नेपाल बैंकको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ १ गतेको निर्णयअनुसार पौडेल अध्यक्षमा नियुक्त भएका हुन् । मंगलबार उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी सञ्चालक माया आचार्यले दिएको राजीनामा स्वीकृत भएपछि उक्त पद रिक्त बनेको थियो । त्यसपछि पौडेलको नियुक्ति गरिएको बैंकले जनाएको छ ।  यसअघि अध्यक्ष रहेका प्रा. डा. डिल्लीराज शर्माले गत वैशाख २४ गते राजीनामा दिएका थिए । जेठ १ गतेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो ।

मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धरद्वारा पदभार ग्रहण

काठमाडौं । मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियुक्त भएका मानन्धरले जेठ १ गतेदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अनुभवी मानन्धरले विभिन्न वाणिज्य बैंकमा उच्च कार्यकारी भूमिकामा रही काम गरिसकेका छन् । पछिल्लो समय उनी डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । बैंकले मानन्धरको नेतृत्वमा संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ । नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल तथा सरोकारवालाको विश्वासलाई थप सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको जनाएको छ ।  

केयुको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् ।        प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा  दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन थिए । आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।