
भिष्मराज ढुंगाना, प्रमुख-विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक
हुण्डी व्यवसाय मुलुकका लागि घातक हो । तर हुण्डीमुक्त मुलुक पनि कुनै छैन । सबैले हुण्डी घटाउने प्रयास गर्ने हो । सबै मुलुकमा सिंगल डिजिटको हुण्डी हुन्छ नै । तर हामी कहाँ ३८ प्रतिशत पैसा हुण्डीबाटै आउँछ । पाकिस्तानमा कुनै समयमा ६० प्रतिशत पैसा हुण्डीबाट आउँथ्यो । उनीहरुले विभिन्न तरिका अपनाएर अहिले त्यो मात्रा घटाएका छन् ।
हामीले पनि हुण्डी निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएका छौं । बैंक तथा वित्तिय संस्थाबाट रेमिट्यान्स ल्याउनेदेखि रेमिटेन्स कम्पनी पनि खोलेका छौं । यति हुँदा पनि केहि मुलुकबाट हुण्डी धेरै भित्रिरहेको छ । दक्षिण कोरिया गएका नेपाली कामदारले ९४ प्रतिशत रकम हुण्डीबाट पठाउँछन् । ६ प्रतिशत पैसा मात्रै फर्मल च्यानलबाट आइरहेको छ । इराजयलबाट पनि हुण्डी नै धेरै आउने गरेको हाम्रो अध्ययनले देखाएको छ । लेबनानबाट पनि हुण्डी धेरै हुने गरेको छ । यी मुलुकमा हुण्डी रोक्ने प्रयास गर्ने हो भने हुण्डीको मात्रा धेरै नै कम हुन्छ ।
हुण्डी घटाउन केन्द्रिय बैंकको मात्रै भूमिका हुन्न । जस्तो कोरियाबाट बर्षेनी ४२ अर्ब रेमिट्यान्स आउनुपर्ने तर २ अर्ब मात्रै आउँछ । कोरिया सरकारले स्विकृत दिएको ठाउँमा नेपाल सरकारले पठाएका मानिस कोरिया जान्छन् । नेपाल र कोरिया सरकारको नियमनमा उनीहरु कोरियामा काम गर्छन् । तर तिनै मानिसले हुण्डीबाट पैसा पठाउँछन् । नेपालीलाई कोरिया पठाउँदा नै रेमिट्यान्सबाट पैसा नपठाए फर्काइदिन्छौं भनेर नेपालमै सम्झौतामा हस्ताक्षर गराउनु पर्छ । हरेक महिना उनीहरुको रिपोर्ट हेर्नु पर्छ । रेमिटेन्सबाट पैसा नपठाए फर्काउने काम गर्नु पर्छ ।
हामीले श्रम मन्त्रालयसँग पनि पटक पटक छलफल गरिसकेका छौं । श्रम मन्त्रालय पनि सकारात्मक देखिएको छ ।
केहि मानिसले रेमिट्यान्सको शुल्क धेरै भयो भनेर हुण्डी बढेको भन्ने गरेका छन् । त्यसमा कुनै सत्यता छैन् । हुण्डी गर्नेले डलर वा अन्य मुद्राको सटही दर नै धेरै दिने गरेकाले हुण्डी प्रोत्साहित भएको हो । रेमिट्यान्स कम्पनीले डलरको भाउ १०६ दिए भने हुण्डी वालाले १०८ रुपैंयाँ दिन्छन् । १०८ मा डलर किनेर नेपाल सामान ल्याउनेहरुलाई ११२ रुपैंयाँमा बेच्छन् । त्यस्तो पैसा नेपालमा १५ प्रतिशत कर छलेर समान भित्र्याउन प्रयोग गर्छन् । हुण्डीलाई निरुत्साहित गर्न कसले कुन मात्राको पैसा कसरी ल्याएका छन र कहाँ खर्च गर्छन भनेर हेर्ने गरेका छौं । त्यो भन्दा ठुलो अध्ययन हालसम्म गरेका छैनौं ।
अहिलेसम्म विदेशबाट समान ल्याउनका लागि मात्रै पैसा लैजान दिने गरेका छौं । विदेशमा उद्योग खोल्न वा लगानी गर्न भने अहिलेसम्म दिने गरेका छौनौं । तर पनि नेपालबाट केहि पैसा हुण्डीका रुपमा जाने गरेको अनुमान छ । त्यस्तो फेला पर्यो भने चाँही हामी कारवाही गर्छाै । त्यस्ता सूचना दिनेलाई २० प्रतिशत पुरस्कार दिने चलन छ । हामीले हुण्डीबाट पैसा पठाउनु अपराध हो भनेर त भनेका छौं तर त्यो पर्याप्त छैन् । बैंकिङ साक्षरताका कार्यक्रममा पनि विद्यार्थीलाई हुण्डीबारे बताउने गरेका छौं । विदेश जाने नेपालीलाई अभिमुखिकरणमा पनि दुई दिनसम्म हुण्डीबारे जानकारी दिने गरेका छौं । हुण्डी रोक्न प्रयासहरु भएका छन तर पर्याप्त देखिएको छैन् ।
हुण्डी गर्दा गर्दै कोहि समातियो भने त्यसलाई विदेशी विनियम अपचलन गरेको केस लाग्छ । त्यसलाई विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार जति रकम हुण्डी गरेको हो त्यसको ३ गुणा जरिवाना र ३ देखि ४ बर्ष जेल सजाय हुन्छ । यस्तो केस राजश्व अनुसन्धान विभागले हेर्छ । उसैले अदालतमा मुद्धा हालेर कारवाही प्रक्रिया अघि बढाउँछ ।(कुराकानीमा आधारित)