काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले सोमबार (आज) सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनासँग भेटघाट गरेको छ ।
महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले मन्त्रीसँग भेटघाट गरेको हो । टोलीले चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट जारी निर्देशनप्रति सञ्चारमन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराएको छ ।
उक्त निर्देशनमा सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
भेटघाटमा सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिका विषयमा छलफल भएको थियो ।
भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय गर्नुपरेको बताए ।
उनले आफू सधैं श्रमजीवी पत्रकारको पक्षमा रहेको र जायज माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैक्रममा महासंघ अध्यक्ष शर्माले सरकारको पछिल्लो विज्ञापन नीतिले समग्र सञ्चार क्षेत्र प्रभावित हुन सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरिन् ।
सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन–प्रसारणमा पारदर्शिता ल्याउन र सरकारी सञ्चार माध्यमको प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ ।