सञ्चारमन्त्री र विश्व बैंकका निर्देशकबीच भेटवार्ता, डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टलाई तीव्रता दिइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिस्लेनबीच बुधबार भेटवार्ता सम्पन्न भएको छ।

आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको डिजिटल रूपान्तरण र आपसी सहयोगका विविध पक्षमा गहन छलफल भएको छ ।

भेटका क्रममा निर्देशक सिस्लेनले मन्त्री डा। तिमिल्सिनालाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्व बैंकको सहयोगमा कार्यान्वयन हुन लागेको ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ मा सरकारको प्राथमिकता र योजनाबारे चासो व्यक्त गरे ।

उनले यो परियोजनाले सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

साथै नेपालको डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिको पहुँच विस्तार, डेटा व्यवस्थापन, मिडिया साक्षरता र शासकीय सुधारका क्षेत्रमा सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको जानकारी समेत उनले गराए ।

सो अवसरमा मन्त्री डा. तिमिल्सिनाले विश्व बैंकले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट को कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकताका साथ तीव्रता दिने बताए । 

नयाँ सरकार गठन भएपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी कामहरू सुरु भइसकेको उल्लेख गर्दै उनले विगतका कमजोरीहरू सुधार्दै योजनामा देखिएका समस्या समाधान गर्न सरकार दृढ रहेको स्पष्ट पारे ।

भेटवार्तामा सूचना प्रविधि महाशाखा प्रमुख आदेश खड्का, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विश्व बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Share News