नेपाली विद्वान कामना काफ्ले अमेरिकामा सम्मानित

काठमाडौं । नेपाली कृषि अनुसन्धानकर्ता र विज्ञान सञ्चारकर्मी कामना काफ्ले, जसलाई धेरैले एग्रीगर्ल भनेर चिनिन्छन्, अमेरिकाको युनिभर्सिटी अफ अर्कान्ससबाट डिस्टिङ्ग्विश्ड डक्ट्रल फेलोशिप पाएकी छन् ।

यो फेलोशिप अमेरिकाको सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक डक्ट्रल फेलोशिपमध्ये एक मानिन्छ । यसले प्रतिवर्ष २२ हजार डलर, चार वर्षसम्म कुल ८८,००० डलर प्रदान गर्ने व्यवस्था छ । फेलोशिपले उत्कृष्ट शैक्षिक प्रदर्शन, नेतृत्व क्षमता र अनुसन्धानको सम्भावना देखाउने विद्वानहरूलाई लक्षित गरेको छ । विश्वविद्यालयले यसलाई स्नातक तहका विद्यार्थीलाई दिन सकिने सर्वोच्च सम्मान मध्येको एक ठहर गरेको छ ।

कामना काफ्लेले आगामी अगस्ट २०२६ बाट एग्रीकल्चरल लिडरशिप एण्ड कम्युनिकेसन मा पीएचडी सुरु गर्ने तयारी गरेकी छिन् ।

अगस्ट २०२४ मा अमेरिका पुगेपछि काफ्लेले आफूलाई उत्कृष्ट विद्यार्थी र कृषि नवप्रवर्तनमा उदाउँदो नेताको रूपमा स्थापित गरेकी छिन् । उनी २०२५ शैक्षिक उत्कृष्टता पुरस्कारकी विजेता, राइसल्याण्ड स्कलर, अर्कान्सस स्टेट युनिभर्सिटी स्वागत दूत र फाइ क्याप्पा फाइ सम्मान समाजकी सदस्य पनि हुन् ।

साथै, उनले डिजिटल कृषि मास्टर्स डिग्री पूरा गरेकी छन् र कृषि विद्यार्थीहरू उत्पादन कृषि तर्फ आकर्षित हुने कारणहरूको अनुसन्धान समेत गरेकी छिन् ।    

Share News