शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहेका छन् । प्रा.डा. अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत रहेका छन्  । विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन २०८२ बमोजिम गठन गरिएको हो । बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै छ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ । विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको जनाएको छ ।  यसैबीच, बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्‍याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ ।    

सरकारी अस्पतालको अतिक्रमित जग्गा फिर्ता ल्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको स्वामित्वमा रहेका अतिक्रमित जग्गा फिर्ता ल्याउन सूचना जारी गरेको छ । देशभर रहेका सरकारी अस्पतालको जग्गा अतिक्रमण गरी अनधिकृत संरचना निर्माण गरेको जानकारी आएकाले तत्काल हटाउन निर्देशन दिएको छ । मन्त्रालयले देशभरका संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई अतिक्रमणको विवरण संकलन गरी अतिक्रमण जग्गा फिर्ता ल्याउन निर्देशन दिएको हो । बुधबार मन्त्रालयको आन्तरिक प्रशासन शाखाबाट जारी पत्र अनुसार अस्पतालको नाममा रहेका जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तत्काल आवश्यक काम अघि बढाउन भनिएको छ । मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल लगायत देशभरका २४ वटा संस्थालाई परिपत्र गरेको छ ।   ति स्वास्थ्य संस्थालाई मन्त्रालयले अस्पतालको स्वामित्वमा रहेको जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार भए/नभएको यकिन गर्न तथा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भएको भए त्यसको विस्तृत विवरण तयार गर्न भनेको छ ।     

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरिने भएको छ ।   बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा परिवर्तन गर्ने तयारी गरेको छ । नेपाल सरकार (कार्यविभाजन) नियमावली-२०८३ स्वीकृत गरेसँगै मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय हुनेछ । त्यसो त नियमावली स्वीकृत हुँदा संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटेर १८ मा सिमित भएको छ ।