१२७ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार समान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.७७ अंकले बढेर २७३१ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १२७ कम्पनीको सेयर मूल्य बढ्दा १२० कम्पनीको सेयर मूल्य घटेको छ । २२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३३८ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । युनियनको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै एपीआई पावर कम्पनीको ११ करोड, रिलाइन्स स्पिीनिङको ८ करोड ६३ लाख, एसवाई प्यानलको ८ करोड ५६ लाख र नेसनल हाइड्रोपावरको ८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज युनियन हाइड्रोपावरको सेयर मूल्य १४.७९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।  शुक्रबारको कारोबारमा १३ उपसमूहको सूचक मध्ये ७ वटाको सूचकमा हरियाली छाएको छ । बैकिङ ०.१३ प्रतिशत, फाइनान्स ०.३७ प्रतिशत, होटल तथा टुरिजम ०.२८ प्रतिशत, हाइड्रोपावर ०.०६ प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.६४ प्रतिशत, अन्य ०.१९ प्रतिशत र ट्रेडिङ ०.३३ प्रतिशले बढेका छन् ।   

सानिमा बैंकद्वारा गोरखा अस्पताललाई ५ पिडियाट्रिक बेड सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोरखास्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पिडियाट्रिक (बाल उपचार) बेड सहयोग गरेको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी, सहज तथा गुणस्तरीय बनाउने उद्देश्यले बेड उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले आवश्यक मापदण्डअनुसारका आधुनिक पिडियाट्रिक बेड उपलब्ध गराएको छ । उक्त बेड अस्पतालको बाल वार्डमा प्रयोग गरिनेछ भने त्यसको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अस्पतालकै रहने जनाइएको छ । अस्पताल पक्षले सानिमा बैंकको सहयोगले विशेष गरी विपन्न वर्गका बालबालिकाको उपचार सेवा थप सहज हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा दुवै पक्षले स्वास्थ्य क्षेत्रसहित सामाजिक सेवामा आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । सानिमा बैंकले आफूलाई वित्तीय कारोबारमा मात्र सीमित नराखी समाजको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ । 

महँगी बढ्यो, बीमाका कर्मचारीको सुविधा घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्ममा निर्जीवन बीमा कम्पनीहरूले कर्मचारीहरूको तलबभत्तामा ३ अर्ब ७९ करोड २५ लाख ६५ हजार रुपैयाँ खर्च गरेका छन् । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा सो रकम खर्च गरेका हुन् । चालु आवको चैतसम्ममा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम अघिल्लो आवको तुलनामा १५.११ प्रतिशतले घटेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले कर्मचारीको तलबभत्तामा ४ अर्ब ४६ करोड ७८ लाख ८५ हजार रुपैयाँ खर्च गरेका थिए । पछिल्लो समय महँगी बढ्दै गएपनि निर्जीवन बीमा कम्पनीका कर्मचारीको तलबभत्ता भने घटेको तथ्यांकले देखाउँछ । यद्यपि कतिपय कम्पनीले कर्मचारी कटौती गर्दा तलबसुविधा घटेको हुनसक्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू बताउँछन् । चैतसम्ममा सबैभन्दा धेरै कर्मचारीको तलबभत्तामा खर्च गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले तेस्रो त्रैमाससम्ममा ४२ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको यही अवधिमा कम्पनीले कर्मचारीको तलबभत्तामा ३९ करोड १८ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ८.५५ प्रतिशतले बढेको छ । दोस्रो धेरै कर्मचारीको तलबभत्तामा खर्च गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले तेस्रो त्रैमासम्ममा कर्मचारीको तलबभत्तामा ४१ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले सो शीर्षकमा ४२ करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च २.०२ प्रतिशतले घटेको देखिन्छ । तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले कर्मचारीको तलबभत्तामा ३९ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ । कर्मचारीको सो शीर्षकमा गरेको खर्च अघिल्लो आवको यही अवधिको तुलनामा १ प्रतिशतले घटेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो । त्यसैगरी, हिमालयन एभरेष्टले ३५ करोड २५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३२ करोड ७८ लाख रुपैयाँँ, आइजिआई प्रुडेन्सियलले ३० करोड ३७ लाख रुपैयाँ, युनाइडेट अजोड इन्स्योरेन्सले ३० करोड १४ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेका छन् । अघिल्लो आवको तुलनामा हिमालयन एभरेष्टको १४.३८ प्रतिशत, नेको इन्स्योरेन्सको ८.१५ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सले ७.५३ प्रतिशतले कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ भने आईजिआई प्रुडेन्सियलको ७.४२ प्रतिशतले घटेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले २६ करोड ३९ लाख रुपैयाँ, सानिमा जिआईसीले २२ करोड ७५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २१ करोड ९१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १७ करोड ६० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १४ करोड ७७ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले १६ करोड ७४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ६ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको यही अवधिमा उक्त शीर्षकमा एनएलजी इन्स्योरेन्सले २२ करोड २६ लाख रुपैयाँ, सानिमा जिआईसीले २६ करोड १३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १९ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १६ करोड ३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १७ करोड ३९ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ९ करोड ६३ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४ करोड ९९ लाख रुपैयाँ खर्च गरेका थिए ।