काठमाडौं, ६ साउन । लगानीकर्ताको गोपनियता भंग गरेको र गैर कानूनी रुपमा सेयर लगानीकर्ताको सूचना बिक्री गरेको आरोपमा तीन दर्जन धितोपत्र व्यवसायीलाई नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ । केही कम्पनीहरुले सम्वन्धित सरकारी निकायबाट अनुमति नलिई सफ्टवेयर प्रयोग गरेको र त्यसबाट लगानीकर्ताको संवेदनशिल सूचना चुहाएकोले उनीहरुलाई आईन्दा यस्तो नगर्न सचेत गराएको छ ।
‘धितोपत्र सम्बन्धी विवरण सम्बन्धित निक्षेप सदस्यले सुरक्षित राख्नु पर्ने तथा सम्बन्धित लगानीकर्ताको मात्र पहुँच हुनुपर्ने भन्दै सो सम्बन्धमा गोप्यता कायम राख्नुपर्ने’ भन्दै बोर्डले उनीहरुलाई सचेत गराएको छ ।
बोर्डले सिभिल क्यापिटल मार्केट लि., ग्रोमोर मर्चेन्ट बैंकर लि, एन.सि.एममर्चेन्ट बैकिङ लि., भिबोर क्यापिटल लि., मार्केट सेक्युरिटिज एण्ड एक्सचेञ्ज प्रा. लि., अग्रवाल सेक्युरिटिज प्रा. लि, प्राइमो सेक्युरिटिज प्रा.लि, एबिसि सेक्युरिटिज प्रा.लि., सिप्ला सेक्युरिटिज प्रा.लि, एसियन सेक्युरिटिज प्रा. लि., श्री कृष्ण सेक्युरिटिज लि., प्रिमियर सेक्युरिटिज कं. लि., कोहिनुर ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि, सेक्युर्ड सेक्युरिटिज लि., सनि सेक्युरिटिज कं. लि., डाईनामिकमनि मेनेजर्स प्रा.लि, क्रिष्टल कंचनजंघा सेक्युरिटिज प्रा.लि, सेवा सेक्युरिटिज प्रा.लि., भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि., श्रीहरि सेक्युरिटिज प्रा.लि., दिब्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि र अनलाइन सेक्युरिटिज प्रा.लिलाई सेचत गराएको हो ।
उनीहरुले सेयरबजार सम्बन्धि सूचनाहरु प्रवाह गर्दै आएको एक न्यूजपोर्टलाई अस्वभाविक साँठगाँठ गरेर लगानीकर्ताको प्रवाह गर्दै आएको पाइएको स्रोतले बतायो । ‘सबैको मिलोमत्तोमा क्रिमिनल एक्टिभिटज (अपराधिक कृयाकलाप) भईराखेको रहेछ’ धितोपत्र बोर्डका उच्च अधिकारीले भने–जानिजानि वा नजानेर नेपाल स्टक एक्स्चेञ्ज, सिडिएस एण्ड क्लियरिङले समेत उनीहरुलाई पहुँच दिएर सहयोग गरेको पाईयो ।’ बैंकले निक्षेपकर्ताको तथा ऋणीको सूचना जसरी गोप्य राख्नुपर्ने हो त्यसरी नै धितोपत्र व्यवसायीहरुले लगानीकर्ताको सूचना गोप्य राख्नु पर्नेमा धितोपत्र बोर्डले जोड दिएको छ ।
धितोपत्र बोर्डले नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत सचेत बनाएको छ । यसैगरी, बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङलाई धितोपत्र कारोवार व्यवस्थित तथा नियमित बनाउन निर्देशन दिएको छ । साथै सम्पूर्ण लगानीकर्ताको डाटा केन्द्रिय निक्षेप प्रणालीमा रहने गरी वेभसाइट मार्फत सम्बन्धित हितग्राहीलाई मात्र त्यस्तो खाता हेर्न दिन सिडिएसलाई निर्देशन दिएको हो ।
यसैगरी, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा. लि., अग्रवाल सेक्युरिटिज प्रा.लि., नाशा सेक्युरिटिज लि., डाइनामिक मनिमेनेर्जस प्रा. लि., श्रीहरि सेक्युरिटिज प्रा. लि., प्रिमियर सेक्युरिटिज लि. भृकुटी स्टक ब्रोकिङ्गप्रा.लि. र सेवा सेक्युरिटिज प्रा. लिले ब्रोकर व्याक अफिस प्रणालीको रुपमा मण्डला सिस्टम प्रा. लि. प्रयोग नगरी अन्यव्याक अफिस प्रणाली प्रयोग गरेको भन्दै नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम २८(क) बमोजिम सचेत गराएको छ ।
साथै, हालको ब्रोकर व्याकअफिस प्रणालीलाई सुधार वाविस्थापित गरी नयाँ प्रणाली विकास गर्न आवश्यक देखिएको र धितोपत्र दलाल व्यवसायीको ब्रोकर व्याकअफिस प्रणालीलाई अत्याधुनिक, स्तरीय र सुविधा सम्पन्न बनाई पूँजी बजारको विकास, लगानीकर्ताको हित एवं धितोपत्र दलाल स्वंयको कार्य सहजतकाको लागि सो सम्बन्धी कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएको छ ।