जीवन बीमा कम्पनीहरूबाट बीमितले लिए १ खर्ब ऋण, कुन कम्पनीबाट कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई १ खर्ब बढी रुपैयाँ ऋण वितरण गरेका छन् । बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आव २०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीहरूबाट १ खर्ब ७ करोड ८२ लाख रुपैयाँ बराबरको ऋण प्रवाह गरेका हुन् । गत आवको यही अवधिमा कम्पनीहरूले ९५ अर्ब २ करोड ५९ लाख १६ हजार रुपैयाँ ऋण दिएका थिए । गत आवको तुलनामा कम्पनीहरुबाट बीमितलाई प्रवाह गरेको ऋण ५.३२ प्रतिशतले वृद्धि भएको छ ।  जीवन बीमा कम्पनीमा बीमा गरेका बीमितहरूले बीमा कम्पनीहरूबाट आफूले तिरेको बीमा शुल्कको सरेण्डर भ्यालुको आधारमा ऋण लिन सक्ने व्यवस्था रहेको छ । बीमितहरूले दैनिक जीवनमा कुनै आर्थिक संकट आएको खण्डमा आफूले बीमा गरेको कम्पनीबाट व्यवस्था भए बमोजिम र आवश्यक भए अनुसार कर्जा प्राप्त गर्न सक्नेछन् । चैत्रसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले धितोलेख बीमा कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले प्रवाह गर्ने कर्जा घटेको छ । अघिल्लो आवमा कम्पनीले ३६ अर्ब २२ करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा कम्पनीले प्रदान गरेको बीमालेख धितो कर्जा ०.५८ प्रतिशतले घटेको छ । दोस्रो धेरै बीमितलाई ऋण दिने बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) रहेको छ । उक्त कम्पनीले चैत्रसम्ममा बीमितलाई २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले बीमितलाई २१ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ बीमालेख धितो प्रदान गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले बीमितलाई दिएको ऋण ६.३९ प्रतिशतले घटेको छ । तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब २५ करोड ७७ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको धितोलेख कर्जा ८.९० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीले  बीमितलाई १२ अर्ब १७ करोड ४२ लाख रुपैयाँ प्रवाह गरेको थियो । हिमालयन लाइफ इन्स्योरेन्सले ८ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बीमितलाई बीमा कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा कम्पनीको ऋण प्रवाह १०.३१ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीले ७ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यस्तै, एशिएन लाइफले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब ८३ करोड रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । गत आवको तुलनामा एशिएन लाइफको ३.८६ प्रतिशत, सूर्य ज्योति लाइफको १६.८३ प्रतिशत, राष्ट्रिय जीवन बीमाको २ अर्ब ५३ करोड रुपैयाँ, सानिमा रिलायन्सको २६.४१ प्रतिशत बीमालेख धितोकर्जा बढेको छ ।  त्यसैगरी, मेट लाइफले चैत्रसम्ममा बीमितलाई १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । गत आवको तुलनामा कम्पनीले प्रवाह गर्ने बीमालेख धितो कर्जा ३.१९ प्रतिशतले घटेको देखिन्छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। चैत्रसम्ममा प्रभु महालक्ष्मीले १ अर्ब ४५ करोड रुपैयाँ, आईएमई लाइफले १ अर्ब २३ करोड रुपैयाँ, सिटिजन्स लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सन नेपाल लाइफले ७९ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफ ६३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बीमितले आफ्नो जीवन बीमालेखमा जम्मा भएको समर्पण मूल्य (सरेन्डर भ्यालु) वा नगद मूल्यको आधारमा बीमा कम्पनीबाट कर्जा प्राप्त गर्न सक्छन् । बीमा कम्पनीहरूले सामान्यतः बीमालेखको समर्पण मूल्यको निश्चित प्रतिशतसम्म कर्जा उपलब्ध गराउने गर्छन् ।

लगानीकर्ताले हिमालयन रिको सेयर सस्तोमै किन्ने अवसर रोजे

काठमाडौं । आजको कारोबारमा हिमालयन रि इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबार रकमका आधारमा आज कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३७ करोड ६८ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हाे । बिहीबार सेयर बजार बन्द हुनुअघि खरिद गर्नेतर्फ २ लाख ११ हजार भन्दा बढी जना लगानीकर्ता सक्रिय देखिए भने बिक्रीतर्फ ९७ हजारको हाराहरीमा थिए । यसले कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।  आज कम्पनीको कारोबार ६४३ रुपैयाँमा ओपन भएको थियो भने ६२६ रुपैयाँमा बन्द भयो । कम्पनीको सेयर ७‍.५५ प्रतिशतले घटेकाे छ ।  कम्पनीको सेयर मूल्य आज वर्षकै न्यून विन्दुमा पुगेसँगै धेरै लगानीकर्ताले खरिदको अवसरका रूपमा हेरेका कारण सेयरमा आकर्षण बढेको हुन सक्ने सेयर बजार विश्लेषकहरुको भनाइ छ । एक वर्षअघि कम्पनीको सेयर अधिकतम् ११ सय ३९ रुपैयाँ ९० पैसा र सबैभन्दा न्यून ६२७ रुपैयाँ पुगेको थियो । पछिल्लो समय कम्पनीले एकपछि अर्को संकटको सामना गरेको भएपनि लगानीकर्ताले भविष्यमा लाभ देखेको कारण पनि सेयर खरिद गरेका हुन सक्ने बजार विश्लेषकहरुको तर्क छ । कम्पनीको वित्तीय अवस्था हेर्दा पनि नराम्रो देखिँदैन ।  कम्पनीको पछिल्लो वित्तीय विवरणअनुसार (दोस्रो त्रैमास) कम्पनीको वित्तीय अवस्था सकारात्मक नै छ । कम्पनीको स्पेशल रिर्जभमा २ अर्ब ३८ करोड ३७ लाख रुपैयाँ छ । गत आवको यही अवधिमा कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ थियो । दोस्रो त्रैमाससम्ममा कम्पनीले ६४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल व्यवसाय ३१.३० प्रतिशतले बढेर ३ अर्ब २९ करोड १३ लाख र कुल आम्दानी २२.२६ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कुल खर्च ३१.०६ प्रतिशत बढेको छ । कम्पनीको प्रति सेयर आम्दानी ११.८६ रुपैयाँबाट बढेर ११.९२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १५९.०२ रुपैयाँ रहेको छ । १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब १९ करोड रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ९७ लाख रुपैयाँ रहेको छ । यसकारण बाहिरिए लगानीकर्ता  पछिल्लो समय हिमालयन रि इन्स्योरेन्सले एकपछि अर्को संकटको सामना गरिरहेको छ । कम्पनीको आधारभूत सेयरधनी सम्पति शुद्धीकरणको आरोपमा पक्राउ, पुराना सञ्चालकहरुको राजीनामा र सञ्चालक समितिको पुर्नगठनले कम्पनीभित्र असाधारण अवस्था सिर्जना भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत स्वास्थ्य अवस्थामा कारण देश बाहिर उपचाररत छिन् । यो कारणले गर्दा लगानीकर्ताले यो कम्पनीमा सुरक्षित महसुस गर्न नसकेको हुन सक्ने बीमा जानकारहरुको विश्लेषण छ  । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हिमालयन रिलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । प्राधिकरणले  बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम प्राधिकरणले कम्पनीलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको छ । प्राधिकरणको यो निर्णयले हिमालयन रिको व्यवसायमा असर पर्ने देखिएपछि लगानीकर्ता डराएर सेयर बेच्न हतार गरेका हुन सक्छ ।  त्यस्तै, बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान हटेको छ । अब यसअघि बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने व्यवस्था रहेको थियो । यसले गर्दा पनि पुनर्बीमा कम्पनीको आम्दानीमा असर गर्न सक्छ र नाफामा दबाब सिर्जना गर्न सक्छ । यो कारणले पनि लगानीकर्ताहरु बाहिरन खोजेका हुन सक्ने सेयर बजार विश्लेषकहरुको धारणा छ ।  अहिले हिमालयन रि नियामकको कडा निगरानीमा छ । केही समयअघि उक्त कम्पनीलाई प्राधिकरणले संकटग्रस्त घोषणा गर्न लागेको भन्ने हल्ला समेत फैलिएको थियो । केही दिनअघि कम्पनीका उच्च व्यवस्थापनका अधिकारीसँग सात दिने स्पष्टीकरणसमेत सोधिएको थियो । यी कारणहरुले गर्दा पनि लगानीकर्ताकाे  मनाेबल घटेकाे हुन सक्ने  विश्लेषकहरुकाे तर्क छ ।

सिप्रदी र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता

काठमाडौं । टाटा मोटर्सका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित विशेष समारोहमा दुवै कम्पनीका प्रतिनिधिबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार अब टाटा गाडीका ग्राहकहरूले सवारी दुर्घटनाको अवस्थामा बीमा दावी प्रक्रिया सहज र छिटो रूपमा गर्न सक्नेछन् । यसले ग्राहकलाई नगद भुक्तानीको झन्झटबाट मुक्त गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसअघि पनि सिप्रदीले शिखर, सगरमाथा लुम्बिनी (सलिको), एनएलजी, नेको, सानिमा तथा ओरियन्टल इन्स्योरेन्स कम्पनीहरूसँग यस्तै प्रकारका नगदरहित बीमा दावी सम्झौता गरिसकेको छ । कम्पनीका अनुसार, हालसम्म ३ हजारभन्दा बढी ग्राहकले यस सेवामार्फत छिटो र सहज दावी सुविधा प्राप्त गरिसकेका छन् । आगामी दिनमा थप ग्राहकलाई यस्तो सेवा विस्तार गर्ने योजना सिप्रदीले बनाएको छ । यस सहकार्यबाट ग्राहकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान हुने विश्वास दुवै कम्पनीले व्यक्त गरेका छन् ।