विजय लघुवित्तका सीईओ लम्सालको राजीनामा, घिमिरेलाई जिम्मेवारी
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालले पदबाट राजीनामा दिएका छन् । लम्सालले गत वैशाख २८ गते दिएको राजीनामालाई संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको हो । संस्थाको वैशाख ३१ गते बसेको ४३औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा आगामी जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हाे । सीईओ लम्सालको बहिर्गमनसँगै संस्थाको दैनिक कार्य सञ्चालनलाई निरन्तरता दिन सञ्चालक समितिले नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ । घिमिरेले अब संस्थाको प्रमुख कार्यकारी अधिकृतको सम्पूर्ण अधिकार र जिम्मेवारी सम्हाल्नेछन् । काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।
प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन
काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रविन्द्र ढकाल चयन भएका छन् । कम्पनीको संचालक समितिको वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । नवनियुक्त अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफूलाई प्रतिस्पर्धी तथा प्रभावशाली स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ । ढकाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएसँगै कम्पनीको रणनीतिक विकास, सेवा विस्तार तथा पूँजी बजारमा प्रभावकारी उपस्थिति मजबुत बनाउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो । अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको योग्यता हुनुपर्ने भनिएको छ । त्यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष कार्य गरेको अनुभव माग गरिएको छ । उल्लेखित योग्यता पुगेका र ६० वर्ष उमेर पुरा नभएकाहरुले उक्त पदका लागि दरखास्त दिन सक्नेछन् । उनीहरुले दरखास्त बुझाउँदा वित्तिय सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या, चुनौति र अवसर सहितको कार्ययोजना समेत पेश गर्नुपर्नेछ । सूचना जारी भएको १५ दिनभित्र ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।