मौलिक उत्पादनलाई विश्व बजारमा पु‍र्याउन उन्नति र मेरियट बिजनेस काउन्सिलबीच  साझेदारी

काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित हस्तकला (ह्याण्डीक्राफ्ट) लाई अन्तर्राष्ट्रिय आतिथ्य (हस्पिटालिटी) बजारसँग जोड्ने उद्देश्यका साथ उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको एक विशेष पहल हो, जसले नेपाली परम्परागत सीप र हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने कार्य गर्दै आएको छ । राजधानीमा आयोजित एक विशेष समारोहका बीच चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका तर्फबाट किरण एन्डीकोटले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो हस्ताक्षर समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटलगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो । यस सहकार्यको मुख्य उद्देश्य नेपाली हस्तकला, महिला उद्यमी तथा समुदायमा आधारित उत्पादक समूहहरूले उत्पादन गरेका स्थानीय सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु हो ।  सम्झौताअनुसार मेरियट र यससँग आबद्ध होटलहरूमा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शन तथा प्रयोग गर्ने सम्भावनाहरूको खोजी गरिनेछ । यस पहलले नेपाली मौलिक हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित गर्न मद्दत गर्नुका साथै स्थानीय समुदायका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । सहकार्य अन्तर्गत उन्नतिले आफ्नो प्रिमियम ब्राण्ड ‘सिया’मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास तथा छनोट गर्नेछ । यसका साथै योग्य हस्तकला निर्माता र महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको पहिचान तथा परिचालन गर्ने, उत्पादनको गुणस्तर र मौलिकता सुनिश्चित गर्ने, ब्राण्डिङ गर्ने, प्रवद्र्धनका लागि स्टोरीटेलिङ (कथा प्रस्तुतीकरण) गर्ने तथा यसबाट परेको सकारात्मक प्रभावको मूल्याङ्कन गर्ने कार्य पनि उन्नतिले नै गर्नेछ । अर्कोतर्फ मेरियटले आफ्ना होटलहरूलाई आवश्यक पर्ने उत्पादनसम्बन्धी मार्गदर्शन प्रदान गर्नेछ ।  छनोट गरिएका नेपाली उत्पादनहरूलाई आफ्ना होटलहरूमा प्रदर्शन तथा प्रवद्र्धन गर्ने सम्भावनाको खोजी गर्नुका साथै होटल सञ्चालकहरूसँग ती सामग्रीहरूलाई होटल सञ्चालन सामग्री तथा उपकरणमा समावेश गर्ने विषयमा छलफल र सहजीकरण गर्ने भूमिका मेरियटले खेल्नेछ । हस्ताक्षर समारोहमा बोल्दै चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालसँग समृद्ध हस्तकला र उद्यमशीलताको परम्परा रहेको उल्लेख गर्दै त्यसले विश्वस्तरमा अझ बढी पहिचान पाउनुपर्नेमा जोड दिए । यो साझेदारीले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै समावेशी आर्थिक वृद्धिलाई टेवा पु‍र्याउने लक्ष्य राखेको छ । स्थानीय स्तरमा उत्पादित वस्तुहरूलाई विश्वव्यापी उपभोक्तासम्म पुग्ने अवसर सिर्जना गरेर यस पहलले नेपालको हस्तकला क्षेत्रलाई थप सुदृढ बनाउनुका साथै देशभर दिगो उद्यम विकासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ । दुवै संस्थाले सामाजिक उत्तरदायित्वयुक्त व्यावसायिक अभ्यासलाई प्रवर्द्धन गर्ने, स्थानीय उत्पादकहरूलाई सशक्त बनाउने तथा नवप्रवर्तनशील साझेदारीमार्फत नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता समेत पुनः व्यक्त गरेका छन् ।

हिमालबाट कमायो सरकारले १.२६ अर्ब, सगरमाथाबाट मात्रै १ अर्ब ८ करोड रूपैयाँ

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष १ हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ । यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसीयाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्याण्डका ३२, फ्रान्सका २७ जना रहेका छन् । पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि १ हजार १९५ आरोहीले अनुमति लिएकामा सगरमाथा आरोहण अनुमति लिने ४९५ रहेको जानकारी दिए । सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका ३९० पुरुष र १०५ महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा ‘गाइड’ गरी करिब १ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उनले बताए ।  यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसीयाका १८, अष्ट्रेलीयाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् । यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड ताेडेका हुन् । यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छिन् । उनले पनि आफ्नै रेकर्ड तोडेकी हुन् ।  सरकारले सगरमाथा आरोहण अनुमतिबाट १ अर्ब ८ करोड १० लाख ७२५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस्तै, लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९० रुपैयाँ, मकालु पहिलोबाट ३ करोड १७ लाख ८५ हजार ८०० रुपैयाँ, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २०० रुपैयाँ, कञ्चनजङ्गाबाट १ करोड ६५ लाख ४० हजार ५०० रुपैयाँ, अन्नपूर्ण पहिलोबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

बेगनास तालमा डुङ्गा दौड प्रतियोगिता हुने, २२ टोली सहभागी हुने

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-३१ स्थित बेगनास तालमा जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ । बेगनास ताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनास ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साथै तालको महत्वबारे उजागर गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवराज बास्तोलाले बताए । बास्तोलाका अनुसार पुरुष तर्फको दौड बेगनास ताल तथा डुङ्गा घाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब २ किलोमिटर दूरीमा हुनेछ । महिलातर्फको प्रतिस्पर्धा बेगनास ताल डुङ्गाघाटदेखि पिप्लेटुँडासम्म १ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ । यसले खेल पर्यटनमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने विश्वास आयोजकको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टोलीले १५ हजार रुपैयाँ, द्वितीय हुनेले १० हजार रुपैयाँ, तृतीय हुनेले ५ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ३ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक रविराज कँडेलले जानकारी दिए । प्रतियोगितामा महिला र पुरुषतर्फ गरी २२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रत्येक टोलीमा तीन जना डुङ्गा चालक रहनेछन् ।