काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा, नुवाकोटमा सबैभन्दा बढी ३४ मिलिमिटर

मङ्गलबार र बुधबार पनि झरी पर्ने विभागको प्रक्षेपण

काठमाडौं  । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको आज साँझको अभिलेख अनुसार पछिल्लो ६ घण्टामै काठमाडौंमा १८.८, ललितपुरमा १५.४ र भक्तपुरमा १६.४ मिलिमिटर वर्षा भएको छ । 

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो ६ घण्टामा आज सबैभन्दा बढी नुवाकोटमा ३४.२ मिलिमिटर वर्षा भएको छ , त्यसपछि सिन्धुपाल्चोकमा २१.८ मिलिमिटर वर्षा भएको छ ।

विभागले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको जनाएको छ । 

यस्तै गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपात भइरहेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार पछिल्लो ३ घण्टामा प्यूठान, सिन्धुपाल्चोक, गुल्मी, गोरखा, लमजुङ, नुवाकोट, काठमाडौं उपत्यका, स्याङ्जालगायतका क्षेत्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

अन्य धेरै मापन केन्द्रहरुमा हल्का वर्षा भएको छ । हिजोदेखि बदली भएको मौसम पूर्व सर्दै आज काठमाडौं आइपुगेको छ ।

मङ्गलबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने तथा देशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । बुधवार भने धेरै स्थानमा वर्षा हुने जनाइएको छ ।

Share News