रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

काठमाडौं । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो । भैरहवा-लुम्बिनी करिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माणसमेत जारी छ । लुम्बिनी आउने पर्यटकका साथै काठमाडौं, पोखरा, चितवन र बर्दिया जाने पर्यटक पनि भैरहवा हुँदै आवतजावत गर्दा जिल्लामा बसोबास गर्ने क्रम बढेको व्यवसायी बताउँछन् । सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रुपन्देहीमा पाँचतारे होटलको सङ्ख्या उल्लेख्य रहेको बताए । उनले जिल्लामा सञ्चालनमा रहेका ठूला होटलसँगै थप नयाँ परियोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।  हाल जिल्लामा हायात प्यालेस, टाइगर प्यालेस बाइ सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज सञ्चालनमा छन् । भैरहवा-लुम्बिनी सडक खण्डमा नयाँ पाँचतारे होटल निर्माण भइरहेको छ भने भैरहवाको बुद्धचोकमा अर्को पाँचतारे होटल अन्तिम चरणमा पुगेको बताइएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष राजेश महोत्राले भारतीय पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको बताए । उनले सीमावर्ती भारतबाट आउने पर्यटकको सङ्ख्या उच्च रहेकाले रुपन्देहीलाई विश्राम तथा गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी किशोर जोशीले जिल्लामा पर्यटकको बसाइ अवधि बढाउन थप आकर्षक गतिविधि, सांस्कृतिक कार्यक्रम र पर्यटन प्याकेज आवश्यक रहेको बताए । उनका अनुसार लुम्बिनी भ्रमणपछि धेरै पर्यटक सोही दिन फर्किने भएकाले बसाइ लम्ब्याउन सकिए आर्थिक गतिविधि अझै बढ्नेछ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनका  पूर्वअध्यक्ष अनिल ज्ञवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रुपन्देहीमा प्रवेश गर्न थालेपछि जिल्लाको पर्यटन छवि थप बलियो बनेको बताए । उनले हायात, मेरियट, होलिडे इन र क्राउन प्लाजाजस्ता अन्तर्राष्ट्रिय ब्रान्डको चासोले लगानीकर्तामा उत्साह थपिएको उल्लेख गरे । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी बढेको छ । भैरहवा र बुटवल क्षेत्रमा तारेहोटल, रिसोर्ट तथा क्यासिनोसमेत सञ्चालनमा आएसँगै रुपन्देही प्रदेशकै प्रमुख पर्यटन तथा आतिथ्य केन्द्रका रूपमा उदाउँदै गएको सरोकारवालाको भनाइ छ ।

५ महिनामा १ लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

काठमाडौं ।  अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ । आज (मंगलबार) आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएका विभागले जानकारी दिएको हो ।  प्रणालीमा ९४ वटा होटेल मात्र आबद्ध भएका पनि जानकारी दिइयो । यसैगरी प्रणालीमार्फत करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ ।  उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटेल र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकमा लागू भएको छ ।  विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण, मुलुक पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । सबै होटेल सङ्घ र एसोसिएसनसँग नजोडिएका कारण प्रणालीमा आबद्ध हुने होटलको सङ्ख्या कम भएको, प्रणालीसम्बन्धी सचेतनाको कमी र साना होटल प्रणालीमा आबद्ध हुन नसकेका विषयमा पनि गम्भीर छलफल भएको उनले बताए ।  आजको छलफलमा होटेलको अनुगमन गर्ने पर्यटन विभाग र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सेवाप्रदायकका अनुगमनकारी निकायले अनुगमनमा तीव्रता दिने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिए ।  ‘होटेललगायत अन्य प्रकृतिका सेवा प्रदायकहरुलाई प्रणालीमा आबद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ’, उनले भने,‘यो प्रणाली राष्ट्रिय सुरक्षाको विषय पनि भएकाले यस प्रणालीमा सबैलाई आबद्ध हुन विभागले अन्य उपायको खोजी गरिरहेको छ ।’ छलफलमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासङ्घ, पर्यटक प्रहरीलगायत निकायको सहभागिता रहेको थियो ।  त्यस क्रममा आन्तरिक राजस्व विभाग, पर्यटन विभागबाट होटेललाई प्रवाह हुने सेवासँग प्रणालीलाई आबद्ध गर्ने र प्रणालीमा आबद्ध भएका होटेलको सूची अध्यागमनको नेपाली पोर्टमा राखी भिसा आवेदन गर्दाकै बखत होटल छनोट गर्ने व्यवस्था लागू गर्नेलगायत विकल्पमा समेत छलफल भइरहेको जानकारी दिइएको थियो। 

पर्यटनमा पीपीपी मोडल, पर्यटकको खर्च बढाउने

काठमाडौं । सरकारले पर्यटक आगमनलाई सहज बनाउन पर्यटक भिसा सेवासहित विभिन्न सेवा अनलाइनमार्फत उपलब्ध गराइने योजना अघि सारेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन भिसा सेवा अनलाइन बनाउनेदेखि यस क्षेत्रका विभिन्न विषयहरूलाई अगाडि सारिएको हो । नीति तथा कार्यक्रममार्फत सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने उल्लेख गरेको छ । त्यस्तै, धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने उल्लेख छ । आध्यात्मिक तीर्थ कुटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रममा सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न विशेष पहल गर्ने जनाएको छ । यात्रुहरूको प्रतीक्षा समय घटाउने तथा विमानस्थल सेवामा सुधार गर्ने नीति पनि कार्यक्रममा समेटिएको छ । ‘हवाई पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विकास गरिनेछ, नीति तथा कार्यक्रममा उल्लेख छ ।  नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिने भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गरी यात्रुको प्रतीक्षा समय घटाइने सरकारले लक्ष्य रहेको छ । गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिने नीति तथा कार्यक्रममा भनिएको छ । एकद्वार डिजिटल पर्यटन प्रणाली लागु गरिने त्यसैगरी, सरकारले अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने एक द्वार डिजिटल पर्यटन प्रणाली लागु गरिने भनिएको छ । पर्वतीय पर्यटनको सुरक्षा, खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिने भएको छ ।  ‘भिजिट नेपाल २०८५ को पूर्व तयारीका लागि पर्यटक आगमन, प्रति पर्यटक खर्चवृद्धि र बसाई अवधि बढाउने गरी अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रवर्द्धन गरिने भएको छ । त्यस्तै, जीवित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने भएको छ । नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्न पर्वतारोहण, ट्रेकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, बञ्जी जम्प, स्काइडाइभिङ लगायत साहसिक पर्यटन पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई सुदृढ गर्दै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । त्यसैगरी, कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई थप प्राथमिकतामा राखी नयाँ गन्तव्यहरूको प्रवर्द्धन गरिने भएको छ ।  हिमाली, मध्यपहाडी गन्तव्यहरूको प्रवर्द्धन गरिने, हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा दश नयाँ पदमार्ग पहिचान र प्रवर्द्धन गरिने योजना सरकारले अघि सारको छ । नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सार्वजनिक-निजी साझेदारीलाई प्राथमिकता दिइने भएको छ । सरकारले पर्यटन बोर्डको संरचना तथा सञ्चालनमा निजी क्षेत्रलाई थप सहभागी गराएर पर्यटन प्रवर्द्धन​​​​​, अन्तर्राष्ट्रिय बजार विस्तार तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलमा पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने सरकारको योजना रहेको छ ।