काठमाडौं । इरानले अमेरिका र इजरायलले सर्वसाधारण नागरिकलाई निशाना बनाए त्यसको प्रतिक्रिया अझै धेरै खतरनाक हुने चेतावनी दिएको छ । यो जानकारी इरानको सरकारी सञ्चारमाध्यमले दिएको हो ।
खातम अल-अनबिया केन्द्रीय मुख्यालय (ईरानको सबैभन्दा ठूलो सैन्य कमाण्ड एकाइ) का प्रवक्ताले भने, ‘यदि आम नागरिकमाथि आक्रमण दोहोरियो भने हाम्रो अर्को आक्रमण र प्रतिकारात्मक कारबाही पहिलेभन्दा अझ खतरनाक र व्यापक स्तरमा हुनेछ ।’
यो वक्तव्य इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङ (आईआरआईबी) मार्फत सार्वजनिक गरिएको हो ।
इरानले यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि दिएको हो ।
ट्रम्पले भनेका थिए कि यदि इरानले मंगलबारसम्म होर्मुज जलडमरू पुनः नखोलेमा अमेरिकाले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्नेछ ।
ट्रम्पको उक्त धम्कीबारे इरानले अन्तर्राष्ट्रिय समुदाय र सबै देशहरूलाई अपिल गर्दै भनेको छ कि यस्तो भयावह युद्ध अपराधलाई रोक्नु उनीहरूको कानुनी जिम्मेवारी हो ।