ष पछाडि यो समाजमा पढेलेखेका मान्छे निकै कम हुनेछन् किनकि अधिकांश मानिस धनको पछाडि दगुर्ने र पढाइ बीचैमा छोड्नेछन्,’  उनले भने ।    कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्दप्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख श्याम सुन्दर श्रेष्ठसहित अन्य प्रशासकहरू, विभिन्न विभागका विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो ।   

१३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

प्रकाश सिलवाल काठमाडौं ।  सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी रहे पनि मुलुकका १३ हजार ७३६ सामुदायिक विद्यालयमा अझै सयभन्दा कम विद्यार्थी रहेको पाइएको छ ।       शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘शैक्षिक सूचना, २०८२’ मा कूल सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढीमा एक सयभन्दा कम विद्यार्थी देखिएका छन् । सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको यो सङ्ख्या कूल सामुदायिक विद्यालय २७ हजार १० को ५० दशमलव ८६ प्रतिशत हो । मन्त्रालयका अनुसार १०० देखि ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १० हजार ८६९, ५०१ देखि एक हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक हजार ६७०, एक हजार एकदेखि एक हजार ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४६७ रहेको छ । एक हजार ५०१ देखि दुई हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १४० र दुई हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या मात्र १२८ रहेको छ । हाल मुलुकभर ३५ हजार ९५१ कूल विद्यालयमध्ये एक हजार ८७ परम्परागत र २५ हजार ६२३ सामुदायिक विद्यालय छन् । यसमध्ये आठ हजार ९४१ संस्थागत (निजी विद्यालय) छन् । सबै विद्यालयमा गरेर कूल ७० लाख ४० हजार ८२५ विद्यार्थी छन् । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी नौ सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयमा रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरि मै सबैभन्दा बढी आठ हजार २३९ विद्यार्थी छन् । रूपन्देहीकै तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माविमा सात हजार १२०, बुटवल उपमहानगरपालिकाकै कान्ति माविमा छ हजार ३४ र नवीन औद्योगिक कदरबहादुर रीता माविमा पाँच हजार ३४० विद्यार्थी रहेका छन् । रूपन्देहीपछि काठमाडौंमा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय छन् । काठमाडौं महानगरपालिकाको ज्ञानोदय माविमा चार हजार ७४६ र विश्वनिकेतन माविमा चार हजार ३०१ विद्यार्थी रहेको छन् । धनुषाको विदेह नगरपालिकाको जनता नमुना माविमा छ हजार दुई सय ६६, मोरङको सुन्दरहरैचा नगरपालिकाको सुकुना माविमा चार हजार छ सय ४२,  भक्तपुर नगरपालिकाको वागिश्वरी माविमा चार हजार १८५ र कपिलवस्तुको शिवराज नगरपालिकाको नेपाल आदर्श माविमा चार हजार ११४ विद्यार्थी रहेका छन् । अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण, २०८२/८३ मा भने पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको जनाइएको छ । सरकारले स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा विद्यालय समायोजना (मर्ज) को नीतिलाई अघि बढाइरहेको छ । हालसम्म ६६२ सामुदायिक विद्यालय मर्ज भइसकेका छन् । चालु आर्थिक वर्षका लागि विद्यालय समायोजन गर्न रु ४५ करोड प्रोत्साहन रकम विनियोजन गरिएको छ ।       मन्त्रालयमा तहको शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले विद्यालय समायोजनका कार्यक्रम सञ्चालन भइरहेको र समायोजनको मापदण्डलाई परिमार्जनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय मागिएको जानकारी दिए ।   'विद्यालय तहको सञ्चालन र व्यवस्थापन संविधानत : स्थानीय सरकारको हो । हामीले स्थानीय तहलाई दुई पटकसम्म पत्राचार गरेर समायोजनको विवरण माग गरेका छौँ', प्रवक्ता पराजुलीले भने, 'हामीले विद्यार्थी सङ्ख्या कम भएको अवस्थालाई मात्रै हेरेर पनि हुँदैन । कुनै विद्यालयमा कुनै वर्ष विद्यार्थी कम हुन सक्छन्, हामीले निःशुल्क र अनिवार्य शिक्षाको दायित्वलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सम्बन्धित स्थानीय तहले आफ्नो शैक्षिक योजना अनुसार विद्यालय सुधार वा समायोजन गर्न सक्छन् ।’' प्रधानाध्यक सङ्घ नेपाल (पान) का अध्यक्ष सुदाम गौतमले सामुदायिक शिक्षाको सुधारका लागि राष्ट्रिय नीति र योजना बनाएर रूपान्तरणमा लाग्नुपर्ने बताए । कतिपय विद्यालयमा स्रोत साधनको अभावका विद्यार्थी भर्ना हुने स्थिति नभएकाले सरकारले स्रोत साधन र लगानीको निश्चित मापदण्ड बनाउनुपर्ने उनको सुझाव छ । 'कतिपय विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकसित गर्नुपर्छ । विद्यालयको निश्चित मापदण्ड बनाएर शिक्षक, समुदाय र अभिभावकलाई जिम्मेवार बनाउनुपर्छ', अध्यक्ष गौतमले भने, 'विद्यालयका लागि शिक्षक दरबन्दी छिटो मिलान गर्नुपर्छ । त्यति गर्दा पनि भए भने समायोजन वा अन्य विकल्पमा जानुपर्छ ।'       आगामी आर्थिक वर्षका बजेटमा नेपाल सरकारले गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि मुलुकभरका सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकताको ‘म्यापिङ’ गर्न रु एक अर्ब विनियोजन गरेको छ । रासस 

बिदाका दिन पनि कक्षा १२ को नतिजा तयारीमा बोर्ड, असार १० को ‘डेडलाइन’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आगामी असार १० गतेभित्र सार्वजनिक गर्ने गरी तीव्र तयारी गरिरहेको छ । नतिजा प्रकाशनको पूर्वसन्धामा गरिने प्राविधिक र प्रशासनिक कार्यहरू अहिले द्रुत गतिमा भइरहेका छन्। बोर्डका अनुसार यस वर्ष देशभरका ४८ वटा तोकिएका केन्द्रहरूमा कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गरिएको थियो । उक्त उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको सम्पूर्ण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । विद्यार्थीहरूको भविष्य र शैक्षिक क्यालेन्डरलाई मध्यनजर गर्दै सकेसम्म छिटो नतिजा प्रकाशन गर्ने उद्देश्य बोर्डले लिएको छ । यसका लागि कार्यालय समयबाहेक बिदाका दिनहरूमा समेत बिहान र बेलुका अतिरिक्त समय काम भइरहेको बोर्डले जनाएको छ । अहिले परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीहरूले प्राप्त गरेको अंक प्रणालीमा प्रविष्टि ९डाटा इन्ट्री० गर्ने तथा कोडिङ(डीकोडिङ गर्ने प्राविधिक कार्य भइरहेको छ । नतिजा तयारीका सबै प्रक्रियाहरू पूर्वनिर्धारित कार्यतालिका र योजना अनुरूप नै अगाडि बढिरहेका छन् ।  कुनै प्राविधिक अवरोध नआएमा आगामी असार १० गतेभित्रै कक्षा १२ को नतिजा विद्यार्थीहरूको हातमा पुग्ने विश्वास बोर्डले दिलाएको छ ।