बजेटपछि सुजुकी ई–भिटारा सस्तो : सबै भेरिएन्टमा १ लाख घट्यो, ४८.९९ लाखबाट सुरु

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजारलाई लक्षित गर्दै सीजी मोटोकर्पले सुजुकीको ई–भिटाराको मूल्य घटाएको छ । सरकारको नयाँ बजेटमार्फत भन्सार र कर संरचनामा गरिएको संशोधनपछि कम्पनीले गाडीको मूल्यमा प्रत्यक्ष कटौती गरेको जनाएको छ । अब सुजुकी ई–भिटाराका सबै भेरिएन्टमा १ लाख रुपैयाँसम्म मूल्य घटाइएको छ । यसअघि ४९ लाख ९९ हजार रुपैयाँ पर्ने ई–भिटारा डेल्टा भेरिएन्ट अब ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी, ई–भिटारा जेटाको मूल्य ५२ लाख ९९ हजार, अल्फाको ५८ लाख ९९ हजार र अल्फा डीटीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीका अनुसार यी मूल्यहरू परिचयात्मक (इंट्रोडक्टरी) हुन् भने सम्बन्धित भेरिएन्टहरूको एमआरपी भने अझै उच्च रहेको छ । सीजी मोटोकर्पले ई–भिटारालाई गत चैतमा पोखरामा सम्पन्न नाडा अटो शोमार्फत औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको थियो । सार्वजनिक भएसँगै चार फरक भेरिएन्टमा गाडी बिक्री वितरण हुँदै आएको छ । प्राविधिक पक्षमा, ई–भिटारा दुई ब्याट्री विकल्प - ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ । यीबाट क्रमशः १०६ किलोवाट र १२८ किलोवाटसम्म पावर उत्पादन हुने कम्पनीले जनाएको छ । शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिका कारण यो आफ्नो सेग्मेन्टमै प्रतिस्पर्धी ईभीका रूपमा उभिएको दाबी गरिएको छ । कम्पनीले सुरुवाती १०० ग्राहकलाई यही घटाइएको मूल्यमा गाडी उपलब्ध गराउने जनाएको छ । सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीका अनुसार सरकारको नीतिगत सहजीकरणलाई उपभोक्तासम्म प्रत्यक्ष पुर्‍याउने उद्देश्यले मूल्य समायोजन गरिएको हो । हाल कम्पनीले देशभर २५ वटा बिक्री केन्द्र र ४० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, दक्ष ईभी प्राविधिकसहितको सञ्जालका कारण सेवा विस्तारमा आफू अग्रस्थानमा रहेको कम्पनीको दाबी छ ।

‘आईसीएआर भी२३’ मा अफर : सीमित स्टकका लागि पुरानै मूल्य ५०.९९ लाख कायम

काठमाडौं । नेपालका लागि आईसीएआर ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘आईसीएआर भी२३’ मा सीमित स्टक अफर घोषणा गरेको छ । कम्पनीले ग्राहकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै उक्त इलेक्ट्रिक एसयूभीलाई पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । हालै सार्वजनिक भएको राष्ट्रिय बजेटपछि कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण ‘आईसीएआर भी२३’ को आधिकारिक मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । तर, ग्राहकप्रतिको कृतज्ञता स्वरूप कम्पनीले सीमित संख्यामा उपलब्ध स्टकका लागि पुरानै मूल्यमै बिक्री गर्ने निर्णय गरेको हो । यस अफरमार्फत ग्राहकहरूले करिब ३ लाख रुपैयाँसम्म प्रत्यक्ष बचत गर्न सक्नेछन् । कम्पनीका अनुसार स्टक सकिएपछि नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित मूल्यअनुसार हुनेछन् । ‘आईसीएआर भी२३’ नेपालमा लाइफस्टाइल इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा लोकप्रिय बन्दै गएको छ । रेट्रो–प्रेरित डिजाइन, अत्याधुनिक प्रविधि, ५९.९३ केडब्लूएच ब्याट्री क्षमता, ४०१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र २१० मिमी ग्राउण्ड क्लियरेन्सजस्ता विशेषताले यसलाई विशेष बनाएको कम्पनीको दाबी छ । कम्पनीले इच्छुक ग्राहकहरूलाई देशभर रहेका नजिकका शोरुम वा आधिकारिक डिलरमार्फत यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ। उक्त अफर सीमित स्टकमा मात्र लागू हुने भएकाले स्टक समाप्त भएसँगै स्वतः समाप्त हुनेछ ।  

आफ्नै रोजाइमा काम गर्ने सन्देशसहित इनड्राइभको नयाँ अभियान सार्वजनिक

काठमाडौं । राइड–हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता र स्वतन्त्र निर्णयको अधिकारप्रतिको प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर) नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ । चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर तयार गरिएको उक्त अभियानले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकहरूको वास्तविक जीवन, चुनौती र अवसरलाई उजागर गर्ने कम्पनीको विश्वास छ । जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने क्याम्पेनमार्फत चालकहरूले कहिले काम गर्ने, कुन यात्रा स्वीकार गर्ने र आफ्नो समय तथा आम्दानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूसँग रहेको निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरिनेछ । इनड्राइभले नेपालमा सेवा सुरु गरेदेखि यात्रु र चालकबीच एपमार्फत प्रत्यक्ष रूपमा भाडादर तय गर्न सकिने ‘पियर–टु–पियर’ मोडेललाई प्रवर्द्धन गर्दै आएको छ । कम्पनीका अनुसार यस प्रणालीले चालकहरूलाई यात्राको छनोट, कार्य समय निर्धारण तथा आम्दानी व्यवस्थापनमा थप नियन्त्रण र स्वायत्तता प्रदान गरेको छ । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईका अनुसार कम्पनीले पछिल्ला पाँच वर्षमा चालकहरूले विश्वास गर्न सक्ने पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा जोड दिएको छ । उनले चालकहरूको आवश्यकता अनुसार लचिलो र सन्तुलित कार्य वातावरण निर्माणमा निरन्तर प्रयास भइरहेको बताइन् । कम्पनीका अनुसार ‘आफ्नै रोजाइमा, छैन प्रेसर’ भन्ने सन्देशले डिजिटल यातायात तथा गिग–अर्थतन्त्रमा कार्यरत श्रमिकहरूको कार्य अवस्था र आय सुरक्षाबारे भइरहेको समकालीन बहसलाई समेत प्रतिबिम्बित गर्छ । पछिल्ला वर्षहरूमा राइड–हेलिङ सेवा हजारौं नेपालीका लागि आयआर्जनको महत्वपूर्ण माध्यम बन्दै गएको छ । इनड्राइभले नेपाललाई दक्षिण एशियाली सञ्चालनका लागि रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा लिँदै आएको जनाएको छ । कम्पनीले स्थानीय आवश्यकता अनुसार सेवामा सुधार गर्दै दिगो विकास, आर्थिक सशक्तीकरण र समुदायसँग सहकार्यलाई प्राथमिकतामा राखेको बताएको छ । यसै अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ क्याम्पेन सुरु गर्ने घोषणा पनि गरेको छ । यसअन्तर्गत विदेशबाट फर्किएर नेपालमै प्लेटफर्म–आधारित अवसरमार्फत जीविकोपार्जन गरिरहेका चालकहरूको प्रेरणादायी कथा सार्वजनिक गरिनेछ । कम्पनीका अनुसार उक्त अभियान श्रम आप्रवासन, आर्थिक पुनर्स्थापना र स्वदेशमै रोजगारीका सम्भावनाबारे भइरहेको राष्ट्रिय संवादसँग जोडिएको पहलसमेत हो ।